29-को वार्तामा गोजमुमोका 5 सदस्य जाने टोलीमा पहाड़, तराई, डुवर्सका प्रतिनिधि

 

मोहन लामा

दार्जीलिङ, 26 अगस्त।

राज्य सरकारले 29 अगस्तको दिन बोलाएको वार्तामा भाग लिन गोर्खा जनमुक्ति मोर्चाको तर्फबाट पार्टीका मुख्य समन्वयक विनय तामाङको नेतृत्वमा 5 सदस्यीय प्रतिनिधि टोली कलकत्ता जाने भएको छ। यस टोलीमा दार्जीलिङ, खरसाङ, कालेबुङ, तराई अनि डुवर्सका प्रतिनिधिहरु सामेल हुनेछन्। जसमा दार्जीलिङबाट विनय तामाङ, खरसाङबाट अनित थापा, कालेबुङबाट आरबी भुजेल, तराईबाट छिरीङ दाहाल र डुवर्सबाट रोहित थापा हुनेछन्। यसबारे विनय तामाङले भने-गत 23 अगस्तको दिननै राज्य सरकारले गोजमुमोलाई 29 अगस्तको वार्ताको लागि पत्र पठाएको थियो र पार्टीले उक्त पत्रलाई स्वीकार गर्दै वार्तामा भाग लिने तय गरेको थियो। यसैअनुरूप आज पार्टीले 5 सदस्यीय टोलीको नाम तय गरेको छ, जसमा दार्जीलिङ पहाड़, तराई अनि डुवर्सका प्रतिनिधिहरुलाई सामेल गरिएको छ। स्मरण गराइन्छ, राज्य सरकारले डाकेको वार्तामा गोजमुमोले भाग लिन्छ वा लिंदैन भन्नेबारे पहाड़मा व्यापक अन्यौलता छाइरहेको थियो, तर गोजमुमोले यस वार्तामा भाग लिने घोषणा गरेपछि जनतामा छाइरहेको अन्यौलता पनि छर्लङ्गै भएको छ। गत केही दिनअघि गोजमुमो साथै पहाड़का अन्य दलहरु सामेल रहेको जीएमसीसी (गोर्खाल्यान्ड मूभमेन्ट को-अर्डिनेशन कमिटी)-ले पहाड़को समस्या समाधान गर्ने माग गर्दै केन्द्रिय गृहमन्त्री राजनाथ सिंहसित भेट गरेको थियो, जसमा केन्द्रिय गृहमन्त्रीले प्रथमतः यी पार्टीहरुका साथै राज्य सरकारलाई पनि द्विपक्षीय वार्ता गर्ने अपील गरेका थिए। तर यस वार्ताको लागि कुनै पनि पक्षबाट पहल गर्ने कार्य भएको थिएन। बन्द लगातार चलिरहेको थियो, समस्या बढ्दै गइरहेको थियो, यसैले आँट गरेर गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले राज्य सरकारलाई वार्ता शुरू गर्ने अपील गर्दै पत्राचार गरेको थियो। जसमाथि तत्काल प्रतिक्रिया व्यक्त गर्दै राज्य सरकारले पनि वार्ताको लागि पहाड़का आन्दोलनरत राजनैतिक पार्टीहरुलाई पत्राचार गरेको थियो। यसपछि राज्य सरकारले बोलाएको वार्तामा गोजमुमोले भाग लिन्छ वा लिंदैन भन्नेबारे अन्यौलता छाइरहेको थियो। तर गोजमुमोले यस वार्तामा भाग लिने निर्णय लिएर जनतामा छाइरहेको अन्यौलता मेटाइदिएको छ। जसमा पार्टीले पहाड़, तराई अनि डुवर्सकै प्रतिनिधिहरुलाई लाने पनि निर्णय लिएको छ। यद्यपि, क्रामाकपाले गोर्खाल्यान्डबाहेक अन्य मुद्दामा वार्ता हुन्छ भने वार्तामा भाग नलिने बताएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया