खज्मजिएको पहाड़को राजनीति

दार्जीलिङ, 28 अगस्त।

दार्जीलिङ पहाड़को राजनीति अहिले गतिलैसित खज्मजिएको छ। जनता मात्रै होइन, पहाड़का सम्पूर्ण राजनैतिक पार्टीहरुसमेत वर्तमान राजनैतिक स्थितिको कारण अन्यौलमा परेका छन्। एकतर्फ गोर्खाल्यान्ड गठनको मागमा पहाड़का सबै पार्टी एक बने पनि बैठकबाहेक अन्य कुनै पनि कार्यक्रम एकसाथ नगर्नु, केन्द्र सरकारले पहाड़मा चलिरहेको आन्दोलन र पहाड़ बन्दलाई पत्तै नदिनु, अन्ततः पहाड़कै एउटा पार्टीले पत्र पठाएपछि राज्य सरकार पहाड़का आन्दोलनरत राजनैतिक पार्टीहरुसित वार्ता गर्न तयार हुनु, तर राज्यकी मुख्यमन्त्रीले गोजमुमो अध्यक्ष विमल गुरूङले पठाएको पत्र नपाउनु अनि पार्टीका मुख्य समन्वयक विनय तामाङले पठाएको पत्र भने पाउनु, राज्य सरकारले जीएमसीसी (गोर्खाल्यान्ड मूभमेन्ट को-अर्डिनेशन कमिटी)-लाई पत्र पठाउनुपर्ने माग उठ्नु, यसैबीच गोजमुमोले राज्य सरकारसित हुने वार्तामा भाग लिन जाने प्रतिनिधिहरुको नाम घोषणा गर्नु जस्ता घट्नाहरुले पहाड़को राजनैतिक स्थिति गतिलैसित खज्मजिएको स्पष्ट हुन्छ। जसको फलस्वरूप पहाड़का जनता अन्यौलमा परिरहेका छन्, यसैले दार्जीलिङमा दैनिकरुपले गोर्खाल्यान्डको मागमा सड़कमा आइरहेका जनप्रतिनिधिहरुले एउटै मन्चमा बसेर एकार्कामाझ दोष दिने पनि कार्य गरिरहेका छन्। विशेष गोर्खाल्यान्डको मागमा विगत निकै समयदेखिनै क्रामाकपा (क्रान्तिकारी मार्क्सवादी कम्युनिष्ट पार्टी)-ले गोजमुमोलाई साथ दिइरहेको छ अनि यसै मागको लागि क्रामाकपाले दैनिकरुपमा हुने जुलूस अनि जनसभामा पनि सक्रिय सहभागिता जनाउँदै आइरहेको छ। यति मात्रै होइन, विशेष दार्जीलिङमा गोजमुमो नेतृत्व अनि समर्थकहरुलाई पुलिसले पक्राउ गर्न थालेपछि यस जुलूस र जनसभालाई क्रामाकपालेनै नेतृत्व पनि दिइरहेको छ। यसै समय गोजमुमो अध्यक्ष विमल गुरूङले राज्यकी मुख्यमन्त्री ममता व्यानर्जीलाई विशेष 5 सूत्री माग लिएर पठाएको पत्र सार्वजनिक भएपछि क्रामाकपाले विरोधको आवाज पनि उठाउन थालेको छ। क्रामाकपाको भनाई छ-गोर्खाल्यान्ड राज्य गठनको लागि क्रामाकपा प्रतिवद्ध अनि कटिवद्ध छ। यसैको लागि क्रामाकपाले गोजमुमोलाई 2007-देखिनै सहयोग प्रदान गर्दै आइरहेको थियो, तर गोजमुमोले विगतमा धोका दिने कार्य गरेपछि क्रामाकपाले गोजमुमोको साथ छोड़ेको थियो। यसपाली गोर्खाल्यान्ड आन्दोलनले जनआन्दोलनको रूप लिएपछि फेरि क्रामाकपा गोजमुमोसित हातमा हात मिलाउन सड़कमा आएको हो। तर गोजमुमो अध्यक्षले राज्यकी मुख्यमन्त्रीलाई गोर्खाल्यान्डका शहीदहरुको लागि क्षतिपूर्ति प्रदान गर्नुपर्ने माग उठाएपछि क्रामाकपाले यसपाली पनि धोकानै पाउने अनुभव गरिरहेको छ। यसैले क्रामाकपाले जनतालाई गोर्खाल्यान्डको यस आन्दोलनमा साथ दिने अपील गर्दै क्रामाकपाले यस आन्दोलनलाई आफ्नो लक्ष्य पुर्याएरै छोड़्ने पनि प्रतिवद्धता जाहेर गरेको छ। यसको ठीक अर्कोतर्फ गोर्खाल्यान्ड आन्दोलनको क्रममा अघि बढेको गोरामुमो अहिले चुपचाप बनेर बसेको छ। गत केही समयदेखि गोरामुमोले कुनै सड़क आन्दोलन गरेको छैन। जसको चौतर्फी चर्चा भइरहेको छ। आखिर गोरामुमो चुप लागेर बस्नुको रहस्य के हो? जनआन्दोलन पार्टी पनि जीएमसीसीबाट अलग भइरहेको छ। गत केही दिनअघि भएको जीएमसीसीको बैठकमा जाप प्रतिनिधिहरूको अनुपस्थितिबाट पहाड़का जनताले यस्तै अनुमान लगाएका छन्। यति मात्रै होइन, पहाड़का 13-14 वटा राजनैतिक अनि अराजनैतिक पार्टी-संगठनहरु मिलेर गठन भएको जीएमसीसीले पहाड़ बन्द खोल्नेबारे ठोस निर्णय लिन सक्तैन अनि यसको निर्णय लिने दायित्व गोजमुमोको टाउकोमानै हाल्छ भने जीएमसीसी गठनको औचित्य के भयो? यसैले गोजमुमोले राज्य सरकारसित हुने वार्तामा भाग लिन आफ्नै प्रतिनिधि टोलीको चयन गरेको हो भन्ने पनि राजनैतिक विश्‍लेषकहरूको अनुमान छ। यसैले आगामी दिनमा जीएमसीसीको अस्तित्वमाथिनै गतिलो प्रश्‍नचिन्ह खड़ा हुने सम्भावना पनि प्रबल बन्दै गइरहेको छ।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया