विनय तामाङहरुलाई दिनेश गुरूङको समर्थनः विमल गुरूङले विनय तामाङ र अनित थापालाई माफी दिनुपर्छ

दार्जीलिङः केन्द्र सरकारले गोर्खाल्यान्ड राज्य गठनबारे त्रिपक्षीय वार्ता शुरू नगरेसम्म पहाड़ बन्द जारी रहने आज गोजमुमो केन्द्रिय समितिले घोषणा गर्यो। आज यहाँको चौकबजारमा गोजमुमो र क्रामाकपाद्वारा आयोजित जनसभालाई सम्बोधन गर्दै गोजमुमो प्रवक्ता विनीता रोकाले भनिन्-केन्द्र सरकारले जबसम्म गोर्खाल्यान्डबारे वार्ता शुरू गर्दैन, तबसम्म पहाड़ खोलिने छैन। यो गोर्खा जनमुक्ति मोर्चा केन्द्रिय समितिको निर्णय हो। यसैले केन्द्र सरकारले शीघ्र अतिशीघ्र गोर्खाल्यान्ड राज्य गठनको लागि वार्ता शुरू गर्नुपर्छ। जसको लागि पार्टीले एक प्रतिनिधि टोलीलाई दिल्ली पठाउने तयारी गरिरहेको पनि उनले बताइन्।

गोजमुमो अध्यक्ष विमल गुरूङ जंगलमा बसे पनि उनले गोर्खाल्यान्डको यस आन्दोलनलाई दिशानिर्देश गरिरहेका छन्, तर यहाँ अन्य नेताहरुले गोर्खा जातिलाई धोका दिने कार्य गरिरहेका छन्। गोजमुमो अध्यक्ष विमल गुरूङ र गोजमुमोका मुख्य समन्वयक विनय तामाङमाझ विवाद सृजना भएपछि दार्जीलिङमा विनय तामाङ विरूद्ध जनाक्रोस व्यापक मात्रामा देखा परेको छ। यसैकारण आज दार्जीलिङमा निकालिएको जुलूसमा व्यापक जनताको सहभागिता रहेको थियो।

यसैबीच, गोजमुमो दार्जीलिङ टाउन कमिटीका पूर्व अध्यक्ष एवं दार्जीलिङ नगरपालिकाका पूर्व उपाध्यक्ष दिनेश गुरूङले कलकत्ताबाट फोनमार्फत एक बयान जारी गरेर विनय तामाङ र अनित थापालाईनै समर्थन जनाएको घोषणा गरे। यसका साथै उनले विनय तामाङ र अनित थापालाई माफी दिनुपर्ने माग गर्दै गोजमुमो महासचिव रोशन गिरीनै उल्टा राज्यकी मुख्यमन्त्रीसित मिलेको हुनसक्ने आशङ्का व्यक्त गरे।

उनले भने-गोजमुमो महासचिव रोशन गिरी अहिले दिल्लीमा छन्, उनले केवल मदन तामाङ हत्याकाण्डको मुद्दाबाट बाँच्ने मात्रै प्रयास गरिरहेका छन्। तर विनय तामाङ र गोजमुमो अध्यक्ष गुरूङमाझ कम्युनिकेशन ग्यापको कारण यस्तो समस्या आएको हो। यसैले गोजमुमो अध्यक्ष विमल गुरूङले विनय तामाङ र अनित थापालाई माफी दिनुपर्छ। उनले रोशन गिरीलाई प्रश्‍न गर्दै भने-पार्टीको बैठक नगरी रोशन गिरीले विनय तामाङलाई पार्टीको मुख्य समन्वयक पदबाट कसरी हटाउने निर्णय लिन सक्छन्? यो सरासर गलत भएको छ अनि विनय तामाङहरुलाई पार्टी अध्यक्षसित नराम्रो बनाउनमा गिरीको ठूलो होत छ।

यसैले आगामी दिनमा दार्जीलिङ पहाड़मा कुनै चुनाउ भए अनि रोशन गिरी जुन आसनबाट खड़ा हुन्छन्, त्यसै आसनबाट उनले पनि खड़ा हुने निर्णय लिएको गुरूङले बताए। उनले स्पष्ट शब्दमा भने-दार्जीलिङ पहाड़मा आगामी दिनमा जुनै चुनाउ भए पनि रोशन गिरी चुनाउमा उठ्नेछन्, यसैले उनी जुन आसनबाट खड़ा हुन्छन्, त्यसै आसनबाट म पनि खड़ा हुनेछु।

उनले केन्द्रिय गृहमन्त्री राजनाथ सिंहको सुझाउअनुसारनै विनय तामाङहरुले राज्य सरकारसित वार्ता गरेको बताउँदै उनीहरुले राज्यसमक्ष पेश गरेको ज्ञापनका बुँदाहरु पनि  राम्रो रहेको जनाए। उनले भने-मैले मदन तामाङ हत्याकाण्ड मुद्दाको कारण दार्जीलिङ छोड़्न परेको छु, तर अब शीघ्रै दार्जीलिङमानै हाम्रो मुद्दाको सुनवाई हुने भएको छ। यसैले अब आफ्नो घर शीघ्रै आउनेछु।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन