नगरपालिका चुनाउलाई विमलले दिए गोर्खाल्यान्ड बनाम बङ्गालको संज्ञा

  • मोहन लामा, दार्जीलिङ

गोजमुमोको लड़ाई दार्जीलिङ हिल तृणमूल कङ्ग्रेसका नेताहरु विरूद्ध होइन, एनबी खवास, राजेन मुखिया, शारदा राई सुब्बा गोजमुमोका शत्रुहरू होइनन्, तर गोजमुमोको लड़ाई गोर्खाल्यान्ड हुनै दिन्न भन्ने तृणमूल कङ्ग्रेस नेत्री ममता व्यानर्जी विरूद्ध हो।

गोर्खा जनमुक्ति मोर्चाले यसपालिको नगरपालिका चुनाउलाई गोर्खाल्यान्ड बनाम बङ्गालबीचको लड़ाईको संज्ञा दिएको छ। यसैले गोजमुमोले यस चुनाउमा गोर्खाल्यान्डको पक्षमा वा गोर्खाल्यान्ड हुनै दिन्न भन्ने बङ्गालको पक्षमा मतदान गर्छन्, त्यसको निर्णय गर्ने जिम्मेवारी स्वयं जनताको काँधमा छोड़िदिएको छ। आज यहाँको वार्ड नम्बर 17 -का जनतालाई सम्झाउने अनि मनाउने उद्देश्यलेनै गोजमुमो अध्यक्ष विमल गुरूङले यहाँको लुइस जुब्ली परिसरस्थित हरिमोहन हलमा एक चुनावी सभाको आयोजना गरेका थिए। यसै सभालाई सम्बोधन गर्दै गुरूङले भने-गोर्खा जनमुक्ति मोर्चाले जातीय उन्मुक्तिको लागि सङ्घर्ष गरिरहेको छ अनि जातीय उन्मुक्तिको लागिनै यस पार्टीको गठन भएको हो।

गोजमुमोले पाइखाना, घरको राजनीति गरेको छैन, तर बङ्गालको सत्तारूढ़ दल तृणमूल कङ्ग्रेसले घर, पाइखाना आदिको राजनीति गरेर सिङ्गो गोर्खा जातिलाई विभाजन गर्ने कार्य गरिरहेको छ। गोर्खाल्यान्डको मागलाई कमजोर बनाउन अनि यो माग सदाको लागि मरेर जाओस् भन्ने उद्देश्यलेनै तृणमूल कङ्ग्रेसले पहाड़मा विकास बोर्डको पनि राजनीति गरिरहेको छ। जात-जातलाई विभाजन गरिरहेको छ, यसैले गोजमुमोले विभाजित बनिसकेको यस जातिलाई पुनः एकताको सूत्रमा बाँध्ने कार्य गरिरहेको छ। यसैले गोजमुमोले यसपालिको नगरपालिका चुनाउलाई गोर्खाल्यान्ड बनाम बङ्गालको संज्ञा दिएको हो। अब पहाड़का जनताले गोर्खाल्यान्डको मागलाई सदाको लागि मास्ने षड़्यन्त्रकारी तृणमूल कङ्ग्रेसको पक्षमा मतदान गर्नेछन् वा गोर्खाल्यान्डको लागि सङ्घर्ष गर्ने गोजमुमोको पक्षमा मतदान गर्नेछन्, यसको निर्णय लिने जिम्मा स्वयं जनताको हो। तर यसै चुनाउमा पहाड़का जनताले गोर्खाल्यान्ड विरोधी पार्टीलाई उचित जवाब पनि दिनुपर्छ।

यस वार्डमा उम्मेद्वार विषय लिएर भएको विवाद समाप्त भएको अनि सबैले गोजमुमोबाट खड़ा भएका रामजन गोलेको पक्षमानै मतदान गर्ने सहमति जनाएको बताउँदै उनले अझ भने- हामी आफैले विवाद सृजना गरेर गोर्खाल्यान्ड विरोधी पार्टीलाई फाइदा पुग्ने काम गर्नु हुँदैन। दार्जीलिङ पहाड़मा तृणमूल कङ्ग्रेसले स्वार्थको राजनीति गरिरहेको छ, यदि दार्जीलिङ पहाड़मा तृणमूल कङ्ग्रेस व्यापकरूपमा फैलियो भने यहाँबाट गोर्खाल्यान्डको माग सदाको लागि हराएर जानेछ भन्ने तृणमूल कङ्ग्रेस नेत्री ममता व्यानर्जीको सोंच अनि परिकल्पना छ। यसैले उनको यस परिकल्पनालाई सफल हुन दियौं भने भावी दिनमा गोर्खा जातिको अस्तित्वनै समाप्त भएर जानेछ। यस विषयमाथि पहाड़का जनताले गम्भीरतापूर्वक मनन गर्नुपर्छ। विमल गुरूङसित बद्ला लिन्छु, विमल गुरूङको राजनैतिक धरातल पूर्णरूपले नष्ट पार्छु भनेर जति पनि पहाड़का जनता अनि नेतृत्वहरुले तृणमूल कङ्ग्रेसको झण्डा समातेका छन्, उनीहरुले समग्र गोर्खा जातिमाथि धोका दिंदैछन्। यसैले गोर्खे सन्तानले आफ्नै जातिमाथि घात पर्ने राजनीति कदापि गर्नु हुँदैन, यसैले यसपालिको नगरपालिका चुनाउमा गोर्खाल्यान्ड विरोधी शक्तिलाई गतिलो जवाब दिनुपर्छ।

उनले भने-गोजमुमोको लड़ाई दार्जीलिङ हिल तृणमूल कङ्ग्रेसका नेताहरु विरूद्ध होइन, एनबी खवास, राजेन मुखिया, शारदा राई सुब्बा गोजमुमोका शत्रुहरू होइनन्, तर गोजमुमोको लड़ाई गोर्खाल्यान्ड हुनै दिन्न भन्ने तृणमूल कङ्ग्रेस नेत्री ममता व्यानर्जी विरूद्ध हो। जसले गोर्खा जातिलाई जात-जातमा विभाजन गरे यो जाति स्वतः कमजोर भएर जानेछ अनि दार्जीलिङ पहाड़बाट फेरि कहिले गोर्खाल्यान्ड आवाज उठ्नेछैन भन्ने सोंच पालेकी छन्।

यसैबीच, उनले वार्ड नम्बर 17-मा उम्मेद्वार चयन विषय लिएर निकै विवाद भएको स्वीकार गर्दै आज यसै विषयमा वार्डवासी जनतालाई सम्झाउन आफू यस वार्डमा आएको पनि बताए। उनले उम्मेद्वार चयनको क्रममा आफूले वार्डवासी जनतासित कतिपय अमिठो बोली बोलेकामा क्षमा पनि माग्दै भने-दार्जीलिङ पहाड़का चारवटा नगरपालिकाका उम्मेद्वार छान्ने भार अनि जिम्मेवारी म-माथि थियो, यस्तोमा मेरो अवस्था कस्तो थियो भन्ने सबैले अनुभव गरेका छन्। यसैकारणनै यस वार्डमा अन्य वार्ड निवासी रामजन गोलेलाई उम्मेद्वार बनाउन परेको हो।

उनले सभालाई सम्बोधन गर्दै कुनै पनि स्थितिमा गोर्खाल्यान्ड विरोधी तृणमूल कङ्ग्रेस पार्टीलाई समर्थन जनाउन नहुने अनि यस पार्टीका उम्मेद्वारहरुको पक्षमा मतदान गर्न नहुने पनि आह्वान गर्दै तृणमूल कङ्ग्रेस पार्टीलाई उचित जवाब दिने समय यही हो भने।

उनले भने-यो चुनाउ बङ्गाल सरकारको पहाड़ अनि गोर्खा विरोधी षड़्यन्त्रलाई विफल बनाउने चुनाउ मात्रै नभएर गोर्खा जातिलाई एकताको सूत्रमा बाँध्ने चुनाउ पनि हो। यसैले यस चुनाउलाई गोजमुमोले गोर्खाल्यान्ड बनाम बङ्गालको संज्ञा दिएको हो। यसैबीच, आज गोजमुमो अध्यक्ष विमल गुरूङले वार्ड नम्बर 9, 10 आदि वार्डहरुको पनि भ्रमण गरे अनि यी सबै वार्डहरुमा चुनावी सभाहरुको पनि आयोजना गरे।

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया