जीएमसीसीको बैठक अन्तिम क्षणमा रद्दः रद्द भएको बारे दलहरू नै अनभिज्ञ

कालेबुङः गोर्खाल्याण्ड मुभमेन्ट कोअर्डिनेसन कमिटी(जीएमसीसी)को आजको बैठक अन्तिम क्षणमा आएर रद्द भएको छ। राज्यसित 29 अगस्तको दिन हुने वार्तामा जाने वा नजाने भन्ने निर्णय लिन डाकिएको जीएमसीसीको बैठक निर्णय नै गर्न नसक्ने अवस्थामा पुगेपछि बैठक नै रद्द भएको छ। गोर्खाल्याण्ड आन्दोलनलाई अघि बडाउन सम्पूर्ण राजनैतिक, अराजनैतिक सङ्घ-संस्थाहरूमाझ समन्वय बनाउन गठन गरिएको समन्वय समिती अन्तमा आफैहरूबीच समन्वय मिलाउन नसक्दा बैठक रद्द गर्न बाध्य बनेको छ।

बैठकको निम्ति गोरामुमो, भागोप, डीडीयूडीएफ आदिका प्रतिनिधिहरू बैठक गर्न कालेबुङ आइपुगिसक्दा अन्तिम क्षणमा बैठक रद्द गरिएकोले जीएमसीसीभित्र नै समन्वय नभएको स्पष्ट बनेको छ।  जीएमसीसीका संयोजक कल्याण देवानसित बैठक रद्द गर्नुको कारणबारे प्रश्न राख्दा उनले जीएमसीसीभित्रका कतिपय राजनैतिक दलहरू आ-आफ्नै दलको बैठक गर्नमा व्यस्त रहेको अनि जीएमसीसीलाई अहिलेसम्म राज्यबाट पत्र नआएको कारण हो भन्ने बताएका छन्।

उनले भने-“आज थुप्रै साथीहरूले आ-आफ्नै पार्टीको मीटिङ गर्ने भएका छन्। अर्को कुरा जीएमसीसीलाई अहिलेससम्म राज्यबाट चिट्ठी आएको छैन। जीएमसीसीलाई चिट्ठी आएको भए पो जीएमसीसीको मीटिङ गर्नु आवश्यक हुन्छ। जीएमसीसीलाई चिट्ठी पनि आएन, अरू पार्टी आ-आफ्नै मीटिङ गरिरहेको छ। त्यसैले कुनै एजेण्डा नभएकाले मीटिङ क्यान्सल गरेका हौं।”

राज्यसितको वार्तालाई लिएर अझ पनि जीएमसीसीको अडान स्पष्ट नरहेको पनि उनले बताएका छन्। वार्ताको निम्ति जीएमसीसीलाई पत्र नआएको भए तापनि अझ समय रहेकोले अहिलेबाटै केहि भनिहाल्न नमिल्ने उनले बताए। उनलाई अझ पनि राज्यबाट जीएमसीसीलाई निम्तो आउनसक्छ भन्ने आशा भने रहेकै छ।

“29 मा वार्ता हो, भोलिभित्रमा जीएमसीसीलाई पत्र आउनु नी सक्छ अझै त टाइम छ त्यसैले अहिले कुनै निर्णय लिन सकिएन। जीएमसीसीको एउटै अडान हो जीएमसीसीलाई पत्र नआइञ्जेल जीएमसीसीले नेतृत्व गरेर जाने कुरा आएन”-उनी भन्छन्।

आज अन्तिम क्षणमा आएर बैठक रद्द गरिनु, राजनैतिक दलहरूले जीएमसीसीको बैठक अघि नै वार्तामा जाने-नजाने निर्णय पार्टीगत रूपमा सार्वजनिक गर्नुले कतै जीएमसीसी नै अबोप्रान्त रद्द भएर जाने अर्थात जीएमसीसी नै भङ्ग भएर जाने त होइन भन्ने प्रश्नको उत्तरमा उनले भने- “त्यो त अब जीएमसीसीभित्र रहेका राजनैतिक दलहरूमाथि नै निर्भर रहन्छ।  म त केवल संयोजक  हुँ। त्यो कुरा  राजनैतिक दलहरूको इच्छाशक्तिमाथि निर्भर गर्छ।”

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया