डायलग ओपन गर्नेहरूलाई पक्रिँदैन, त्यसैकारण म आजदेखि घरमा नै बस्छु- अनित थापा

खरसाङः खरसाङका मोर्चाबाट निकालिएका नेता अनित थापाले खरसाङमा आज शक्ति प्रदर्शन गरे। गिद्धेमन्दिरमा पुजापाठ गरेर लगभग 40 जना समर्थकहरूसित पैदल यात्रा गर्दै खरसाङ मोटर स्ट्याण्ड पुगेर उनले जनसभापनि गरे।

उनको पछिपछि हिँडिरहेका समर्थकहरूले जब ‘बिमल-अनित भाईभाई’ भन्ने नारा लगाउन थाले तब मानिसहरूको भीड उनको पछि थपिँदै गयो।

वास्तवमा मानिसहरू ‘आज अनित थापाले बन्द खोल्छ हरे’ भन्ने हल्लाको कारण जमेका थिए। अनित थापाले बन्द खोले त्यसको विरोधमा फेरि बन्द जारी राख्न पनि अनित थापा विरोधीहरूको भीड जमेको थियो। तर अनित-बिमल भाईभाई भन्ने नारा लाग्न थालेपछि सबै अनित थापाको कुरा सुन्न जिज्ञासु बने।

लगभग 600 भन्दा अधिक मानिसहरूले अनित थापाको जनसभा सुने। जसमा अनित थापा र विमल गुरूङ दुवैका समर्थकहरू थिए।

मोटरस्ट्याण्डबाट उपस्थित मानिसहरूलाई देखाएर अनित थापाले भने, ‘यी जनता न त अनित थापाका हुन् न त विमल गुरूङका हुन्, उनीहरू गोर्खाल्याण्डका जनता हुन्। बन्द खुलाउने अधिकार अनित थापासित छैन, यी नै जनतासित छ।’

पुलिसी सुरक्षा त दह्रो थिँदै थियो, अनित थापाले के भन्ला त? भनेर जिज्ञासु बन्नेहरू पनि उत्तिकै थिए।

‘10 वर्ष खुन पसिना बगाएर खरसाङमा मैले मोर्चालाई दह्रिलो बनाएको हुँ,’ थापाले भने, ‘दिल्लीमा लुकेर मिडियाबाट रोशन गिरीले पार्टीबाट निकालेको घोषणा गर्दैमा म मोर्चाबाट निस्किने प्रश्न नै उठ्दैन। म मोर्चामा थिएँ, छु र सँधै रहनेछु।’

आफूले शिक्षितहरू लिएर आन्दोलन गर्छु भन्दा रोशन गिरी रिसाएको भन्दै अहिले खरसाङमा केही युवावर्गले पनि यसैको आधारमा राजनीति गरिरहेकोसमेत आरोप लगाए।

‘मैले अहिलेसम्म खरसाङका जनतालाई पुलिसको लट्ठीसमेत पर्न दिइनँ,’ उनले भने, ‘तिमीहरूको गलत राजनीतिको कारण खरसाङमा बम पड्कियो भने को जिम्मेवार हुन्छ?’

उनले आफूविरुद्ध नाराबाजी गर्नेहरूलाई पनि धन्यवाद दिए। ‘मलाई थाहा छ, दशैँ नजिक छ, मुर्दावाद भन्नेहरू नै मेरो घरमा भीड लाग्नेछन्,’ यसै सन्दर्भमा उनले भने, ‘मेरो पुत्ला किन जलाउने र म आफै गोर्खाल्याण्डको निम्ति दहन भइदिन तयार छु।’

उनले आफूहरूले जे पनि गरे सबै विमल गुरूङकै निर्देशनमा भएको कुरा त दोहोऱ्याए नै आफूहरूलाई नराम्रो देखाएर रोशन गिरीले रोटी सेकेको पनि बताउन थापाले छुटाएनन्।

‘हामी त डायलग ओपन गर्ने नेताहरू हौं, हामीलाई पुलिसले पक्राउ गर्दैन, त्यसै कारण म आजदेखि घरैमा बस्छु,’ उनले भने, ‘गोर्खाल्याण्डको निम्ति द्वीपक्षीय वार्ता जारी छ, आउने वार्तामा पनि म जाने नै छु। द्वीपक्षीय वार्ताबाट नै त्रिपक्षीय वार्ताको ढोका खुल्नेछ।’

आफू बिक्री पनि नहुने अनि नडराउने पनि बताउँदै उनले तीन महिनाको बन्दको परिणाम ‘जिरो’ रहेको किटानसमेत गरे। आफूले खरसाङमा मोर्चा स्थापना गरेको अनि आफूलाई खरसाङका जनताले माया गर्ने विश्वास पनि थापाले व्यक्त गरे।

‘म केवल गोर्खाल्याण्डको निम्ति लड्नेछु, म कुनै पनि चुनाउ लड्ने छैन,’ उनले थपे, ‘चुनाउ लडे मलाई घरैमा आएर थुक्दा हुन्छ।’

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन