नेतृत्व सङ्कटका प्रश्न र बाँचेको बाटो

विचार


डेस्कः अचम्मको कुरा के हो भने चलिरहेको गोर्खाल्याण्ड आन्दोलनमा नेतृत्वको सङ्कट चरम छ। विमल-विनयबीचको अस्वस्थ वाक युद्धले आन्दोलनलाई अझ अनिश्चित्तातिर लगिरहेको छ। गोर्खा जनमुक्ति मोर्चाका तल्लोदेखि मात्थिलो तहसम्मकै नेताहरूको पक्राउले पहाडमा ‘डर’-को समाजधारणा वा मनोविज्ञान तयार भइसकेको छ।

बुद्धिजीवी, बौद्धिक, कानूनविद्, मानवाधिकारवादी सङ्गठन, विपक्ष, सामाजिक सङ्गठन र सचेत नागरिक समाज दुलो पसेका छन्।

यसबीच कोही र केही सक्रिय छ भने त्यो हो- राज्य सरकारको कुटनीति र पुलिस प्रशासन।

ठिक छ, मोर्चाका नेताहरू पक्राउको डरले जङ्गल पसे रे, गोर्खा राष्ट्रीय मुक्ति मोर्चा, जन आन्दोलन पार्टी, गोर्खालिग, क्रान्तिकारी मार्क्सवादी कम्युनिष्ट पार्टी, गोर्खाल्याण्ड राज्य निर्माण मोर्चा, गोरामुमोका नेताहरू?

चल्दै गरेको मोर्चाका द्वन्द्वबाट आन्दोलनलाई बाहिर निकालेर त्यसलाई नेतृत्व गर्ने क्षमता के यी सारा विपक्षसित छैन त?

°♦°

आरबी राईः क्रामाकपाका गतिला नेता हुन् यी। सुबास घिसिङले गोर्खाल्याण्डको आन्दोलन गर्दा यिनी मार्क्सवादी कम्युनिष्ट पार्टीमा थिए। माकपा गोर्खाल्याण्ड विरोधी दल थियो। सरकारमा रहेको माकपाले अल्पसंख्यक गोर्खाहरूको आत्मनिर्णयको अधिकार-माथि नै आक्रमण गरेर विश्वका सबैभन्दा निच कम्युनिष्ट पार्टीकोरूपमा आफ्नो परिचय दिइरहेको थियो।

माकपा सरकारले गोर्खाहरूको सपनाको हत्या गरेकैले दल त्यागेर क्रान्तिकारी मार्क्सवादी कम्युनिष्ट पार्टी खोलेर छवि सुधार-को व्यानरमा आफूलाई बारम्बार जोगाउँदै आइरहेका राई अहिले के गर्दैछन्?

किन यसपल्टको आन्दोलनमा उनी सिन-मा छैनन्? आन्दोलनको निम्ति रणनीति निर्माणमा उनको योगदान किन भइरहेको छैन? क्रामाकपाले किन आफै आन्दोलन गर्दैन?

अचम्म त यो छ, कि उनले भारतीय जनता पार्टीका जसवन्त सिंहलाई सांसदको निम्ति समर्थन गरेका थिए। अप्रत्यक्ष एसएस अहलुवालियालाई पनि सहयोग गरे। उनी र उनको दल केवल नैतिक समर्थनवाला– र मौकाखोर दलमात्र बनेर बसेको छ।

गोर्खा जनमुक्ति मोर्चाले गरेको हरेकपल्टको आन्दोलनमा उनी समर्थन जनाइरहेका छन्। प्रत्यक्ष-अप्रत्यक्ष विमल गुरूङलाई बारम्बार सहयोग गर्दै आइरहेका छन्। सानोतिनो माग र दाबीमा आवाज उठाउने, अधिकांश पोष्टर टाँसेर आफ्नो अस्तित्व कायम गरिराख्ने दल बनेका क्रामाकपा र आरबी राईलाई क्रान्तिकारी बौद्धिकहरूको दल र नेता मानिन्छ।

तर भाषाको आन्दोलनमा प्रभावकारी सहभागिता दिने यी नेताको यसपालिको मौनताले हजारौं प्रश्न खडा गरेको छ।

अरुबेला त एउटा जिल्लाको विपक्षीकोरूपमा आफूलाई बँचाइराख्ने बाध्यता उनीसित थियो तर यसपल्ट आन्दोलनले लिएको जनान्दोलनको स्वरुपलाई रणनीतिक आदर्श दिनैपर्ने कर्तव्यबाट पर बसेर राईले आफू र आफ्नो दललाई नितान्तै असक्षम, कायर र स्वार्थी साबित गऱ्यो।

अहिले आन्दोलन मोर्चाको द्वन्द्व, राज्य सरकारको पुलिसी क्रुरता र रणनीतिहिनताको कारण फेरि किनारामा पुग्ने अवस्थामा छ। तर महान क्रान्तिकारी नेता भने मौन छन्।

देशका सारा गोर्खा-अगोर्खा बुद्धिजीवी, सचेत नागरिक, कानूनविद्, समाजविद्, क्रान्तिविद् रणनीतिविद्हरूलाई गोलबद्ध गर्ने जिम्मेवारी इमान्दार, बौद्धिक र क्षमताशिल छविमा बसेका आरबी राईको पनि थिएन त?

महोन्द्र पी. लामा, डा. हर्कबहादुर छेत्री, अमर लामा, अनमोल प्रसादः उनीहरू जन आन्दोलन पार्टीका  क्रिम लेयरका बौद्धिकहरू हुन्। डा. लामा आफैलाई राष्ट्रियस्तरको बौद्धिक मान्छन्। उनको पहुँच देश-विदेशका उच्चस्थ अधिकारी, व्युरोक्राट, बौद्धिक, समाजशास्त्री, अर्थशास्त्री, राजनीतिकहरूसित रहेको खुब हल्ला गर्छन्। देशको निम्ति संवेदनशील क्षेत्रमा योगदान पुऱ्याइसकेको दाबी पनि आफै गर्छन्।

डा. हर्कबहादुर छेत्रीसित आन्दोलनका खस्रामिठा अनुभवहरू छन्। राज्य सरकारको सोच्ने तरिकाको रानीमासुसम्म आफूले बुझेको र आफूलाई गतिलै बुद्धिजीवी अर्थात इन्टोलेजेन्सिया ( बुद्धि लगानी गरेर कि त सरकार कि त कुनै दलको बचाउ र पक्षमा काम गर्ने) मान्छन्।

अमर लामा र अनमोल प्रसादसित कानूनी अडचन, कानूनी बाटोलगायतका ज्ञान र आन्दोलन इतिहासबारे जानकारी छ।

तर उनीहरूसित नहुनुपर्ने एउटै कुरा छ, जसले उनीहरू सधैँ समाजको टाउकोदेखि माथिमाथि तैरिन्छन्, त्यो हो ‘इगो’।

अरूबेलाको आन्दोलनभन्दा बेग्लै यसपल्टको आन्दोलनले जुन स्वाभाव र चरित्र निर्माण गऱ्यो, त्यसलाई बुझ्नै नसक्ने यी बौद्धिकहरूको कतै पनि प्रभावकारी उपस्थिति देखा परेन। उनीहरूलाई लाग्छ, यो आन्दोलन मोर्चाले गरेको हो।

अर्थात अर्को दलले गरेको आन्दोलन उनीहरूको टाउको दुखाई होइन।  तर वास्तवमा आन्दोलन मोर्चाले गरेकै थिएन। मोर्चाले घोषणा गरेर शुरु गरेको आन्दोलन थिएन। जनावेग ममताको बङ्गलाभाषा बाध्यात्मकताले निम्त्याएको बिद्रोह नष्ट गर्न राज्यको पुलिस प्रशासनले देखाएको क्रुरता विरुद्ध एक ठाउँ जम्न थाल्यो। त्यो एकताबद्ध आवाज स्वतस्फुर्त गोर्खाल्याण्ड आन्दोलनमा रुपान्तर बन्यो। बाठो विमल र उनको दलले यसैलाई इन्क्यास गर्ने पहल मात्र गरेको थियो।

यद्धपि विमल गुरूङले गरेको सबैभन्दा ठूलो चुक- गोर्खाल्याण्ड मुभमेन्ट कोअर्डिनेशन कमिटी थियो। तर यी बौद्धिकहरूले जीएमसीसीलाई पनि ‘चाल’-मानेर अनदेखा गरे।

पछिबाट जनदवाबले मात्र उनीहरू जीएमसीसीको घटल दल बने तर त्यसमा दलको तल्लो लेयरका प्रतिनिधिहरू पठाए।

डा. लामा, छेत्री, प्रसाद र लामाले जीएमसीसीका बैठकहरूमा उपस्थिति मात्रै दिएको भए, पहाडका सबै दलका ठूला नेताहरू गोलबद्ध हुन बाध्य बन्थे। तर यी बुद्धिजीवीहरू मौन बसे।

यो मौनता कसको र केका लागि?

यतिखेर आन्दोलनले भरपर्दो नेतृत्वको अपेक्षा गरेको छ, तर यी सारा बौद्धिक नेताहरू त्यही अपेक्षालाई उपेक्षा गर्दै बसिरहेका छन्।

किन? कुन उद्देश्यको लागि?

उनीहरूले आफ्ना पहुँचका संसाधनहरूको प्रयोग गर्न सक्थे। ज्ञान, अनुभव, बुद्धि र अहिलेसम्म कमाएका देश-विदेशका उच्चस्थ अधिकारी, व्युरोक्राट, बौद्धिक, समाजशास्त्री, अर्थशास्त्री, राजनीतिकहरूलाई प्रयोग गर्न सक्थे। एउटा राष्ट्रीय आन्दोलनको परिस्थिति तयार पार्न सक्थे।

तर उनीहरूले समयलाई सम्बोधन नै गरेनन्। कुरा बौद्धिकताको गरे तर ढलेको सिन्का पनि भाँचेनन्। यतिखेर विमल-विनयको आपसी द्वन्द्वले आन्दोलनलाई सम्झौतातिर धकेल्दैछ, अवसानतिर लैजाँदैछ तर उनीहरू हात बाँधेर बसेका छन्।

निरज जिम्बाहरू धराशयी दलका नेताहरू हुन्। उनीहरूको छैटौं अनुसूचीलाई थन्क्याएर आएको दल हो गोजमुमो। यसकारण आफ्नो अस्तित्व कायम राख्न मन घिसिङहरू ममता व्यानर्जीसित सम्बन्ध बनाइराख्न उचित मान्छ।

उनीहरूसित रहेको एउटै सपना हो- छैटौं अनुसूची बौरिनेछ।

यद्धपि जनान्दोलनले उनीहरूलाई गोलबद्ध गर्न बाध्य त बनायो तर गोरामुमोका कुनै नेताले आन्दोलनलाई दह्रो रणनीतिक चरित्रमा लैजाने राजनीतिक विचारको लगानी गरेन।

अहिलेको ताजा परिस्थिति गोरामुमोले ममता व्यानर्जीलाई लेखेको पत्रले निम्त्याएको हो।

किन गोरामुमोले यो खेल?

परिस्थिति निर्माता दल गोरामुमोले गोर्खाल्याण्डको लागि प्रभावकारी नेतृत्व, बलियो रणनीतिक चरित्रको आन्दोलन निर्माणमा इमान्दारिता देखाउँछ भनेर सोच्नु साँप पाल्नु सरह नै हो।

यद्धपि उनीहरूसित एउटा गतिलो मौका थियो फेरि जनतातिर जाने, तर उनीहरू राज्यतिर गए।

गोर्खालिगका प्रताप खाती, गोरानिमोका दावा पाखरिन, अजय दाहालहरू जनता नभएका र केवल नेता हुन्। यद्धपि आन्दोलनलाई बलियो रणनीतिक चरित्रतिर लैजान उनीहरूको पनि उत्तिकै जिम्मेवारी थियो।

जीएमसीसीले भन्यो, गैरसरकारी सङ्गठनहरू गोर्खाल्याण्डको स्टेग होल्डर होइन। त्यसलाई सारा गैरसरकारी सङ्गठनले स्वीकार गरेर बसेको छ। अचम्म त्यतिखेर लाग्छ, जतिखेर उनीहरूले स्वतन्त्ररूपले केही गर्नुपर्ने हुन्छ, उनीहरूको हातखुट्टा मोर्चाले बाँधिदिन्छ अनि उनीहरू दायित्वहिनतालाई कर्तव्यजस्तै शिरोपर गरेर बसिदिन सक्छन्।

अहिलेको ताजा परिस्थिति निर्माणमा उल्लेखित सारा नेता र बौद्धिकहरू उत्ति नै जिम्मेवार छन्, जति विमल गुरूङ, विनय तामाङहरू छन्।

आरबी राई, डा महेन्द्र पी लामा, डा. हर्कबहादुर छेत्री, अमर लामा, अनमोल प्रसाद, दावा पाखरिन, मन घिसिङ, प्रताप खाती बहुसंख्यक हुन्, विमल गुरूङ अल्पसंख्यक। अल्पसंख्यक नेता विमल गुरूङले यी सारा बौद्धिकहरूलाई नचाएर राख्नु यसपल्टको आन्दोलनको दुर्गतिको कारण होइन त?

उनीहरू नेतृत्वमा बहुमत दिएर आन्दोलनलाई काँध हाल्न सक्ने क्षमताका व्यक्तित्वका छन्। यसपल्ट आन्दोलन किनारा लाग्यो भने कतिखेर गोर्खा समाजलाई उनीहरूको व्यक्तित्व काम लाग्छ त?

अहिले विमल गुरूङहरूलाई पक्राउ गर्न पुलिस बल रातदिन कसरतमा लागेको छ। विमल गुरूङ जेजस्ता हुन्, तर आन्दोलन गरेकै आरोपमा पक्राउ गर्दा बौद्धिकहरू मौन बस्नु सही हो त? मावाधिकारवादी सङ्गठनहरू मौन बस्नु सही हो त?

विमल-विनयको विवाद उनीहरूको दलभित्रको विवाद हो, के हामीसित यस्ता बौद्धिक समूह छैनन्? जसले भनोस्- ‘तापईँहरूको दलको विवादभित्र आन्दोलनलाई सिमित नगर्नुहोस्, सङ्गठनको समस्या मिलाउँदै गर्नुहोस्, आन्दोलनलाई हामी नेतृत्व गरेर अघि बढाउँदै गर्छौँ।’

उनीहरूले यसो भन्न नसेकै कारण पुलिसी धडपकड जारी छ। द्वीपक्षीय वार्ता जारी छ। आन्दोलनको अवसान जारी छ।

मन घिसिङ, ममता व्यानर्जी, विनय तामाङ र विमल गुरूङ मिलेर आन्दोलनको गतिलाई, तीब्रतालाई, शक्तिलाई, जनताको माइन्डलाई दलीय झगडातिर डाइभर्ट गरिरहेको छ, के यसलाई यत्तिकै छोडिदिनुपर्ने हो त?

हो, प्रश्न यो आरबी राई, महोन्द्र पी. लामा, डा. हर्कबहादुर छेत्री, अमर लामा, अनमोल प्रसाद, निरज जिम्बा, प्रताप खाती, कल्याण देवान, सीके श्रेष्ठ, दावा पाखरिनहरूलाई नै गरिएको हो, जो यसपल्टको आन्दोलनलाई किनारा लगाउन मौनता लगानी गरिरहेका छन्।

°♦°

विमल-विनय झगडा पर्दै गर्छन्, तपाईँहरू जीएमसीसीबाट निस्किएर एउटा राष्ट्रीय मञ्च तयार पार्न लाग्नुहोस्। तपाईँहरूसित मात्र होइन सारा गोर्खाहरूसित बाँचेको बाटो यो मात्र हो।

तपाईँहरूको मौनता नै सचेत समाजका हत्यारा हुन्।

आन्दोलन किनारा लागे, त्यसको दोष तपाईँहरूलाई लाग्दैन त?

यही अन्तिम प्रश्नको बाटो छ, तपाईँहरू किन काँप्नुहुँदैछ?

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया