दिल्लीमा जीएसएसएस र मोर्चाबीच झडपः मोर्चाले तोड्यो शहिदका प्रतिकात्मक शवः मोर्चा नेताहरू पक्राउः

कालेबुङः गोर्खाल्याण्ड संयुक्त सङ्घर्ष समितिले आज जन्तरमन्तरमा विभिन्न राज्यबाट आएका लगभग 700 भन्दा अधिक गोर्खाल्याण्ड समर्थकहरूको सहभागितामा महाअनशन सम्पन्न गऱ्यो।

महाअनशन बाहेक पनि जीएसएसएसले 11 जना शहिदहरूको प्रतिकात्मक शव लिएर सडकमा परिक्रममा पनि गऱ्यो। सबै ठिकठाक चलिरहेको थियो, तर जब जीएसएसएसको शव यात्रालाई पुलिसले रोक्यो, तब गोर्खाल्याण्ड समर्थकहरूले उनीहरूको निम्ति लगाएको व्यारिकेट हल्लाएर विरोध प्रदर्शन गरे।

यसैबीचमा जीएसएसएस कार्यकर्ता अनि गोर्खाजनमुक्ति मोर्चाका कार्यकर्ताबीच झडप भयो। एकैक्षण स्थिति तवाउपूर्ण बन्यो।

‘हाम्रो शव यात्रामा विमल गुरूङको चित्रको छापा रहेको मोर्चाको झण्डा लिएर दिल्लीका मोर्चा कार्यकर्ताहरू पनि छिरे, यसो हुँदा जीएसएसएसको सिद्धान्त सही मानेर आएका गोर्खाल्याण्ड समर्थकहरू रिसाए,’ जीएसएसएस अध्यक्ष किरण बिकेले घटनाबारे खबरम्यागजिनलाई बताए, ‘हामी आन्दोलनलाई राष्ट्रियरूप दिने प्रयासमा निरन्तर सङ्घर्ष गरिरहेका छौं, यो आन्दोलन जनान्दोलन हो मोर्चाको आन्दोलन होइन तर उनीहरू पार्टीको झण्डा लिएर हाम्रो कार्यक्रम विथोल्न पसेपछि यो झडप भएको हो।’

यता गोर्खा जनमुक्ति मोर्चा दिल्ली शाखाका नेता मनोज शङ्करले भने अर्कै वयान दिएका छन्। उनले आफूहरू जीएसएसएसको कार्यक्रमलाई सहयोग गर्न गएको थियो। जतिबेला झडप भयो उतिखेर सोही ठाउँमा मोर्चा कार्यकर्ताहरूले बङ्गभवन घेराउ गरिरहेको थियो।

‘रोडजाम गर्ने हाम्रो कार्यक्रम थियो,’ मनोजले भने, ‘तर हाम्रो कार्यक्रममा उनीहरूले बाधा हाल्दा यो झडप भएको हो।’

मनोज शङ्कर अनुसार जीएसएसएसको शव यात्रा चलिरहँदै अर्को किनारमा मोर्चाको सडक जाम गर्ने कार्यक्रम चलिरहेको थियो। तर शव यात्रीहरूले उनीहरूको झण्डा खोस्ने काम गऱ्यो।

किरण बिके अनुसार मोर्चाको कुनै पनि कार्यक्रम थिएन, उनीहरूको कार्यक्रममा बाधा दिने उद्देश्यले नै उनीहरू 10/12 जना त्यहाँ पुगेका थिए।

किरण बिकेले जनाए अनुसार जीएसएसएसले आन्दोलनलाई कुनै एउटा दलको पेवा हुनबाट जोगाएर यसलाई राष्ट्रिय मुद्दा र आन्दोलनकोरूपमा स्थापित गर्ने प्रयास गरिरहेको छ, तर दिल्लीका मोर्चा कार्यकर्ताहरूले बारम्बार उनीहरूको यसप्रकारको पहलमा बाधा दिँदै आइरहेका छन्।

सडकमा दुवै समूहबीच झडप भएपछि मनोज शङ्करलगायतका टोलीलाई दिल्ली पुलिसले पक्राउ गऱ्यो। तर केहीक्षणमा उनीहरूलाई पुलिसले रिहा गरिदियो।

रिहा हुने वित्तिकै फेरि उनीहरू जन्तरमन्तर पुगे। जहाँ जीएसएसएसले दार्जीलिङको आन्दोलनमा शहिद हुनेहरूको प्रतिकात्मक शव बनाएर राखेका थिए, जसलाई देखाएर उनीहरूले निरन्तर शहिदको रगत कसैले भुल्न नहुने र उनीहरूको सपना पुरा गर्न आन्दोलनलाई राष्ट्रियरूप प्रदान गर्ने आह्वान गर्दै आइरहेका छन्।

‘मोर्चा कार्यकर्ताहरू मातेका थिए, उनीहरूले जन्तरमन्तर पसेर हाम्रा शहिदका शवहरू ल्याङफ्याङ पारिदिए,’ किरण बिकेले भने, ‘ती शहिदहरू, जसले यो आन्दोलनमा आफ्नो रगत दिएका छन्, समग्र गोर्खाहरूको सपना साकार पार्न छातीमा गोली थापेका छन्, उनीहरूकै शव कुल्चिमिल्चि गरे, ल्याङफ्याङ पारे, यसैबाट थाहा हुन्छ, मोर्चा आन्दोलनले राष्ट्रियस्वरूप प्राप्त होस् भन्ने पक्षमा छैन। यसै कारण विमल गुरूङले आफ्ना समर्थकहरू लगाएर हाम्रो अभियान बिथोल्ने प्रयास गरिरहेका छन्।’

यता मनोज शङ्करले भने आफूहरू जन्तरमन्तर आफ्ना गाडी लिन गएको तर त्यसैबेला मोर्चाकी एक गर्भवती महिलामाथि जीएसएसएसका कार्यकर्ताहरूले हातपात गर्दा तनाउ सिर्जना भएको बताएका छन्।

‘उत्तमकुमार छेत्रीले गर्भवती महिलालाई कुटपिट गऱ्यो, यसो हुँदा हाम्रा समर्थकहरू उत्तेजनामा आए,’ मनोज शङ्करले भने, ‘हामी आफ्नै झण्डामा किन नहोस्, तर गोर्खाल्याण्डको निम्ति नै लडिरहेका छौं, तर जीएसएसएस कार्यकर्ताहरूले हाम्रो कार्यक्रमलाई बाधा दिइरहेका छन्।

यद्धपि जन्तरमन्तरमा मोर्चाका कार्यकर्ताहरूले दादागिरी देखाएको आरोपमा जीएसएसएसले उनीहरू विरुद्ध प्राथमिकी दर्ता गरेपछि मनोज शङ्कर, राकेश थापा, लोक्पा टासो, निशा लामालगायत 7 जनालाई पुलिसले पक्राउ गरेको छ।

 

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन