दार्जीलिङमा भएन जुलूस-जनसभाः खरसाङको एसबीआई खोलियो, रहल ठप्पै

दार्जीलिङः दार्जीलिङमा आज गोर्खाल्यान्डको लागि नारा-जुलूस हुनै सकेन। दार्जीलिङ रेलवे स्टेशनमा बिहानदेखिनै व्यापक पुलिस बल तैनाथ रहेको कारण गोर्खाल्यान्ड समर्थकहरुले आज जुलूस शुरू गर्नै सकेनन्। यति मात्रै होइन, आज पुलिसले रेलवे स्टेशनमा अधिक मानिसहरुलाई भेला हुनै दिएन।

यसैले आज दार्जीलिङमा गोर्खाल्यान्डको जुलूस अनि जनसभा हुनै सकेन। ज्ञात रहोस्, गोर्खा जनमुक्ति मोर्चा अनि क्रामाकपा समर्थकहरुले दैनिकरूपमा रेलवे स्टेशनबाट जुलूस निकाल्ने गर्थे अनि गोर्खाल्यान्डको मागमा नाराबाजी गर्दै शहरको परिक्रमा गरेपछि चौकबजारमा प्रत्येक दिननै जनसभा गरिरहेका थिए।

तर हिजो पहाड़ बन्दको 86औं दिनमा पुलिसले चौकबजारमा भइरहेको जनसभा स्थलमा बसिरहेका जनतामाथि लट्ठीचार्ज अनि टीयर ग्यास पड़्काएको थियो। जसको चपेटमा परेर धेरै महिलाहरु घाइते भएका छन् भने पुलिसले 7 जना गोजमुमो समर्थकहरुलाई पक्राउ पनि गरेको छ।

यसपछि आज पुलिसले दार्जीलिङमा जुलूस अनि जनसभा हुनै दिएन। तर यसको ठीक अर्कोतिर पुलिसको कठोर परिश्रम अनि मेहनतपछि पनि खरसाङ शहर आज पूर्णरूपले बन्दनै रह्यो। हिजो राती 8 देखि 9 बजीसम्म अनि आज पनि बिहानैदेखि पुलिसले माइकिङ गरेर शहरका दोकानहरु, यातायात सेवा, स्कूल, सरकारी कार्यालय आदि खुल्ला राख्ने अपील गरे पनि खरसाङको स्टेट व्याङ्कबाहेक अन्य केही पनि खुल्न सकेन। तर यस व्याङ्कमा कर्मचारीहरुको उपस्थिति नगण्य देखिएको थियो भने लगभग तीन महीना बन्द भएको कारण यो व्याङ्क खोलिएर पनि यसमा कुनै काम हुन सकेन।

खरसाङका एसडीपीओ पिनाकी दत्तले खरसाङका व्यवसायीवर्ग, गाड़ी चालकहरुलाई दोकान, गाड़ी खुल्ला राखिए पूर्ण सुरक्षा प्रदान गर्ने आश्‍वासन दिएका थिए, तरै पनि खरसाङका सम्पूर्ण बजार आज दिनभरिनै ठप्पै रह्यो भने यातायात सेवा केही मात्रामा चल्न सम्भव भयो। यसरीनै अर्कोतर्फ पुलिस प्रशासनले मिरिक, गाड़ीधुरा आदि बजारहरुलाई पनि गत केही दिनदेखि खुल्ला राख्ने प्रयास गरिरहेको छ। तर आज बिहान गाड़ीधुरामा लगभग 6 वटा दोकान खोलिएको देखियो भने दूधे बजार पूर्णरूपले बन्दनै थियो।

यसबाहेक मिरिक बजारमा आज बिहान केही राशिन दोकानहरू खुल्ला भए पनि लगभग 10 बजीपछि ती दोकानहरु पुनः बन्द भए। यसरीनै गोरूबथान बजार आज पहाड़ बन्दको 87औं दिन पनि पूर्णरूपले ठप्पै रह्यो। यसैबीच, गोरूबथान, मिरिक आदि क्षेत्रमा गोर्खाल्यान्डको मागमा सधैं जस्तै गोर्खाल्यान्ड समर्थकहरु सड़कमा ओर्लिएर जुलूस निकाले अनि पथसभा पनि गरे। यी स्थानहरुमा गोर्खाल्यान्डको लागि भइरहेका जुलूस अनि पथसभाहरुमा कुनै बाधा दिने कार्य भएको छैन। तर दार्जीलिङमा आज गोर्खाल्यान्डको लागि निकालिने जुलूस, नाराबाजी अनि जनसभा हुनै पाएन।

दार्जीलिङमा जहाँबाट दैनिकरूपले जुलूस शुरू हुन्थ्यो, त्यसै स्थानमा बिहानदेखि पुलिस बल तैनाथ गरिएको कारण जुलूस शुरू हुनै सकेन। जुलूसमा सहभागी बन्न आउने गोर्खाल्यान्ड समर्थकहरुलाई पुलिसले लखेटेपछि पहाड़ बन्दको 87औं दिन प्रथमपल्ट दार्जीलिङमा गोर्खाल्यान्डको नारा बुलन्द हुन सकेन।

तरै पनि दार्जीलिङ शहर ठप्पै बनिरहेको छ, यातयात सेवा अचल छ, स्कूल-कलेज बन्द छन्, चियाबगान जंगलमा परिणत भइसकेका छन् भने आम जनता गोर्खाल्यान्डकै समर्थनमा बसिरहेका छन्। यसैले पहाड़ कहिले शान्त बनिन्छ अनि पहाड़ कहिले खुल्ला बन्छ भन्ने उत्सुकता प्रत्येक गोर्खाल्यान्डप्रेमी जनतासितै पुलिस, जिल्ला प्रशासनको पनि छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन