मिरिकमा विष्फोट र पोष्टरले सनसनी

मिरिकः मिरिकमा दुइवटा घटनाको कारण सनसनी छ। राती विष्फोट भयो अनि बिहान गोर्खा लिवरेसन आर्मी (जीएलए) नामबाट पोष्टर टाँसियो।

हिजो राती नौ बजीतिर मिरिक हाई स्कुल र पीडब्ल्युडी भवनको माझको रोडमा ठुलो बिस्फोटको आवाज सुनिएको थियो। पुलिसले त्यसलाई ‘बम विष्फोट’ भन्यो।

विष्फोटले केही हानी नोक्सानी गरेको छैन। पुलिसले जाँच चलिरहेको बताएको छ। बताइको छ, यस अघि पनि दुइपल्ट मिरिकमा विष्फोटक भेटिएको थियो।

विष्फोट भएकै चाहीँ यो पहिलो घटना हो।

लगत्तै बिहान मिरिकमा एउटा पोष्टर देखापऱ्यो। पोष्टरमा जाति र माटोको निम्ति जीएलए कुनै पनि हदसम्म जानसक्ने चेतावनी छ।

‘चाहे मार्नु परोस् वा मर्नु परोस्, बङ्गाल सरकार याद राख्,’  पोष्टरमा छ, ‘कुनै पनि गद्दार नेतालाई छोड्ने छैनौं, चाहे त्यो तृणमूलको होस्, गोरामुमो, गोजमुमो वा जापको होस्।’

जीएलएले ती दलहरूको नाम लिएको छ जो 29 अगस्तको दिन ममता व्यानर्जीसित द्वीपक्षीय वार्तामा गएको थियो। त्यही वार्ताबाट फर्किएपछि मोर्चामा फुट आएको थियो भने तृणमूल नेताहरू लगायत विनय तामाङहरू बन्द खुलाउने कोशिशमा छन्।

नाम त तोकेको छैन तर ‘खानेबेलामा खानुसम्म खाइस्, अहिले गोर्खाल्याण्ड विरोधी काम गर्छस्’ भनेर विनय तामाङ, अनित थापा, राजेन मुखियाहरूलाई खबरदारी गरिएको छ।

जनताले भोक तिर्खा नभनी आन्दोलन गरिरहेको भन्दै यस्तोमा कसैले गद्दार गरे उसको घरमा बम हान्ने चेतावनी पनि पोष्टरमा छ।

अहिलेसम्म भएका जम्मै विष्फोटको घटनाको जिम्मा पनि जीएलएले लिएको छ। जनतालाई नडराउने सन्देश पनि दिइएको छ। जीएलए कुनै पनि पार्टीसित सम्बन्धित नरहेको पनि स्पष्ट पारिएको छ।

गोर्खाल्याण्डको लागि लड्न जीएलए सङ्गठित भइसकेको र आफूहरू गोर्खाल्याण्डको योद्धा रहेकोसमेत भनिएको छ।

आफूहरू केवल गोर्खाल्याण्डको मागको निम्ति लड्ने र जीएलए कुनै राष्ट्र विरोधी सङ्गठन नरहेको पनि पोष्टरबाट स्पष्टरूपमा खुलाइएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया