राज्यसितको वार्तामाथि सबैको नजरः के खोलिन्छ पहाड़?

दार्जीलिङः पहाड़ बन्दको 90 दिनमा राज्य सरकारसित हुने दोस्रो द्विपक्षीय वार्तामाथि सम्पूर्ण पहाड़सँगै राज्य अनि देशभरि छरिएर बसेका गोर्खा समुदायको गिद्देनजर छ। पहाड़ बन्दको 90 दिन अर्थात 12 सितम्बर 2017-को दिन राज्य सरकारसित हुने वार्तामा पहाड़का विशेष गोर्खा जनमुक्ति मोर्चा, गोर्खा राष्ट्रिय मुक्ति मोर्चा, जनआन्दोलन पार्टी आदिका नेतृत्वहरुले भाग लिने भएका छन्, जसमा राज्यकी मुख्यमन्त्री ममता व्यानर्जीको पनि विशेष उपस्थिति रहनेछ।

गोजमुमो अहिले दुइ फ्याक भएको कारण गोजमुमोबाट दुइवटा अलग-अलग प्रतिनिधि दल हुनेछ, जसमा विमल गुरूङ गोष्ठीले 6 जना सदस्य पठाउने निर्णय लिएको छ भने विनय तामाङ गोष्ठीको पनि 6 जनानै सदस्यले यस वार्तामा भाग लिने भएका छन्। तर यस वार्तामा भाग लिने सबै पार्टीहरुलाई राम्ररी थाह छ, भोलिको यस वार्तामा पनि गोर्खाल्यान्डबारे कुनै चर्चा हुनेछैन अनि यी सबै पार्टीको मूल माग भने गोर्खाल्यान्डनै हो भनिरहेका छन्।

राज्यकी मुख्यमन्त्रीले गत 29 अगस्तको वार्तामानै गोर्खाल्यान्डको मागलाई सही हो भन्ने स्वीकार गरे पनि यस मागलाई कदापि समर्थन नजनाउने स्पष्ट अड़ान सार्वजनिक गरिसकेकी छन्। यसैले उक्त वार्तामा सहभागी बनेका पहाड़का राजनैतिक दलहरुलाई राज्य सरकारले पहाड़ बन्द खोल्ने अपील गरेकी थिइन्, तर पहाड़ अहिलेसम्म खुल्न सकेको छैन। उल्टा पहाड़ खोल्ने विषयलेनै गोजमुमो दुइ फ्याक भएको स्पष्ट छ।

राज्य सरकारसित वार्ता गरेपछि विनय तामाङ र अनित थापाले खरसाङमा एक जनसभा अनि गोजमुमो केन्द्रिय समितिको बैठक भनेर एउटा सभा गरेका थिए, उक्त सभापछि विनय तामाङले 1 सितम्बरदेखि 12 सितम्बरसम्म पहाड़ बन्द स्थगित हुनेछ भन्ने घोषणा गरेका थिए। तर विनय तामाङको उक्त घोषणा सार्वजनिक हुनसाथ दार्जीलिङ र खरसाङका जनताले विरोधमा आवाज उठाउन शुरू गरिहाले।

यसको केही समयपछिनै दिल्लीबाट गोजमुमो महासचिव रोशन गिरी, त्यसपछि गोजमुमो अध्यक्ष विमल गुरूङलेनै पहाड़ बन्द जारी रहन्छ भन्ने बयान जारी गरेपछि एकाएक गोजमुमोमा विमल गुट र विनय गुटमा विभाजन आयो। यसपछि यी दुइ गुटमाझ एकार्काको आलोचना गर्ने, पोल खोलाखोल गर्ने प्रक्रिया शुरू भयो।

यी दुइ गुटमाझ शुरू भएको विवादले गोर्खाल्यान्डको मुद्दानै पछिल्तिर धकेलिएर गएको छ अनि यसै मौकाको फाइदा उठाउँदै पुलिस प्रशासनले पनि गोर्खाल्यान्ड समर्थकहरुलाई विशेष दार्जीलिङमा गोर्खाल्यान्डको आवाज तीव्र पार्न पनि दिएको छैन, न जुलूसनै निकाल्न दिइएको छ।

आज दार्जीलिङमा गोर्खाल्यान्डको मागमा जुलूस अनि जनसभा नभएको तीन दिन भयो। आज पुलिसले जनसभा गर्ने सुमेरू मन्चमानै कब्जा जमाएको थियो भने जुलूस शुरू हुने रेलवे स्टेशनमा पनि पुलिसको तैनाथी भएको कारण यहाँबाट जुलूस पनि शुरू हुन सकेन। तरै पनि भोलि राज्य सरकारसित हुने वार्तापछि पहाड़को स्थिति सामान्य बन्ने पहाड़का धेरै मानिसहरूको झिनो आशा छ। किनभने, दशैं आउन अब दुइ सप्ताह मात्रै बाँकी छ। 27 सितम्बर महासप्तमी अर्थात फूलपाती परेको छ भने 30 सितम्बर विजयादशमी हो। यस समयसम्म पहाड़का चियाश्रमिकहरुले बोनस पाइसक्नुपर्ने हो, तर पहाड़ बन्दको कारण अहिलेसम्म बोनसको कुराकान्तानै छैन। चियाबगान खोलिने छनकसम्म छैन भने पहाड़ खोलिने सम्भावना पनि सम्भावनानै बनिरहेको छ।

यस्तो स्थितिमा दार्जीलिङ पहाड़का जनताको दशैं पनि यसपाली गोर्खाल्यान्डको लागिनै समर्पित हुने लगभग निश्‍चित छ। तरै पनि भोलिको बैठकमा राज्यकी मुख्यमन्त्रीले पहाड़ खोल्ने अपील अवश्यै गर्नेछिन् र त्रिपक्षीय वार्ताको लागि मुख्यमन्त्रीलाई मनाउनको लागि पनि पहाड़का राजनैतिक पार्टी वा विशेष गोजमुमोले पहाड़ खोल्नेबारे ठोस निर्णय पनि लिनसक्ने अनुमान लगाइएको छ।

किनभने, केन्द्रिय गृहमन्त्रीले त्रिपक्षीय वार्ताको लागि प्रथम राज्य सरकारलेनै पहल गर्नुपर्ने पहाड़का राजनैतिक पार्टीहरुलाई अवगत गराइसकेका छन्। यसैले त्रिपक्षीय वार्ताको लागि राज्य सरकारलाई राजी गराउन राज्यको अपीललाई पहाड़का राजनैतिक पार्टीहरुले स्वीकार गर्नसक्छ भन्ने अड़्कल लगाइएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन