गोर्खाल्यान्ड वार्ताको बाटो खोलियोः सन्दीप

दार्जीलिङ, 30 अगस्त।

गोर्खा जनमुक्ति विद्यार्थी मोर्चालाई 29 अगस्तको वार्ताले गोर्खाल्यान्डको लागि वार्ताको बाटो खोलियो भन्ने लागेको छ। राज्य सरकारले अलग राज्य गोर्खाल्यान्ड दिने अधिकार केन्द्र सरकारसित मात्रै छ भनेपछि अब केन्द्र सरकारलेनै यसमाथि ठोस पहल गरेर गोर्खाको सपना पूरा गर्नुपर्छ भन्ने विद्यार्थी मोर्चाका प्रवक्ता सन्दीप छेत्रीको माग छ। उनले भने-गोर्खाल्यान्ड राज्य गठनको माग लिएरनै गत 13 अगस्तको दिन जीएमसीसी (गोेर्खाल्यान्ड मूभमेन्ट को-अर्डिनेशन कमिटी)-का प्रतिनिधिवर्गले केन्द्रिय गृहमन्त्री राजनाथ सिंहसित वार्ता गरेका थिए। तर केन्द्रिय गृहमन्त्रीले गणतान्त्रिक संघीय ढाँचाअनुसार, कुनै राज्यको कुरामा सोझै केन्द्र सरकारले हस्तक्षेप गर्न नसक्ने अनि सम्बन्धित राज्य सरकार भएरनै केन्द्रसम्म आउनपर्ने सुझाउ दिएका थिए। फलस्वरूप गोर्खाल्यान्डको लागि लगभग 3 महीनादेखि आन्दोलन गरिरहेका पहाड़का राजनैतिक पार्टीहरुले राज्य सरकारसित पनि वार्ता गरिसके। यी राजनैतिक पार्टीहरुको एउटै मुद्दा थियो अलग राज्य गोर्खाल्यान्ड। राज्यकी मुख्यमन्त्री ममता व्यानर्जीले गोर्खाल्यान्ड राज्य गठनको मागलाई गणतान्त्रिक एवं संवैधानिक हो भन्ने स्वीकार गरे पनि यो आफ्नो अधिकारदेखि बाहिरको कुरा हो भनेपछि यसमाथि केन्द्र सरकारलेनै पहल गर्नपर्छ। अब गोर्खाल्यान्डको बल केन्द्र सरकारको कोर्टमा छ, यसैले यसमाथि दार्जीलिङका सांसद एसएस आहलुवालियाले पनि ठोस भूमिका निर्वाह गर्नुपर्छ। उनले गोर्खाल्यान्डको आन्दोलन पूर्णरूपले गान्धीवादी अनि गणतान्त्रिक रूपमा अघि बढिरहेको र आगामी दिनमा पनि यस्तैप्रकारले अघि बढ्ने प्रतिवद्धता जाहेर गर्दै पहाड़का विभिन्न स्थानहरुमा भइरहेको विष्फोट काण्डको पनि विरोध जनाए। उनले भने-गोर्खाल्यान्डको गणतान्त्रिक आन्दोलनलाई बद्नाम गराउनको लागिनै पहाड़मा विष्फोट काण्डहरु भइरहेका छन् र यसमाथि राष्ट्रिय जाँच एजेन्सी (एनआईए)-ले जाँच गर्नुपर्छ। ताकि पहाड़मा विष्फोट कसले गराउँदैछ, त्यसको पर्दाफास हुनसकोस्। यसैबीच, विद्यार्थी मोर्चा प्रवक्ता छेत्रीले पहाड़का सम्पूर्ण राजनैतिक पार्टीहरुलाई गोर्खाल्यान्डको मागमा एकवद्ध बन्ने अपील गर्दै पहाड़का पार्टीहरुले समतलका गोर्खाल्यान्ड विरोधी पार्टीहरुबाट उचित पाठ सिक्ने पनि आह्वान गरे। उनले भने-गोर्खाल्यान्डको माग जब-जब तीव्र बन्छ, तब-तब समतलका सबै राजनैतिक पार्टीहरु एक बनेर गोर्खाल्यान्डको विरोध गर्छन्। तर गोर्खाल्यान्डको माग उठ्दा गोर्खाल्यान्डकै पक्षधर हुँ भन्ने दार्जीलिङ पहाड़का राजनैतिक पार्टीहरु एकार्काको खुट्टा तान्न हानथाप हुने गर्छन्। यसैले गोर्खाल्यान्ड जस्तो पवित्र मागमा पहाड़का सबै पार्टीहरु एक हुनपर्छ अनि भावी सन्तानको भविष्य सुनौला बनाउने दिशामा कार्य गर्नुपर्छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया