विनय भर्सेस विमलः बन्द जारी रहने विमल गुरूङको घोषणाः पहाडमा तोडफोड शुरु

कालेबुङः  गोर्खा जनमुक्ति मोर्चाका सहसचिव विनय तामाङले बन्दलाई दुइहप्ताको निम्ति स्थगित गरेको घोषणा गरेको केही घन्टा नबित्दै मोर्चा अध्यक्ष विमल गुरूङले बन्द जारी रहने घोषणा गरेका छन्।

‘बन्द जारी रहनेछ, बन्द खोल्नु लगाउनु वा स्थगित गर्न लगाउनु बङ्गाल सरकारको षडयन्त्र हो। ममता व्यानर्जीले गोर्खाल्याण्ड राज्यको हातमा छैन, केन्द्रको हातमा छ भनिसकेकी छन्,’  विमल गुरूङले खबरम्यागजिनसित भने, ‘ममताले यसो भनिसकेपछि 12 सेप्टेम्बरको बैठक किन पर्खिनु? यो जनताको आन्दोलन हो, कसैको गोजीको आन्दोलन होइन।’

गुरूङले चारपाँचदिन भित्र एउटा डेलिगेशन दिल्ली पठाउने घोषणा पनि गरेका छन्। विनय तामाङको बन्द खोलाउने निर्णयप्रति असन्तुष्टि व्यक्त गर्दै गुरूङले अहिलेसम्म आफूले धेरै कुरा सहेर बसेको पनि बताए।

‘म धेरै सहेर बसिरहेको छु। पार्टी र जनताको निम्ति जिन्दगी दिइसकेको छु। माथिमाथि खिचडी पकाएर गोजी भर्नु राम्रो काम होइन,’ गुरूङले अझ भने, ‘बन्द स्थगित हुने छैन। जबसम्म गोर्खाल्याण्डको वार्ता हुँदैन तबसम्म बन्द जारी रहनेछ।’

यता विनय तामाङले बन्द स्थगित गरेको समाचार फैलिने वित्तिकै दार्जीलिङको चोक बजारमा दुइतिन सय मानिसहरू भेला भएर विनय तामाङ विरुद्ध नाराबाजी गरे। विमल गुरूङको समर्थनमा निस्किएको जनताले विनय तामाङ मुर्दाबादको नारा लगाउँदै यदि भोलिदेखि बन्द खोलिए जनता आफैले तोडफोड गर्ने चेतावनी दिइएको छ। यता कालेबुङमा बेलुकीदेखि तोडफोड र नाराबाजी शुरु भएको छ। बन्द खोलेकोमा असन्तुष्ट जनताले खरसाङमा पनि व्यापाक नाराबाजी शुरु गरेका छन्।

विमल गुरूङ र विनय तामाङका दुइ बेग्लाबेग्लै घोषणाले जनता भने अन्योलमा परेका छन्। विनय तामाङको घोषणापछि पहाडभरि जनता जसरी उत्तेजनामा आएका छन्, यसले मोर्चाभित्र नै कहल मच्याउने र कुनै पनि हिंसात्मक घटना हुन सक्ने सम्भावना चुलिएर गएको छ।

बेलुकीदेखि नै पहाड व्यापक अशान्त बनेको छ।

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन