जनसभा गर्न नदिएकोमा जीएमसीसी असन्तुष्ट, 10 सेप्टेम्बरमा गर्ने बैठक

कालेबुङ, 7 सितम्बर।

गोर्खाल्याण्ड मुभमेन्ट कोअर्डिनेसन कमिटी (जीएमसीसी)लाई प्रशासनले अन्तिम क्षणमा आएर आज दार्जीलिङमा जनसभा गर्न नदिएपछि  संयोजक कल्याण देवानले असन्तुष्टि व्यक्त गरेका छन्।

“तीन दिनअघि हामीलाई जनसभाको निम्ति प्रशासनले अनुमति दिएको थियो। तर हिजो साँझ छ बजीमात्र हामीलाई ‘ल एण्ड अर्डर’-को समस्या देखाएर दिइसकेको अनुमति पनि प्रशासनले ‘क्यान्सल’ गरिदियो”-देवानले बताए।

प्रशासनले साँच्चै नै ‘ल एण्ड अर्डर’-को समस्या भएकाले गर्दा नै जनसभा गर्न नदिएको हो भने त्यस कुरालाई लिएर प्रशासनलाई सहयोग गर्न आफूहरू तयार रहेको देवानले बताए। उनले भने- “यद्यपि फैसला एकपक्षीय नहोस्, हामी प्रशासनलाई आग्रह गर्छौं। सबैलाई ऐन बराबर लागु होस्।”

गोर्खाल्याण्डको निम्ति भावी रणकौशल कस्तो हुनुपर्ने, वर्तमान स्थितिमा जनताको दायित्व कस्तो हुनुपर्ने,  गणतान्त्रिक अनि शान्तिप्रिय ढङ्गमा आन्दोलनलाई अघि कसरी बडाउने, बन्दको विकल्प आदि विषयहरूबारे जीएमसीसीको अडान जनसाधारणसमक्ष राख्नु नै आजको जनसभाको मुख्य उद्देश्य रहेको देवानले बताए। प्रशासनलाई पुन: जनसभा आयोजना गर्नको निम्ति अनुमति माग्ने अनि दार्जीलिङमा जनसभा गरेर नै छोड्ने निर्णय जीएमसीसीले लिएको उनले बताए।

वर्तमान पहाडको राजनैतिक माहौल, गोजमुमोभित्र आएको फाँटो, 12 सेप्टेम्बरको वार्ता आदि विविध विषयलाई लिएर जीएमसीसी गम्भीर रहेको अनि जीएमसीसीभित्र रहेका दलहरूमाझ उक्त विषयहरूलाई लिएर चर्चा भइरहेको बताउँदै देवानले भने- “हामी उक्त विषयहरूलाई लिएर जीएमसीसीभित्र एकाअर्कासँग चर्चा गरिहेका छौं। वर्तमान राजनैतिक अवस्था, गोजमुमोभित्र चलिरहेको द्वन्द्व अनि 12 सेप्टेम्बरको वार्तालाई लिएर हामी 10 सेप्टेम्बरको दिन एउटा बैठक गरेर ठोस चर्चा गरी रणनीति तयार पार्नेछौं।”

10 सेप्टेम्बरमा बैठक यद्यपि कहाँ गरिनेछ त्यो अहिलेबाटै तय नभएको भए तापनि बैठक गरिने कुरा भने तय भइसकेको देवानले बताए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन