सिक्किम जाँदैगरेको गाडीमा लुटपाट अनि बम विस्फोटः जोगियो चालक अनि खलासीको ज्यान

कालेबुङ,  26 अगस्त।

अहिले दार्जीलिङ पहाडमा एकपछि अर्को गर्दै बम विस्फोटका घटनाहरू भइरहेको छ। दार्जीलिङ, कालेबुङ, सुखिया पोखरी, टिस्टा अनि त्यसपछि फेरि राष्ट्रिय राजमार्ग-10मा बम विस्फोटको घटना अघि आएको छ। शक्रबार राती राष्ट्रिय राजमार्ग-10 हुँदै सिक्किमतिर गइरहेको डब्ल्यूबी 73सी4865 नम्बर भएको ट्रक(आइसर) गाडी 27 माईलमा आइपुग्दा उपद्रबीहरूले लुटपाट गरेपछि बम पड्काएर गाडी नै ध्वस्त पार्ने प्रयास गरेका छन्। उक्त गाडी सिक्किमको एउटा कम्पनीको फलामको रेलिङ (कऱ्यास् बेरियल) आदि सामानहरू सिलगढीदेखि उत्तर सिक्किम माखातर्फ गइरहेको थियो।

घटना अनुसार शुक्रबार राती 11 बजीतिर उक्त गाडी सिलगढीबाट सिक्किमतिर आइरहेको थियो। जब गाडी 27 माईलमा आइपुग्यो तब लगभग 20-25 जना युवाहरूले अचानक गाडी रोकेर लुटपाट गरेपछि बम विस्फोट गरेर गाडी समेत ध्वस्त पार्ने प्रयास गरेको गाडीका चालक मोहन छेत्रीले बताए।

उनका अनुसार 27 माइलमा सडक धेरै खाल्डा परेको कारण गाडी सुस्त गतीमा थियो। त्यसै समय 20-25 जना उपद्रवीहरू आएर बन्दुक तेस्राउँदै चालकसित भएको 10 हजार रूपियाँ लुटेको चालक मोहन छेत्रीले बताए। यद्यपि चालक अनि खलासीले भागेर ज्यान जोगाउन सफल बने पनि उपद्रवीहरूले बमद्वारा गाडीको अघाडीको भाग नै ध्वस्त बनाइदिएको उनले बताए। उपद्रवीहरूले कालो पट्टी बाँधेर आएका कारण चालकले उनीहरूलाई चिन्हित गर्न नसकेको जनाएका छन्। बमले गाडीको अघाडीको भागालाई निक्कै क्षति पुऱ्याएको छ।

अर्कोतिर गाडीका मालिक रोशन चौधरीले राती नै चालकले फोनमार्फत आफूलाई घटनाबारे जानकारी दिएको बताए। आज बिहान रम्बी पुलिसले घटनास्थलमा पुगेर घटनाको निरिक्षण गरेको छ। घटनास्थलबाट बममा प्रयोग भएका समाग्रीहरू पनि पुलिसले उद्दार गरेको जनाएको छ।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया