विमल र विनयलाई आरबीको मिल्ने सुझाउः आन्दोलन कमजोर पार्ने राज्यको खेल बुझौं-आरबी

दार्जीलिङः क्रामाकपा अध्यक्ष एवं पूर्व सांसद आरबी राईले गोजमुमो अध्यक्ष विमल गुरूङ र गोजमुमोका बागी नेता विनय तामाङलाई मिल्ने अपील गरेका छन्। यी दुवै नेताले आ-आफ्नो मूल मुद्दा अलग राज्य गोर्खाल्यान्डनै हो भनिरहेका छन्, गोर्खाल्यान्डकै लागि आन्दोलन भइरहेको छ, यदि यी दुइ नेताले साँचोरूपमा गोर्खाल्यान्डको मुद्दालाईनै अघि बढाउन चाहन्छन् अनि देशभरि छरिएर बसेको गोर्खा समुदायलाई एकसूत्रमा बाँधेर गोर्खाल्यान्डको मुद्दालाई फत्ते गराउन चाहन्छन् भने यी दुइले सम्पूर्ण ईगो, अन्तर्कलह आदि भुलेर एक हुनपर्छ। तब मात्रै गोर्खाल्यान्डको मुद्दाले फेरि बुलन्दसित अघि बढ्ने मौका पाउनेछ, उनले भने।

आज क्रामाकपा अध्यक्ष राईले पत्रकारहरुसित कुराकानी गर्दै भने-गोर्खाल्यान्डको मुद्दालाई कमजोर बनाउन अनि गोर्खाल्यान्डको माग उठाउने पार्टी र नेताहरुमानै फाटो ल्याउने राज्य सरकारले जुन षड़्यन्त्र गरेको थियो, त्यसमा राज्य सरकार पूर्णरूपले सफल बनेको छ अनि विमल गुरूङ र विनय तामाङले गोर्खाल्यान्डका विरोधीहरुलाई प्रशस्तै हाँस्ने मौका दिएका छन्। यसैले एक शताब्दीभन्दा अधिक समयदेखि गोर्खा जातिले उठाउँदै आएको अलग राज्यको मागसँगै जातिलाईनै हराउने कार्य हुनुहुँदैन।

उनले अझै अघि भने-राज्य सरकार गोर्खा जातिप्रति कदापि इमान्दार छैन, यो सरकार सधैं गोर्खा समुदायमाथि धलिमली गर्ने संस्था हो। यसैकारण गोर्खा जातिको लागि जतिनै अस्थायी व्यवस्थाहरु लागू गरिए पनि ती व्यवस्थाहरुलाई राज्य सरकारले कहिले ठीकसित सन्चालन गर्न दिनेछैन। जसको प्रत्यक्ष प्रमाणहरु हुन् दागोपाप (दार्जीलिङ गोर्खा पार्वत्य परिषद) र जीटीए (गोर्खाल्यान्ड टेरिटोरियल एड्मिनिस्ट्रेशन)।

यसैले गोर्खा जातिको राष्ट्रिय चिन्हारी, जातीय अस्मिता अनि राजनैतिक सुरक्षाको लागि अलग राज्य गोर्खाल्यान्डको गठन हुनैपर्छ, यसै अलग राज्यमा विकास अनि शान्ति पनि हुनेछ। हाल दार्जीलिङ पहाड़मा भइरहेको अशान्तिको जड़नै अलग राज्य गोर्खाल्यान्ड हो, यसैले अलग राज्यको गठन भए पहाड़मा स्थायी शान्ति र विकास स्वतः आउनेछ। यसका साथै उनले वार्ता शुरू भएको विषयलाई सकारात्मक हो भन्ने बताउँदै राज्य सरकारसित वार्ता सफल नभए केन्द्रलेनै हस्तक्षेप गर्नुपर्ने पनि माग गरे।

उनले गोर्खाल्यान्ड राज्य गठनको विरोध अनि यसको आर्थिक स्थितिमाथि धेरै प्रश्‍नहरू अघि आइरहेका छन् भन्नेबारे राईले भने-प्रथमतः दार्जीलिङ पहाड़, तराई अनि डुवर्सका गोर्खा समुदाय पश्‍चिम बंगालका नागरिक होइन, भारतका नागरिक हुन्। यदि अलग राज्य गोर्खाल्यान्डको गठन भए यो राज्य पर्यटनबाट संग्रह हुने राजस्वबाटनै असल ढङ्गले सन्चालन हुनेछ। यसबाहेक दार्जीलिङ पहाड़मा चिया उद्योग छ, जल संशाधन आदि पनि प्रशस्तै छन्। यसैले वार्ताहरुमा जसले पनि गोर्खाल्यान्डको आर्थिक स्थिति र यसको स्थायित्वमाथि प्रश्‍न उठ्छ भने यी विषयहरुमा पनि तर्क पेश गर्नुपर्छ।

यसैबीच, गोर्खाल्यान्ड आन्दोलनकारीहरुमाथि पुलिसको कठोर दमन नीतिको विरोध जनाउँदै क्रामाकपा अध्यक्ष राईले भने-यस्तो दमन नीति अप्नाउँदानै कुनै आन्दोलन समाप्त हुन्छ भन्ने सोंच्नु पूर्णरूपले गलत हुनेछ। यदि यस्तो नीति अप्नाउँदा कुनै आन्दोलन समाप्त हुनेथियो भने भारत देश अहिलेसम्म अंग्रेज शासकहरुको हातमानै हुनेथियो। जसले भारतीयहरुमाथि कठोर अन्याय, अत्याचार, शोषण गरे अनि प्रताड़ित तुल्याए। तर भारत देश स्वतन्त्र भएरै छोड़्यो।

यसरीनै बंगाल सरकारको यस्तो अमानवीय प्रताड़ना अनि अन्याय जारी रहिरहन्छ भने पहाड़मा चलिरहेको गणतान्त्रिक आन्दोलनले पनि कुपथ लिनसक्छ। यसैले राज्य सरकारले यस विषयमा गम्भीरतासित सोंच्नुपर्छ अनि आन्दोलनकारी जनताले पनि छोटो सोंच पाल्नु हुँदैन।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन