80 दिन पुग्यो पहाड़ बन्दः पक्राउ पर्ने गोजमुमो समर्थकहरू सिलगढी अदालतमा पेश

दार्जीलिङः गोर्खाल्यान्ड आन्दोलनस्वरूप पहाड़ बन्दको 80औं दिन आज दार्जीलिङमा गोजमुमोबाट बहिष्कृत विनय तामाङ अनि अनित थापालाई समाजबाट बहिष्कार गर्ने पनि माग उठ्यो। यति मात्रै होइन, अबोप्रान्त गोजमुमो अध्यक्ष विमल गुरूङमाथि सानो पनि अप्रिय घट्ना भए त्यसको जिम्मेवारी पनि गोजमुमोका यी दुइ पूर्व नेताहरु विरूद्ध लगाउने चेताउनी गोजमुमो समर्थकहरुले दिएका छन्।

गोर्खाल्यान्ड आन्दोलनको रूपमा शुरू भएको पहाड़ बन्दले आज 80 दिन पूर्ण गर्यो। 80 दिनसम्म पनि पहाड़ बन्द जारी छ अनि यसपालीको दशैंमा पनि दार्जीलिङ पहाड़ बन्दनै रहने सम्भावना प्रबल बन्दै गइरहेको छ। यसबारे गोजमुमोले पनि यहाँको चौकबजारमा आयोजित एक जनसभालाई सम्बोधन गर्दै अब पहाड़वासी जनताले गोर्खाल्यान्डको गठन भएपछि मात्रै दशैं पालन गर्नेछन्।

आज पनि यहाँको रेलवे स्टेशनबाट गोजमुमो र क्रामाकपा समर्थकहरुले संयुक्तरूपमा गोर्खाल्यान्डको माग गर्दै जुलूस निकालेका थिए, जसले शहरका विभिन्न स्थानको परिक्रमा गरेर दार्जीलिङ सदर थानाअघि हुँदै चोकबजारमा पुगेर एक जनसभामा परिणत भएको थियो। यस जनसभामा आज अधिकांश वक्ताहरुको मुख्य मुद्दानै विनय तामाङ र अनित थापा थिए।

गोर्खा जनमुक्ति युवा मोर्चा नेता कृष्ण बर्मेले भने-अब दार्जीलिङ पहाड़का जनताले गोर्खाल्यान्डको गठन भएपछि मात्रै दशैं पनि मनाउने छन्। गोर्खा जातिले संविधानको आधारमा अलग राज्य गोर्खाल्यान्डको माग उठाउँदा पनि यहाँ अन्याय भइरहेको छ, सभा-बैठकहरु गर्न दिइएको छैन, बैठक भएकै स्थानहरुमा छापामारी हुँदैछ अनि गोली चलाएर गोजमुमो समर्थकको हत्या गर्ने कार्य भइरहेको छ।

यस्तो स्थितिमा दशैं मनाउनुको कुनै औचित्य छैन। यसैले अब आफ्नै राज्य भएपछि मात्रै खुशीसित दशैं मनाउनपर्छ। यसरीनै क्रामाकपा नेता अशोक गजमेरले पनि विनय तामाङ र अनित थापाको कठोर विरोध जनाउँदै उनीहरुलाई समाजले पनि बहिष्कार गर्नुपर्ने माग गरे।

यसैबीच, पुलिसले पक्राउ गरेका 14 जना गोजमुमो नेता अनि समर्थकहरुलाई आज सिलगढी अदालतमा पेश गरियो, जसलाई हिजो सिक्किमबाट पक्राउ गरिएकों थियो। यी गोजमुमो नेतृत्व एवं समर्थकहरुमा क्रमैले पूर्व सभासद सावित्री राई, गोजमुमो केन्द्रिय समिति कोषाध्यक्ष दावा लामा, गोजमुमोको श्रमिक संगठनका प्रवक्ता मिलन प्रधान, गोजमुमो तराईका संयोजक शङ्कर अधिकारी, राज थापा, गणेश शर्मा, बुद्ध शर्मा, संगीत तामाङ, सिद्धान्त अधिकारी, हेमन्त गौतम, अर्जुन घिमिरे, राजु विश्‍वकर्म, शरण थापा र केशव निरौला छन् भने आज बिहान खरसाङबाट पक्राउ गरिएका खरसाङ नगरपालिकाका अध्यक्ष कृष्ण लिम्बुलाई पनि आज सिलगढी अदालतमानै पेश गरिएको थियो।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन