27 अगस्त तराई-डुवर्सको बोनस बैठक पहाड़को पनि शीघ्र हुनपर्छ

 

दार्जीलिङ, 26 अगस्त।

अनिश्‍चितकालीन पहाड़ बन्दको कारण पहाड़का चियाश्रमिकहरुको दशैं बोनस पनि अनिश्‍चित बनिरहेको छ। तरै पनि गोजमुमोको श्रमिक संगठन दार्जीलिङ तराई डुवर्स प्लान्टेशन लेबर युनियनले पहाड़का चियाश्रमिकहरुलाई 20 प्रतिशतकै बोनस दिनुपर्ने माग गर्दै यसको लागि शीघ्र बैठक बोलाउने माग गरेको छ।

यद्यपि, तराई-डुवर्सका चियाश्रमिकहरुको बोनसबारे भोलि 27 अगस्तको दिन कलकत्तामा बैठक हुने तय भएको छ। जसमा गोजमुमोको श्रमिक संगठनको डुवर्स प्रभारी गोविन्द प्रधान, अध्यक्ष नारायण बीके, सचिव विशाल लामा, राजु लामा अनि तराईबाट युनियनका प्रभारी हरिहर आचार्यले भाग लिने भएको युनियनका महासचिव सुरज सुब्बाले जानकारी गराए। उनले भने-तराई-डुवर्सका चियाश्रमिकहरुको बोनसबारे 27 अगस्तको दिन कलकत्तामा बैठक हुने निश्‍चित भएपछि पहाड़का केही श्रमिक संगठनहरु आत्तिएका छन्।

तराई-डुवर्सका चियाश्रमिकहरुसितै पहाड़का चियाश्रमिकहरुको बोनसबारे पनि छलफल हुनपर्छ भन्ने माग गरिरहेका छन्। तर यी श्रमिक संगठनहरुले पहाड़का चियाश्रमिकहरुको बोनस दार्जीलिङमानै अलगैप्रकारले छलफल हुन्छ भन्ने बुझ्नपर्छ। वर्षेनी पहाड़का चियाश्रमिकहरूको बोनसबारे बैठक दार्जीलिङमानै हुने गर्छ अनि दार्जीलिङमानै उनीहरुको बोनस छलफल हुने गरेको छ। यसैले कलकत्तामा हुने बैठक केवल तराई-डुवर्सका चियाश्रमिकहरुको बोनसबारे मात्रै हो। कलकत्तामा हुने बैठकमा पहाड़का चियाश्रमिकहरुको बोनसबारे कुनै सम्बन्ध छैन। तरै पनि तराई-डुवर्सका चियाश्रमिकहरुको बोनसबारे बैठक हुने भएपछि अब पहाड़का चियाश्रमिकहरुको बोनस विषय लिएर पनि बैठक डाक्नु अनिवार्य बनेको छ। किनभने, दशैं आउन अब केही सप्ताह मात्रै बाँकी छ, यसैले पहाड़का चियाश्रमिकहरूको बोनसबारे पनि शीघ्र छलफल हुनपर्छ।

स्मरण गराइन्छ, दार्जीलिङ पहाड़ बन्द भएको आज 73 दिन पूर्ण भयो, तर पहाड़का चियाबगानहरु बन्द भएको 75 दिन भइसक्यो। जसको फलस्वरूप चियाश्रमिकहरूले यस बन्दावधिभरिनै दैनिक रोजी मात्रै होइन, चियाबगानबाट उपलब्ध हुने बुनियादी सुविधाहरु पनि पाउन सकेका छैनन्। यति मात्रै होइन, चियाबगान मालिकपक्षले पनि यस बन्दको कारण गतिलै घाटा बेहोर्न परेको छ। सेकेन्ड फ्लसको अधिकांश चिया पहाड़ बन्दको कारण नष्ट भएर गयो। यसैबीच, दशैं मुखैमा आइसकेको छ, दशैंअघि चियाश्रमिकहरुलाई वर्षमा एकपल्ट बोनस दिने चलन छ। यसैले यसपाली चियाबगान मालिकवर्ग श्रमिकहरुलाई बोनस दिन हत्तपत्त नमान्ने अनुमान लगाइएको छ, तरै पनि यसपालीको बोनस दर गत वर्षको आमदानीको हिसाबमा निकालिने भएकोले यसपाली 20 प्रतिशतकै दरले बोनस दिनुपर्ने माग पहाड़का श्रमिक संगठनहरुले गरेका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन