बन्दमाथि दादागिरी र जनान्दोलनको शक्तिः सफल बन्दै बन्द

डेस्कः सुकनाका व्यापारीहरूमाथि पुलिस प्रशासनले बैठकमा बोलाएर पसलपाट खोल्ने दवाब बनायो। सुकनाका पसलेहरू बैठकमा गए, बसे, सुने तर फर्किएर आएपछि दोकानपाट बन्द नै राखे।

पुलिस प्रशासन अक्क न बक्क।

पानीघट्टामा तृणमूल नेता राजेन मुखियाहरूले ऱ्याली निकाले। ‘फेस्टुनमा दार्जीलिङमा शान्ति चाहान्छौँ’-लेखिएको थियो। केही यानबाहन पनि चल्यो। केही दोकानपाट पनि खुल्यो।

भानु जयन्तीमा बङ्गालका मन्त्री गौतम देव भानु जयन्ती मनाउन पानीघट्टा पुगेका थिए, तर उनलाई जनताले ढुङ्गामुढा गरेर खेदाए। यही आरोपमा स्थानीय धेरैलाई मुद्दा लगाइएको छ।

राजेन मुखियाहरूले पानीघट्टामा बन्द खोलाएको भोलिपल्ट एउटा भोइजक्लिप भाइरल बन्यो, त्यहाँ पानीघट्टाकी एक पसल्नी भन्दैथिइन्, ‘पुलिसले धम्काएर खोल्न लगाको हो, खोलेन भने थुप्रैलाई थुन्छु भनेका छन्।’

विनय तामाङ भन्छन्, ‘केहीदिन भित्रमा बन्द खुलेन भने म मान्छे लगाएर पनि खोल्छु।’

हिजो उनले गोर्खाल्याण्ड आन्दोलनलाई ‘अशान्ति’-को अर्थमा परिभाषित गरे। ‘आन्दोलनको कारण अशान्ति छ, यसैले शान्तिको लागि ऱ्याली निकालेका हौँ,’ उनले भने पनि। शान्तिको माग गर्न उनीसित लगभग 200 समर्थक थिए, झन्नै उत्तिनै थिए सेनाका जवानहरू पनि।

खरसाङमा अनित थापाले शक्ति प्रदर्शन गरे, मिरिकमा राजेन मुखियाले अनि दार्जीलिङमा विनय तामाङले।

विनय तामाङ, अनित थापा, राजेन मुखियाहरूलाई ‘बन्द’-ले किन सताएको हो?

यही बन्दको कारण हो, ममता व्यानर्जीले उनीहरूलाई बैठकमा बोलाउन बाध्य गरायो। गोरामुमोले चिट्ठी पठाउनु त बहानामात्र हो। गोरामुमो र तृणमूलको साँठगाँठ उत्तिकै बलियो छँदैछ। नहुनु हो भने गोरामुमोले जिएमसीसीबाट द्वीपक्षीय वार्ताको निम्ति रणनीति तयार पार्थ्यो।

जीएमसीसीले नै ममता व्यानर्जीलाई चिट्ठी पनि लेख्न सक्थ्यो। वा अरू कुनै न कुनै उपाय सहमतिले निकाल्थ्यो। तर गोरामुमोलाई जिएमसीसीसित खासै सरोकार छैन। उसलाई जतिसक्दो छिटो ममता व्यानर्जीसित बैठक गर्नु थियो, पठायो चिट्ठी र ममताले त्यही चिट्ठी देखाएर बैठक बोलाइन्।

बैठकमा गोर्खाल्याण्डबारे बहस भएन। ममताले भनिहालिन्, ‘त्यो मेरो विषयको कुरै होइन, केन्द्रको कुरा हो।’

बहसको बाँकी मुद्दा पहाडमा शान्ति फर्काउनु नै रह्यो। गोर्खाल्याण्ड आफ्नो विषय होइन भनिसकेपछि बैठक सकिहाल्नु पर्ने हो, तर बैठक चलिबस्यो र त्यहाँबाट नेताहरूले ‘पहाडमा शान्ति फर्काउ’ भन्ने आदेश बोकेर फर्किए।

12 दिनको छुट, त्यही आदेशप्रतिको स्वामिभक्ति थियो।

तर अनपढ विमलले पढन्ते, मन घिसिङ, निरज जिम्बा, विनय तामाङ, अनित थापालाई लोप्पा खुवाइदिए।

विमल गुरूङले आदेश दिएनन्, उनले आग्रह गरे। ‘पहाडका जनताले जबसम्म त्रिपक्षीय वार्ता हुँदैन तबसम्म बन्दलाई जारी नै राखिदिउन्’, भने विमलले।

विमलले यसो नभनेको भए पनि जनताले बन्द खोल्दैनथ्यो।

कुनै पनि नेताले मुद्दा र आन्दोलनलाई अलिकति पनि चोट पार्ने कार्यक्रम घोषणा गर्न अघि सोच्नु पर्ने एउटा अनिवार्य शब्द हो- जनान्दोलन।

जनान्दोलनका आन्दोलनकारी जनताले न त विमलको सुन्छन्, न विनयको। सुनेनन्। जनताले नसुनेपछि राज्य सरकार पनि रिसायो, विनय तामाङहरू पनि रिसाए।

जनताले बन्द जारी राख्ने वित्तिकै राज्य सरकारले पुलिसी कार्वाही थाल्यो।

उनीहरूले ठानेका छन्- विमल पक्रियो भने आन्दोलन सकिन्छ।

पुलिसहरू विमल गुरूङको खोजीमा जुटेका छन्, विनय तामाङहरू बन्द खुलाउन। उनीहरूले काम बाँडेर गरिरहेका छन्। बन्द खुलाउन अनेक जुक्ति अप्नाइरहेका छन्। अनित थापाले, ‘मैले त पुलिसको लट्ठीसमेत पर्न दिएको थिइनँ, भोलि बम पड्कियो भने को जिम्मेवार हुन्छ?’ भनेको दुइदिनमा नै साँच्ची नै विष्फोट भयो।

बन्द खुलाउन, गौतम देव, शान्ता छेत्री, राजेन मुखियाहरू तराईतिर दह्रो सङ्घर्ष गरिरहेका छन्। घरि राशन पानी बोकर उनीहरू जनताकोमा पुगिरहेका छन्, घरि पुलिस बोकेर। तराई र डुवर्सका नजिकमा रहेका दार्जीलिङ, कालेबुङ जिल्लाका क्षेत्रहरूबाट बन्द खुलाउने अभियान थालिए पनि पहाड भने चुपचाप छ। कतैबाट पनि पहाडमा बन्द खुल्ने छाँटकाँट छैन।

हुन पनि यतिदिन त जनताले सहिरहे। 10 जनालाई पुलिसले गोली ठोकेको छ, कति घाइते छन्। नानीहरूको स्कूल बन्दले केटाकेटी बिग्रन, अट्टेरी हुन थालेका छन्। कमाइसमाइ ठप्प छ। जीवनभरको दुःख त आन्दोलनलाई समर्पित गरिरहेका छन्।

यतिदिनका त्याग विनय तामाङहरूको मनोपोलिको लागि गरेका हुन र जनताले? जुन ममता व्यानर्जीले गोर्खाल्याण्डको विरोध गरिरहेका छन्, जसले मेरो सरोकारको कुरा नै होइन भनिरहेकी छन्, उसित वार्ता गर्दा किन बन्द खोल्नु र?

अँ, ममता व्यानर्जीले ‘त्रिपक्षीय वार्ता हुनुपर्छ, म केन्द्रिय गृहमन्त्रालयलाई चिट्ठी लेख्छु, जे कुरा गर्नु छ, त्यही गरौं’, भनेको भए पो बन्द खुलाउनु।

अँ, गोरामुमोले त्रिपक्षीय वार्ता गर भनेर नरेन्द्र मोदीलाई ममतालाईजस्तो पत्र लेखेको भए र मोदीले त्यो चिट्ठी देखाएर ‘वार्तामा आउ’-भनेको भए पो बन्द खुलाउनु।

गोर्खाल्याण्डको लागि गएको सांसद एसएस अहलुवालिया गोर्खाल्याण्ड हुँदैन भनिरहेका छन्, केन्द्र मौन छ, ममताले गोर्खाल्याल्याण्ड होबेना भनिरहेकी छन्, के यसैको खुशीयालीमा बन्द खुलाउनु र?

12 सेप्टेम्बरको वार्ता होस्, जो जो जान्छ जाउन्, तर त्यसको लागि बन्द खुलाउनै पर्ने कुराको लजिक के हो?

नेतृत्वले गतिलो कार्यक्रम बनाएन, जनतासित रहेको कार्यक्रम भनेको केवल बन्द मात्रै हो। जति बन्द तन्किँदैछ उति राज्यलाई दवाब बनिरहेको छ। यसै कारण त मोर्चा नेताहरूलाई पानी केदो गरिँदैछ। विनय तामाङहरू शान्ति जुलुस गर्दैछन्। राजेन मुखियाहरू पुलिसलाई धम्काउन लगाएर पनि बन्द खोल्दैछन्।

बन्द जारी छ र नै केन्द्र पनि विस्तारै आत्तिदैछ। नेतृत्वले केन्द्र र राज्य सरकारलाई त्रिपक्षीय वार्ताको लागि दवाब बनाउने कार्यक्रम नगरेकैले जनताले बन्दमार्फत राज्य र केन्द्रलाई दवाब दिइरहेको छ। जनान्दोलन यो मानेमा पनि दिनदिनै सफल बन्दैछ। यो सफलतासित विनय तामाङहरूलाई किन पिरलो? राज्य सरकारलाई किन साह्रो परेको?

राज्यले विनय तामाङहरूलाई वार्तामा बोलाउनुको कारण पनि बन्द नै त हो।

मोर्चाका नेताहरूलाई पक्राउ गर्नुको कारण पनि बन्द नै हो।

केन्द्र विस्तारै चल्मलाउनु थाल्नुको कारण पनि बन्द नै हो। बन्द-को शक्तिबारे राज्य सरकारलाई थाहा छँदैछ। मुख्यगरी व्यापार वाणिज्य ठप्प छ। राजस्व ठप्प छ।

बन्द चलिरहे व्यापारीहरू आफै आन्दोलनमा उत्रन बाध्य पर्नेछन्। राज्य सरकारलाई उनीहरूले नै दवाब दिन थाल्नेछन्।

केन्द्रले त्रिपक्षीय वार्ता बोलायो भने पहाडमा शान्ति फर्किहाल्ने हो। तर ममता व्यानर्जीलाई केन्द्र मौन बसेर पनि दवाब बनाइरहेकै छ। ‘राज्यको समस्या आफै सामाधान गर’-बित्थामा त भनिएको होइन नै। ममता व्यानर्जी राज्यको पहाडी जिल्लाको समस्या समाधान गर्न सक्षम नबने केन्द्रले हस्तक्षेप गर्नै पर्ने बाध्यता निर्माण हुनेछ।

त्यो बाध्यता निर्माण गर्ने चाबी त बन्द नै त हो।

केन्द्रले विभिन्न टोलीलाई पहाडको वास्तविकता बुझ्न कमिटी बनाउन बाध्य बन्ने छैन र?

बन्दलाई यति सकरात्मकरूपले हेर्नु अपराध हो त?

यी सब त बन्दकै कारण भइरहेको हो। अब केही हुने छ भने त्यो बन्द जारी राखेर नै हुनेछ। यही कुराले ममता पनि पिरोलिएकी छन्, विनय तामाङहरू पनि। जनताको अघि कसैको केही नलाग्दो रहेछ, विनय तामाङहरू र बङ्गाल पुलिसको छटपट्टिले पनि स्पष्ट भइरहेको छैन त?

यसै कारण नै बन्दमाथि सबैको दादागिरी बढ्न थालेको छ। बन्द खोलाएरै देखाउने कसमहरू यसै कारण खाँदैछन्, विनय तामाङहरू। विमल गुरूङहरूलाई पक्रिएरै आन्दोलन सेलाउने भूत चढेको छ पुलिस प्रशासनको आङमा।

यति सब चलखेलहरूबीच पनि पहाडका जनता टस न मस छन्। बन्द जारी छ, छ।

बन्दमाथिको दादागिरीले यो जनान्दोलनलाई हेप्न सक्ला त?

12 सेप्टेम्बर अघिसम्म केही छनकहरू त पाइएलान्, हैन र?

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन