दार्जीलिङमा सफा हुन थाल्यो तृणमूलको कार्यालय

दार्जीलिङः दार्जीलिङमा गोर्खाल्यान्ड आन्दोलन केही सेलाए जस्तो हुनसाथ तृणमूल कंग्रेस समर्थकहरुले आफ्नो पार्टी कार्यालय सफा गर्न थालिहाले। आज बिहानदेखिनै तृणमूल कंग्रेस दार्जीलिङ टाउन कमिटीका महासचिव ललित गुरूङको अगुवाईमा लगभग 15 जना तृणमूल कंग्रेस समर्थकहरुले यहाँको जजबजारस्थित पार्टी कार्यालय सफा गर्न शुरू गरेका थिए। यसबारे ललित गुरूङले भने-तृणमूल कंग्रेस दार्जीलिङ जिल्ला कमिटीको निर्देशअनुसारनै आज पार्टी कार्यालय सफा गरिएको हो, अब भोलिदेखि यो कार्यालय पूर्णरूपले खुल्ला रहनेछ अनि पार्टीमा नयाँ सदस्यहरु सामेल हुने भएका छन्।

उनले भने-गत 8 जूनको दिन स्थानीय गोर्खा रङ्गमन्च भवनअघि पुलिस र गोजमुमो समर्थकहरुमाझ भएको झड़पपछि जजबजारस्थित तृणमूल कंग्रेसको पार्टी कार्यालयमा पनि तोड़फोड़ अनि आगो लगाउने कार्य भएको थियो, जसको फलस्वरूप पार्टी कार्यालयमा लगभग 5 लाख मूल्य बराबरका सामग्रीहरु क्षतिग्रस्त भएका थिए। त्यसपछि यो कार्यालय खोल्न सक्ने अवस्था पनि थिएन अनि तीन महीनाभन्दा अधिक समयपछि आज यो कार्यालय खोलेर सफा गर्ने कार्य गरिएको हो।

यद्यपि, आज यो कार्यालय सफा गर्ने कार्य हुँदा कसैबाट पनि बाधा दिने कार्य भएन। यसैले अब पुनः दार्जीलिङमा तृणमूल कंग्रेसको चहल-पहल शुरू हुने स्पष्ट भएको छ। स्मरण गराइन्छ, गत जून महीनादेखि दार्जीलिङ पहाड़मा गोर्खाल्यान्डको आन्दोलन तीव्र बनेपछि तृणमूल कंग्रेसका धेरै समर्थकहरु पार्टी छोड़ेर अन्य पार्टीमा सामेल हुन बाध्य बनेका थिए भने खरसाङ र कालेबुङ नगरपालिकाका निर्वाचित तृणमूल कंग्रेस नगरपार्षदहरुले पनि तृणमूल कंग्रेस छोड़ेका थिए।

यति मात्रै होइन, दार्जीलिङ हिल तृणमूल कंग्रेसका धेरै शीर्ष नेताहरुले पनि पार्टीबाट राजीनामा दिएका थिए भने अन्य कैयौं नेताहरु दार्जीलिङबाटनै पलायन बनेका थिए। तर आजदेखि तृणमूल कंग्रेसको पार्टी कार्यालय सफा गर्ने कार्य शुरू भएपछि उनीहरुको दार्जीलिङ आउने बाटो पनि सफा भएको अनुमान लगाइएको छ।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन