सार्पसुटर ल्याएको प्रमाणित गरुन्-प्रकाश गुरूङ

कालेबुङः बङ्गाल पुलिस प्रशासनले गोर्खा जनमुक्ति मोर्चाका तीन नेता विमल गुरूङ, रोशन गिरी अनि प्रकाश गुरुङविरुद्ध लुक आउट नोटिस जारी गरिसकेको छ।

दुइदिन अघि विष्फोटक पदार्थ भेटेको र पहाडका विभिन्न ठाउँमा विष्फोटक पदार्थ बनाउने कारखाना सञ्चालन गरेको आरोपमा 10 जना नेताहरूविरुद्ध राष्ट्रद्रोहको मुद्दा लगाइएको छ, त्यसमा पनि प्रकाश गुरूङको नाम छ।

उनै युवा मोर्चा नेता प्रकाश गुरूङले विनय तामाङलाई मार्न मोर्चाले नेपालबाट सार्प सुटर ल्याएको  आरोपको खण्डन गरेका छन्। ‘यति तल झरेर विनय तामाङले यसरी मोर्चालाई आरोप लगाउनु ममता व्यानर्जीलाई खुशी पार्ने मेलो मात्र हो,’ प्रकाश गुरूङले भनेका छन्, ‘विनय तामाङले मोर्चाले नेपालबाट उनलाई मार्न सार्प सुटर ल्याएको कुरा प्रमाणित गरुन्।’

उनले विभिन्न ठाउँमा बम पड्काउने काम पुलिससित मिलेर तृणमूल काङ्ग्रेसका समर्थकहरूले गरिरहेको आरोप पनि लगाए। उनले विनय तामाङ पनि तृणमूल समर्थक रहेको भन्दै ममता व्यानर्जीसित मिलेर आफूलाई पुलिसको सुरक्षा मागेर आन्दोलनकारीलाई गोली ठोक्ने काम गर्नु सही नरहेको बताए।

‘विनय तामाङले आफ्नो सुप्रिमो ममता व्यानर्जीलाई निर्दोष जनतामाथि गोली नचलाउन अपिल गरुन्,’ गुरूङले भने, ‘मोर्चाले गणतान्त्रिक पद्धतिमा आन्दोलन गरिरहेको छ, त्यो कुरा विनय तामाङलाई थाहा होस्।’

आफ्नो पार्टीका समर्थकहरूलाई आन्दोलन बिथोल्न बम पड्काउन लगाउने ममता व्यानर्जीलाई पनि उनले चेतावनी दिएका छन्।

‘हामी गणतान्त्रिकरूपले आन्दोलन गरिरहेका छौँ, बम पड्काउनेहरू जो होस्, उसको जाँच हुनुपर्छ, दोषीलाई दण्ड दिइनुपर्छ, तर मोर्चालाई तर्साउन वा आन्दोलन बिथोल्न यस्तो निच काम नगरियोस्,’ गुरुङले भने, ‘हामीलाई आफ्नो सुरक्षाको निम्ति हतियार उठाउन बाध्य नगरियोस्, हामी हतियारले होइन गणतान्त्रिकरूपले आन्दोलन गरिरहेका छौँ। तर हामीलाई हतियार उठाउन बाध्य पार्ने काम नगरियोस्।’

उनले विमल गुरूङले आफूहरूलाई गणतान्त्रिकरूपले आन्दोलन गर्ने निर्देश दिएको बताए। विष्फोटक पदार्थ भेट्नु अनि त्यसको दोषी पनि आफूहरूलाई नै लगाउनु सबै नै बनावटी घटना र आन्दोलन दबाउने कुटनीति नै रहेको बताए।

विनय तामाङले बन्द खोल्छु भन्नु तृणमूल काङ्ग्रेसको कार्यकर्ता झैं काम गर्नु रहेको भन्दै पानीघट्टामा पनि गोर्खाल्याण्ड चाहने जनता रहेको अनि पुलिसले जबरजस्ती खुलाएको आरोप पनि गुरूङले लगाएका छन्।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन