महिला हुनु नै मेरो सुरक्षा हो-गौरी लङ्केश

Girl in a jacket

वरिष्ठ पत्रकार एवम् दक्षिणपन्थी आलोचक गौरी लङ्केशको 5 सितम्बरको साँझ बेंगलुरुमा गोली हानी हत्या भएको थियो।

लङ्केश पत्रिकाकी सञ्चालिकासमेत रहेकी गौरीको हत्या आफ्नै घर अगाडि भएको थियो।

‘गौरी जब आफ्नो घर फर्कदै थिइन्। त्यतिनै खेर उनीमाथि आक्रमण भएको थियो। यो आक्रमण किन र कसले गर्‍यो भन्ने अझै पत्ता लागेको छैन’, बेंगलुरूका पुलिस अधिकृत  सुनील कुमारले भनेका थिए,‘ गौरी जब राज राजेश्वरी नगरस्थित आफ्नो घरमा ढोका खोल्न लागेकी थिइन् त्यतीनै बेला उनीमाथि हमला भएको हो।’

मोटरसाइकलमा आएका तीन जनाले उनीमाथि आक्रमण गरेका थिए। कम्तिमा पनि  सात राउन्ड गोली हानिएको छ। त्यतिखेर उनी घरको मुल ढोका खोल्दै थिइन्।

तीन गोली उनको टाउको, घाटी र छातीमा लागेको थियो। सधैजसो राति ढिलोगरी उनी घर फर्किन्थिन्। ५५ वर्षीय गौरीका पिता पी लङ्केश एक पुरस्कार विजेता फिल्ममेकर थिए, उनले सन् १९८० मा लङ्केश पत्रिकाको प्रकाशन सुरू गरेका थिए।

गौरीको परिवारमा उनकी बहिनी कविता लङ्केश, भाई इन्द्रेश र आमा पनि राष्ट्रिय फिल्म पुरस्कारबाट पुरस्कृत भएका थिए।

यस्तै गौरीको हत्याको विरोधमा विश्वभरि नै आवाजहरू उठिरहेको छ।

 

हाम्रो कालमा गरिएका वैचारिक अनि राजनीतिक हत्याको मामिलामा केही दिनअघि कन्नड़ साप्ताहिक लंकेश पत्रिकाकी सम्पादक गौरी लंकेशको नाम पनि जोड़िसकेको छ। देशमा दिनोदिन गहिरिँदै गइरहेको राजनीतिक परिवेशविरुद्ध गौरी लड्दै थिई। अन्ततः त्यही परिवेशले उसको ज्यान लियो। लगभग डेढ़ दशकअघि गौरीले रेडिफ डट कमलाई दिएकी अन्तर्वार्ताको अनूदित अंश साझा गरिरहेका छौँ। त्यति बेला बुबाको मृत्युपछि सम्पादकको रूपमा गौरीले लंकेश पत्रिकाको भार सम्हालिरहेकी थिई।

यी डेढ़ दशकहरूमा देश अहिले कहाँ आएर खड़ा भएको छ, यस अन्तर्वार्तामा गौरीको त्यस टिप्पणीबाट बुझ्न सकिन्छ, जसमा उनले महिला हुनुले आफू सुरक्षित रहेको बताएकी थिइन्। गौरीले कल्पना पनि गर्न सकिनन् होली डेढ़ दशकपछि कमजोर, वञ्चित वर्ग अनि लेखक-पत्रकारहरूको हत्या नै हाम्रो समाजको परिचय बन्नेछ।

 

यस अन्तर्वार्ताको हिन्दी अनुवाद अभिनव श्रीवास्तवले गरेका हुन, नेपाली अनुवाद सचिन चामलिङले खबरम्यागजिनको निम्ति गरेका हुन्।


आफ्नो बुबाको विरासत सम्हाल्दै कुनै दिन तपाईँ लंकेश पत्रिकाकी सम्पादक बन्नु हुनेछ भनेर सोच्नु भएको थियो?

अहँ, मैले त्यस्तो कहिले सोचेकी थिइनँ। मलाई अहिले पनि के लाग्छ भने मेरा बुबाको विरासत कसैले कहिले पनि सम्हाल्न सक्ने छैनन्। कन्नड़ पत्रकारिता अनि साहित्य जगतमा उनको स्थान धेरै उच्च थियो। उनको देहान्तपछि दिल्ली एयरपोर्टमा मेरो प्रतीक्षामा रहेका मित्रहरूले मलाई अब लंकेश पत्रिकाको के हुन्छ भनी प्रश्न सोधेका थिए। अब यसलाई बन्द गर्नुबाहेक अर्को विकल्प छैन भनेर मैले उत्तर दिएकी थिएँ। मेरा बुबाको ठाउँ खाली थियो। त्यसलाई पूर्ण गर्नु धेरै कठिन काम थियो।

त्यो कुन स्थिति थियो जब तपाईँले लंकेश पत्रिका सम्पादनको जिम्मेवारी सम्हाल्ने बारे सोच्नुभयो?

सबैभन्दा पहिला मेरो वा कसैको प्रबन्धनमा लंकेश पत्रिका चलाउन मलाई सम्भव लागेको थिएन किनभने हरेक व्यक्ति एउटा अर्को लंकेशको प्रतीक्षामा हुनेछ जो असम्भव काम थियो। तर कैयन् मानिसहरूले पत्रिकालाई बन्द नगरिदिने निवेदन गरे। त्यसको कारण थियो यो पत्रिका सेकुलरवाद, दलित, महिला अनि वञ्चित वर्गको मुद्दासित खड़ा रहन्थ्यो। पत्रिकामा ती सबै मुद्दाहरूलाई स्थान दिइन्थ्यो जसलाई मुख्य धाराको मिडियामा कुनै स्थान थिएन।

मेरा बहिनी, भाइ अनि म स्वयम् बुबाका प्यारा साथी साथै कन्नड़ सन्ध्या दैनिक ‘सांजे वानी’ र तमिल दैनिक ‘दिना सुदर’ का सम्पादक तथा प्रकाशक मणिलाई भेट्न गएका थियौँ। मणिले वर्षौँदेखि हाम्रो पत्रिकाको प्रकाशन गरिररहेका थिए। पत्रिका बन्द गर्ने कुरो हामीले उनलाई बतायौँ। तर त्यस कुरामा मणि धेरै रिसाए। तिनले भने, ‘एकातिर तिमीहरूका बुबा थिए जसले आफ्नो नोकरी र रहल-पहल सम्पत्ति प्रकाशनलाई खड़ा गर्न र पत्रिकाको माध्यममा सङ्घर्ष गर्न होमिदिए अनि तिमीहरू कुनै सङ्घर्षबिना यसलाई बन्द गर्न चाहन्छौ। तिमीहरूले एकपल्ट कोसिस गर्नु आवश्यक छ। यदि तिमीहरूबाट पत्रिका चल्न सकेन भने निश्चय बन्द गरिदिनू।’

त्यसको साथै मेरा बुबा जुन स्थिति अनि कालमा संसारबाट बिदा भएका थिए, त्यो पनि हाम्रा लागि एक प्रकारको चेताउनी झैँ थियो। त्यो दिन सोमबार थियो, उनले आफ्ना सबै लेख अनि पत्रिकाको आगामी संस्करण पलङ्गमा राखेर बिते। पत्रिकालाई हठात् बन्द गर्नु उनको यादलाई अपमान गर्नु थियो किनकि उनले आफ्नो अंशको काम र जिम्मेवारी पूर्ण रूपले निभाएका थिए। आफू बितेपछि पनि बुबाले यस पत्रिकालाई जारी राख्न चाहन्थे कि?  भन्ने प्रश्नले हामीलाई सताइरहेको थियो। अहिले पनि हामीलाई त्यस प्रश्नको उत्तर थाहा छैन। उनले हामीलाई पनि कहिले बताएनन्।

साप्ताहिक पत्रिकासित जोड़िनु हुनेछ सोचेर के तपाईँ पत्रिकारितामा आउनु भएको थियो?

म यस प्रकारको कामका लागि बनिएकी थिइनँ। मैले पत्रकारिताको पढ़ाई सुरु गरेको समयमा नै मेरा बुबाले यो पत्रिका आरम्भ गरेका थिए। तब मसित सम्हाल्नका लागि प्रकाशन जस्तो केही थिएन। वास्तवमा म डाक्टर बन्न चाहन्थें। पछिबाट मैले पत्रकारिताको बाटो चुनेँ। यी बीस वर्षमा मैले पत्रिकाका लागि केवल एकपल्ट लेखेँ। मैले जानी बुझी पत्रिकासित दुरी बनाएकी थिएँ कारण यो पत्रिका तीव्र आलोचनात्मक पत्रकारिताका लागि जानिन्छ तर मैले भने व्यावसायिक अङ्ग्रेजी पत्रकारिता गरिरहेकी थिएँ।

पत्रिकाका लागि तपाईँको आगामी योजनाहरू के के छन्?मेरा बुबाले आफ्नो अन्तिम श्वाससम्म यस पत्रिकालाई मार्गदर्शन गरे। गत केही सालदेखि जब उनको स्वास्थ्य बिग्रिन थाल्यो तब पत्रिकाको पाठक सङ्ख्या घट्न थाल्यो। म पुन ती पाठकहरूसमक्ष पुग्ने कोसिस गर्नेछु।

तपाईँको बुबालाई लगातार मार्ने धम्की आइरहन्थे। उनको विरुद्ध विभिन्न मुद्दाहरू पनि चलिरहे। उनले कहिले त्यसबारे ध्यान दिएनन्। तपाईँ युवा महिला हुनुहुन्छ अनि बेङ्गलोर एक्लै बस्नुहुन्छ। के तपाईँ त्यस प्रकारको दबाउ सहन गर्न तयार हुनुहुन्छ?

जति मानिसहरूले मेरा बुबाको विरुद्ध मुद्दा हालेका छन् त्यसभन्दा कैयन् ज्यादा मानिसहरू उनीसित खड़ा छन्। कारण के भने ती मानिसहरूलाई मेरा बुबा सही छन् भन्ने थाहा छ। म यस साप्ताहिकको झुझारुपन कायम राख्दै व्यावसायिक ढङ्गमा पत्रिकालाई चलाउन चाहन्छु। मलाई के लाग्छ भने यस्तो स्थितिमा महिला हुनु पनि आफ्नै फाइदा छ। यदि हाम्रा कोही पत्रकारले मेरा बुबासित रिसाएका राजनेतालाई भेट गर्छन् भने उनले मेरा बुबाप्रति अपशब्द व्यवहार गर्न सक्छन्। तर महिलासित अपशब्द बोलेको खण्डमा उनले समाजमा आफ्नै गरिमा र सम्मान हराई पठाउने छन्। त्यसकारण महिला हुनु नै अहिले मेरो सुरक्षा हो।

निश्चय महिला हुनुको कारण तपाईँलाई मानिसहरूले अपशब्द प्रयोग गर्न सक्तैनन् तर महिला हुनुको कारण सजिलै शारीरिक आक्रमण गर्न सक्छन्। जसरी तपाईँको बुबासित समय समयमा तिनीहरूले गरे। तिनीहरूलाई आक्रमण गर्नु कुनै कठिनाइ हुने छैन कारण तपाईँ एक्लै बस्नुहुन्छ।

शारीरिक आक्रमणसित म एकदमै डराउदिनँ। केही दिनअघिसम्म लगातार म राति तीन बजी घर आउने गर्थेँ। म एउटा घटनामा मात्र रोकिएकी थिएँ जब साड़ीमा लपेटिएको एकजना व्यक्ति सड़कबीच लम्पसार परेका थिए। अहिले म घर नपुगिन्जेल आफ्ना वाहन चालकलाई साथमा राख्ने गर्छु। त्यसबाहेक मलाई आजसम्म धम्कीपूर्ण फोन आएको छैन। हो, मेरो व्यक्तिगत जीवनसित सम्बन्धित विषयहरूमा मलाई ब्ल्याकमेल गर्न चाहने स्थानीय पत्रिकाहरूबाट फोन अवश्य आउँछन्। मैले जे लेख्न मन लाग्छ लेखिदिनु भनिदिएपछि अहिले त्यो पनि बन्द भएको छ। मैले यस्तो कुनै कार्य गरेको छुइनँ जसको मलाई डर छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया