विनय फेल- विमल पासः तनावपूर्ण बन्यो दार्जीलिङ

दार्जीलिङः जनताअघि फेल भए विनय तामाङ अनि जनताले विमल गुरूङलाईनै पास बनाए। विनय तामाङले आजदेखि पहाड़ खुल्लाको घोषणा गरेका थिए भने विमल गुरूङले पहाड़ बन्द जारी रहने घोषणा गरेका थिए, फलस्वरूप आज दार्जीलिङ पहाड़ ठप्पै बन्यो।

पहाड़ बन्दको 78 दिन हिजोसम्म दार्जीलिङ शहरमा गाड़ीहरुको चलाचल केही हदसम्म देखिए पनि आज शहरमा सेना र पुलिसका गाड़ीहरुबाहेक अन्य गाड़ीहरु पूर्णरूपले ठप्प बनेका छन्। हिजोसम्म शहरका केही फूटपाथहरुमा खुद्रा व्यवसायीहरुले केही सामानहरु राखेर बिक्री गरे पनि आज शहरका सम्पूर्ण फूटपाथहरु पनि सुनसान बनेका छन्। हिजोसम्म शहरदेखि केही बाहिर सिंहमारी क्षेत्रका केही दोकानहरुको झराप आधासम्म खोलिएका हुन्थे, तर आज ती दोकानहरु पनि पूर्णरूपले बन्द गरिएको छ।

यसबाट पहाड़मा विमल गुरूङको नेतृत्वलाईनै जनताले स्वीकार गरेका छन् अनि उनको नेतृत्वमानै अलग राज्य गोर्खाल्यान्डको आन्दोलन अघि बढ्नेछ भन्ने स्पष्ट संकेत दिएका छन्। हिजो खरसाङमा विनय तामाङ, अनित थापा आदिले एक जनसभा गरेका थिए, यस जनसभापछि गोजमुमो केन्द्रिय समितिको बैठक हो भनेर सभा गरिएको थियो, उक्त बैठकपछि विनय तामाङले आज 1 सितम्बरदेखि 12 सितम्बरसम्म पहाड़ खुल्ला रहने घोषणा गरेका थिए। तर विनय तामाङको यो घोषणाको लगभग एक घण्टापछिनै गोजमुमो अध्यक्ष विमल गुरूङले एक अडियो जारी गरेर पहाड़ बन्द जारी रहने घोषणा गरेका थिए।

विमल गुरूङको यो घोषणा सार्वजनिक हुनसाथ दार्जीलिङ शहरमा विनय तामाङ विरूद्ध नाराबाजी शुरू भएको थियो, विभिन्न स्थानबाट गोजमुमो समर्थकहरु भेला भएर शहरमा रातीनै विनय तामाङहरु विरूद्ध जुलूस पनि निकालेका थिए। यसै समय पुलिसले उक्त नाराबाजी गर्ने गोजमुमो समर्थकहरुमाथि लट्ठीचार्ज गरेको थियो। जसको चपेटमा परेर युथ होस्टल निवासी 45 वर्षीया रोमिला राई गम्भीर घाइते बनेकी थिइन्। यसबारे उनका पति धिरज राईसित सोध्दा उनले भने-हिजो राती गोर्खाल्यान्डको समर्थनमा गाउँका सम्पूर्ण महिलाहरु जुलूस निकाल्न बजार गएका थिए, उनीहरूसितै मेरी पत्नी पनि गएकी थिइन्।

त्यस समय जुलूस निकाल्नेहरुमाथि पुलिसले लट्ठीचार्ज गरेको थियो, जसको कारण मेरी पत्नी रोमिलाको टाउकोको पछिल्लो भागमा गम्भीर चोट लागेको छ, यसैकारण उनको मृत्यु भएको हो। यसपछि रोमिलाको शवको पोस्टमार्टम गरेपछि उनको परिवारलाई सुम्पिइयो भने पोस्टमार्टम हाउसबाट उनको शव निकाल्दा व्यापक संख्यामा जनताले सहभागिता जनाएका थिए। रोमिलाको मृत्यु पुलिस लट्ठीचार्जमा भएको भन्ने आरोपको पुलिसले खण्डन गर्दै पुलिससित यसप्रकारको कुनै जानकारी नभएको बताएको छ। पुलिस अधीक्षक अखिलेश चतुर्वेदीले बताएअनुसार, सोसियल मीडियामा यसप्रकारको खबर फैलिएको जानकारी पाइएको छ, यसमाथि जाँच गरेर दोषी व्यक्तिहरु विरूद्ध कार्वाही गरिनेछ। यस अवसरमा उनीहरुले विमल गुरूङ जिन्दावादको नारा लगाउँदै गुरूङलाई अघि बढ्ने पनि आह्वान गरिरहेका थिए। यस समय मोटर स्ट्यान्ड परिसरमा दार्जीलिङका पुलिस अधीक्षक अखिलेश चतुर्वेदीको अगुवाईमा व्यापक पुलिस अनि सीआरपीएफ जवानहरु तैनाथ गरिएको थियो।

यद्यपि, यस समय यहाँ कुनै अप्रिय घट्ना भएन। रोमिलाको शव आफ्नो घर लगिएपछि पुनः व्यापक संख्यामा गोजमुमो समर्थकहरुले रेलवे स्टेशनदेखि अर्को जुलूस पनि निकाले। जसले शहरको परिक्रमा गरेपछि सदर थानाअघि पनि विक्षोभ प्रदर्शन गरे। जसको फलस्वरूप दार्जीलिङ शहर आज मध्यान्ह 12 बजीदेखि अचानक तनावपूर्ण बनेको थियो।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन