जिएमसीसीको औचित्यमाथि उठ्यो प्रश्नः चुलियो राष्ट्रिय तहको समिति पुनर्गठनको माग

कालेबुङः कालेबुङको मेनरोडमा दुइवटा कार्यक्रम चलिरहेको थियो। एउटा गोर्खा जनमुक्ति मोर्चाको अर्को जन आन्दोलन पार्टीको।

मोर्चाका नेताहरू भन्दै थिए, ‘किन एकलाएक्लै कार्यक्रम गर्दैछ? जनताले असली र नकल्ली आन्दोलनकारी दल चिन्नुपर्छ। मोर्चालाई चिड्याउन राज्य सरकारसित मिलेर जापले एक्लै कार्यक्रम गरिरहेको छ।’

जापका नेताहरू भन्दै थिए, ‘हामी जिएमसीसीमा हुँदाहुँदै बैठकहरूमा जाँदा किन छुट्याउँदैछ? जबसम्म सबै दललाई साथमा लाँदैन तब कुनै उपलब्धी हासिल हुँदैन।’

कालेबुङमा मात्र होइन पहाडभरि नै दलहरू एक्लाएक्लै कार्यक्रम गरिरहेका छन्। उनीहरू अनुसार एकै ठाउँ कार्यक्रम गर्ने माहौल नै छैन। मोर्चाले जिएमसीसीलाई कुँजे बनाइरहेको छ अनि इमान्दार दलहरूलाई जिएमसीसीबाट बाहिर राखेर एक्लै काम गरिरहेको छ।

बुद्धिजीवीहरू, सचेत र शिक्षितहरू भने यी सम्पूर्ण अव्यवस्थित परिस्थितिको दोषी केवल जीएमसीसी नै रहेको बताउँछन्। जीएमसीसीमा जबसम्म मोर्चा हाबी छ, तबसम्म कनै पनि दलले एउटै मञ्चमा आउन सक्दैन।

मोर्चाले नै आन्दोलनमा एकलकाँटे निर्णयहरू गरिरहेको छ। कुनै पनि रणनीति तयार गर्न जिएमसीसीलाई मोर्चाले नै दिइरहेको छैन। जब कि आन्दोलनलाई समन्वय गर्न राजनैतिक, गैर-राजनीतिक सङ्गठनहरूको जिएमसीसी बनाइएको छ, तर अहिले जिएमसीसीमा यस्ता दलहरूमात्र सामेल छ, जो मोर्चापक्षीय दलहरू हुन्।

त्यसमा पहिलो नम्बरमा क्रामाकपा, दोस्रो गोरानिमो रहेको छ। क्रामाकपा आफै केही गर्न नसक्ने र मोर्चाको यसम्यान दल हो भने गोरानिमो जनाधार वा जनता नभएको दल हो। मोर्चाले उनीहरूको पक्षमा रहेको दललाई चेपेर अरूलाई बाहिर राख्ने काखे चेपाई काम गरेको कारण विस्तारै जिएमसीसीबाट दलहरूको मोहभङ्ग भइसकेको छ।

मोर्चाका नेताहरूलाई पानी खेदो गर्नु, विनय तामाङहरूले मोर्चालाई धोका दिनु, जिएमसीसीले कुनै रणनीति तयार नपार्नु जम्मै मोर्चाकै गैजजिम्मेवारीको कारण भइरहेको सबैले अनुभव गरिरहेको छ।

‘जिएमसीसी दुर्बल रहेको कारण नै यी जम्मै समस्या निर्माण भएको हो,’ जिएमसीसीकै घटक रहेको युजिआरएफ नेता अजय दाहाल भन्छन्, ‘जिएमसीसी दुर्बल हुनु भनेको राज्यलाई चलखेल गर्ने ठाउँ दिनु हो, जानीबुझी राज्य सरकारलाई चलखेल गर्न दिइने काम भइरहेको छ।’

दाहालले जिएमसीसीको अनेकौं बैठकहरूमा सहभागी दिइसकेका छन्। उनको अनुभवमा जिएमसीसी रणनीति निर्माणमा स्वतन्त्र नै छैन।

‘जिएमसीसी बाँचेमात्र आन्दोलन बाँच्छ,’ दाहाल भन्छन्, ‘तर जिएमसीसीमा सबैलाई समेटेर ठूला नेताहरूले नेतृत्व गर्नुपर्छ।’

भारतीय गोर्खा परिसङ्घले पनि जिएमसीसीलाई नै दोष्याएको छ। जिएमसीसीले सबैलाई लिएर सामुहिक कार्यक्रमको रणनीति तयार पार्न नसक्नु नै जम्मै समस्याको जड रहेको भागोप राष्ट्रिय अध्यक्ष सुखमन मोक्तानको ठहर छ।

‘वार्ता गर्दा स्टेयरिङ कमिटीका दलहरूलाई किन महत्व दिइँदैन र केही दलका नेताहरूलाई लिएर मात्र काम गरिन्छ? सोच्नुपर्ने कुरा यहीँ छ,’ मोक्तान भन्छन्, ‘अब यस्तो पाराले हुँदैन। आन्दोलनलाई इमान्दारसित अघि बढाउनु हो भने जिएमसीसीलाई दह्रो बनाउन अनिवार्य छ।’

जन आन्दोलन पार्टीका डा. हर्कबहादुर छेत्रीको पनि भनाई यही छ।

‘गोजमुमोले जिएमसीसीलाई सम्पूर्ण नेतृत्व दिएर ठिकसित चल्यो भने गोर्खाल्याण्डको माग अघि लान सक्ला नत्र जिएमसीसीलाई बन्द गरेर मोर्चाले नै आन्दोलन लिड गरे पनि हाम्रो भन्नु केही छैन’-छेत्री भन्छन्, ‘ जिएमसीसीले कुनै पनि दिन अलग राज्यसित बढ्ने दिशातिर कार्यक्रम गऱ्यो भने हामी त्यहाँ नबोलाई पनि जान्छौँ तर बोलाएर पनि गोर्खाल्याण्डको निम्ति  एक पाइला अघि नबस्ने कार्यक्रम गरे हामी त्यहाँ समय बर्वाद गर्दैनौँ।’

सीके श्रेष्ठ, विष्णु छेत्री, किरण बिके, डा. महेन्द्र पी लामा, बन्दना राई, अमर लामालगायत सबै राजनैतिक अराजनैतिक दलका प्रतिनिधिहरू जिएमसीसीलाई दवाबमुक्त र राष्ट्रिय समितिमा रुपान्तर गरेमात्र आन्दोलन अघि बढाउन सक्ने बताउँछन्।

यदि सबैलाई समेटेर जिएमसीसी अघि नबढे, जिएमसीसीबाट दलहरू आफै बाहिर निस्किने स्पष्ट भइसकेको छ। मोहभङ्गकै कारण दलहरू एक्लाएक्लै कार्यक्रमहरू गरिरहेको छ।

देशभरिका ठूला बौद्धिक, नेता र व्यक्तित्वहरूलाई समेटेर जिएमसीसीलाई राष्ट्रिय समिति बनाउनु अनिवार्य रहेको त सबैले बताइरहेकै छन्, तर यसको लागि पहल भने कसैले गरेका छैनन्।

के यसको निम्ति मोर्चाले नै सबैलाई आह्वान गर्नुपर्ने हो त? कि सबै दलहरूको बैठक गरेर यसबारे छलफल गर्ने? भन्ने प्रश्न त उठिरहेकै छ।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन