विमल-विनय नाटकको भयो पर्दाफासः आन्दोलन थन्काउन मोर्चा सफलः जनता हतोत्साहित

विश्लेषण


अहिले विमल गुरूङ अनि विनय तामाङको द्वन्द्वले नाटकबाजीकोरूप लिइरहेको छ। केही सचेतहरू अनुसार विमल-विनय नाटकले मोर्चालाई धेरै फाइदा मिलेको छ।

अहिले चलिरहेको अस्थिरताले विमल-विनयको नाटकको पर्दाफास गरिसकेको छ।

29 अगस्तको नवान्नको बैठकपछि गोरामुमोको चलखेल समाप्त भएको छ भने जाप किनारा लागिसकेको छ।

कालेबङको मेन रोडमा अचेल दुइवटा कार्यक्रम हुन्छ, एउटा गोर्खा जनमुक्ति मोर्चाको, अर्को जन आन्दोलन पार्टीको।

मोर्चाका नेताहरू भन्छन्, ‘जाप सरकारसित मिलेको छ र त बन्द खोलाउने पक्षमा छ।’

जापका नेताहरू भन्छन्, ‘जिएमसीसीलाई जानिबुझी दुर्बल बनाउने मोर्चा हो र त कुनै रणनीति तयार पार्न दिँदैन।’

मोर्चाको कार्यक्रमको मञ्चमा क्रामाकपाको पनि सहभागिता हुने गरेको छ। क्रामाकपाले जीएमसीसीलाई बलियो बनाउने कुरा गर्दैन, बरू जापका नेताहरूलाई गाली गर्छ।

क्रामाकपा भन्छ, ‘जापले क्रामाकपाको इमान्दारितामाथि शङ्का नगरोस्, क्रामाकपा इमान्दार दल हो।’

कालेबुङका जनसभाहरू गाली गर्ने मञ्च बनिसकेको छ। जहाँ मोर्चा र क्रामाकपाका नेताहरूले जमेर पहाडका दलहरूलाई गाली गर्छन्। तर उनीहरूले आन्दोलनलाई बलियो रणनीतिसित कसरी अघि बढाउनु? जिएमसीसीलाई राष्ट्रिय समिति कसरी बनाउनु, यसबारे बोल्दैनन्।

जिएमसीसीले कालेबुङमा कुनै पनि कार्यक्रम गरेको छैन। मोर्चाकै कार्यक्रममा जीएमसीसीका अजय दाहाल, क्रामाकपा र गोजमुमोका कालेबुङे नेताहरूले आफ्नो कुण्ठा र गाली पोख्छन्।

गोरामुमोले कालेबुङमा अहिलेसम्म एउटै पनि कार्यक्रम गरेको छैन।

गोरामुमोका नेताहरू भन्छन्, ‘जिएमसीसीको मञ्च हुनु हो भने सहभागिता दिने थियौँ, तर मोर्चाको मञ्चमा सहभागिता दिने छैनौं।’

नवान्नको बैठकमा जन आन्दोलन पार्टी र गोरामुमो दुवै गएको थियो, तर 12 को उत्तरकन्याको बैठकमा उनीहरू जानेनजाने कुरामा अन्योलमा छन्।

तर 12-को बैठकमा मोर्चाको दुवै गुट बस्ने कुरामा हान्थाप चलिरहेको छ। यहाँसम्म कि विमल गुरूङ र विनय तामाङ दुवैको गुटले डा. आरबी भूजेलको नाम वार्तामा जाने प्रतिनिधिकोरूपमा सार्वजनिक गरेर सबैलाई अचम्ममा नै पारेको छ।

अहिले आर.बी.भूजेललाई केवल प्रतिनिधि होइन, विमल-विनय नाटक समन्वय गर्ने मूल पात्रकोरूपमा हेर्न थालिएको छ। जिएमसीसीमा नै रहेको एक सङ्गठनका सदस्य भन्छन्, ‘वास्तवमा यी सारा चलखेल जिएमसीसीलाई आन्दोलनको नेतृत्व दायित्वबाट निकालेर मोर्चाले नै नेतृत्व गर्ने खेलको नमूना हो।’

उनी अनुसार जिएमसीसी गठन गर्नु मोर्चाको राजनैतिक वाध्यता थियो। जनताले आन्दोलन आफ्नो हातमा लिएपछि मोर्चा गाह्रोमा परेको हो।

यसकारण जनतालाई थकाउन मोर्चासित कुनै विकल्प थिएन। तर जुन कुरामा जनताले भरोसा गर्छ, उसैलाई कमजोर बनाइए त्यही जनता थकाउने राम्रो हतियार हुने देखेर नै जिएमसीसीलाई मोर्चाले कमजोर बनाएको हो।

‘जनता जिएमसीसीले आन्दोलनलाई नेतृत्व गर्छ भन्ने विश्वासमा थियो। तर मोर्चाका नेता विनय तामाङले जिएमसीसीलाई बलियो रणनीति बनाउनबाट सधैँ रोक्यो,’ उनी भन्छन्, ‘यता घोषित कार्यक्रमहरूलाई स्थगित गर्ने काम विमल गुरूङले गरे। वास्तवमा विमल र विनय दुवै मिलेर नै जिएमसीसीलाई घरको न घाटको बनाए।’

यता गैरराजनीतिक सङ्गठनका एक सदस्यको भनाइ पनि उस्तै छ। ‘शुरुमा सबै सङ्गठनलाई जिएमसीसीमा लिइयो, ताकि कसैले अर्को पार्टी खोलेर आन्दोलनलाई अघि बढाउने मौका नपाउन्,’ उनले भने, ‘स्टेयरिङ कमिटी बनाएर गैरसरकारी सङ्गठनहरूलाई ‘आन्दोलनको स्टेगहोल्डर होइन’ भनियो, वास्तवमा यी सबै सामुहिकता तोड्ने र आफ्नो स्वार्थको लागि चरिएको नाटकमात्र थियो।’

जनआन्दोलन पार्टीले मोर्चाको यो चलखेल चाल पाएदेखि नै एक्लै कार्यक्रम गरिरहेको पनि उनको ठहर छ। यता गोरामुमोले सही रणनीति तयार पार्न नसकेको कारण ममता व्यानर्जीले झट्ट विश्वास गरिहाल्न नसकेको भएकैले विनय तामाङहरूमार्फत आन्दोलन नष्ट गर्ने उपाय निकालेका हुन्।

ममता सरकार र मोदी सरकार दुवैको सुझबुझमा नै मोर्चाले जम्मै कुटनीति आन्दोलन थकाउनको निम्ति नै गरेको बुद्धिजीवीहरूको मत छ।

आन्दोलन नै गर्छु भनेर आन्दोलन नगरेको र भाषाको कारण जनता आवेगमा आइदिएको र सोही आवेगले गोर्खाल्याण्डको मुद्दा पक्रिएकोले नै मोर्चालाई साह्रो परेको थियो।

तर अहिले मोर्चाले सबै कुरा सामान्य गरिसकेको छ। जिएमसीसीलाई नचल्ने दुवानी बनाइसकिएको छ। जाप र गोरामुमोलाई पर गरिसकिएको छ। क्रामाकपा र गोरानिमो मोर्चाको शुभचिन्तक रहेको र उनीहरू हानिकारक नरहेकोले उनीहरूसित मोर्चाले मित्रता कायम राखेको सचेतहरू बताउँछन्।

वास्तवमा नवान्न होस् वा उत्तरकन्या, दुवै बैठकमा जिएमसीसीका प्रतिनिधिहरू जानुपर्थ्यो। जिएमसीसीमा रहेका केही सचेत दलले यसबारे कोशिश पनि गरेकै हो तर मोर्चाको बलियो कुटनीतिको कारण जिएमसीसी वैठकमा जान सकेन।

अहिले वार्तामा जान मोर्चाकै दुइवटा गुटको खिचातानी छ। हेर्दा मोर्चा फुटेको छ, तर विमल गुरूङले आधिकारिकरूपमा विनय र अनितलाई पार्टीबाट निकालेको पत्र दिएका छैनन्, यसकारण विनय-अनित मोर्चामा नै छन्। केवल मिडियाबाट घोषणा मात्र गरेका छन्। बीचमा विमल गुरूङले अनित र विनयप्रति नरम व्यवहार देखाएर भोलि हुनसक्ने सम्भावित हानीलाई न्यूनिकरण गर्ने खेल गरेको समिक्षकहरूको ठनाई छ।

अब मोर्चाको दुवै गुटले वार्ता गर्नेछ। दुवै गुट मोर्चा कै गुट हो। अन्यको उपस्थिति नहुने भएकोले मोर्चाको दुवै गुटले ममता व्यानर्जीसित नयाँ कुटनीति तयार पार्ने राम्रो मौका पाउने देखिएको छ।

‘अब त्रिपक्षीय वार्ताको प्रक्रिया भन्दै दुवै सरकारका सचिवस्तरका अधिकारीहरूसित मोर्चाले बैठक गर्नेछ अनि बन्द खुलाउनेछ,’ एक सचेत यसो भन्छन्, ‘त्यसपछि वार्ताको प्रक्रियाले फेरि कनै न कुनै सम्झौताको परिस्थितिको निर्माण गर्नेछ। त्यसपछि फेरि आन्दोलन हुने छैन।’

मोर्चालाई अहिले कोही बाधा थियो भने त्यो केवल गोर्खाल्याण्ड संयुक्त सङ्घर्ष समिति थियो। तर त्यहाँ पनि पसेर मोर्चाले सारा भारतका गोर्खाहरूको भावनामा ठेस पुऱ्याएर हतोत्साही गर्ने रणनीति अप्नाइसकेको छ।

झारखण्डका एक आन्दोलनकारी भन्छन्, ‘गोर्खाहरूको गति देखाउन हामी जन्तरमन्तर गएका होइनौं। गोर्खाहरूको बद्नाम हने कार्यक्रममा सहभागी हुन सक्तैनौं।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन