2-3 दिनभित्रै पहाड़ खुल्ने विनयको आशाः दशैंअघि दिल्ली जाने र जनसभा गर्ने

दार्जीलिङः गोजमुमोका बहिष्कृत नेता विनय तामाङले दार्जीलिङ पहाड़ आगामी 2-3 दिनभित्रै पूर्णरूपले खुल्ला हुनसक्ने आशा व्यक्त गर्दै यसो भए कसैले पनि विरोध नगरिदिउन् भन्ने अपील गरेका छन्। यसका साथै उनले पहाड़ खुल्ला राखेर पनि गोर्खाल्यान्डको आन्दोलनलाई अघि बढाउन सकिने उनको मत छ। जसको लागि उनले दिल्लीको मूड बुझेपछि गोर्खाल्यान्डको मागमा आमरण अनशन शुरू गर्ने योजना बनाएको पनि उनले बताए।

गोर्खाल्यान्ड आन्दोलनको फलस्वरूप गुप्तबासमा बस्न बाध्य बनेका गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष विमल गुरूङले दार्जीलिङ पहाड़ बन्द मैले होइन, विनय तामाङले डाकेका हुन् अनि यसमाथि निर्णय उनलेनै लिनुपर्छ भन्ने दिएको बयानको जवाब चाहँदा विनय तामाङले भने-15 जून 2017-को बिहान लगभग 9 बजीतिर पुलिस प्रशासनले पातलेबासस्थित गोजमुमो पार्टी कार्यालयमा अचानक छापामारी अभियान चलाएको थियो अनि पार्टी कार्यालयका साथै पार्टी अध्यक्ष गुरूङको घरमा पनि तोड़फोड़ पनि चलाएको थियो।

यसपछि मैले गोजमुमो केन्द्रिय समिति महासचिव रोशन गिरीका साथै सम्पूर्ण सदस्यहरुलाई फोन गरेर आवश्यक जानकारी दिएको थिएँ, जसअनुसार सबैको सहमतिमानै अनिश्‍चितकालीन पहाड़ बन्दको निर्णय भएको थियो र मैलेनै अनिश्‍चितकालीन पहाड़ बन्दको घोषणा गरेको थिएँ। किनभने, गोजमुमो अध्यक्षमाथि जुन संकट परेको थियो, त्यसको विरोधमा कठोर निर्णय लिन आवश्यक थियो र पार्टीले अनिश्‍चितकालीन पहाड़ बन्द गरेको हो। तर अहिले आएर यसको सम्पूर्ण दोष म-माथि लगाएर पार्टी अध्यक्ष गुरूङले आफू चोखो हुने प्रयास गरिरहेका छन्।

यदि मैले डाकेको पहाड़ बन्द मैलेनै खोल्नु हो भने खरसाङबाट मैले जुन पहाड़ बन्द स्थगित गर्ने घोषणा गरेको थिएँ, त्यसको उनले विरोध किन गरे? म पहाड़ बन्द खोल्नुपर्छ, पहाड़को जनजीवन सामान्य बनाउनुपर्छ भन्ने पक्षमा छु, यसैले अब पहाड़ खुल्ला हुँदा कसैले धम्की दिने कार्य गर्नु हुँदैन। उनले भने-दशैं नजिकै आइसक्यो, चियाबगानहरु अझैसम्म पनि बन्द छन्, स्कूल-कलेज ठप्प बनेका छन्, यातायात सेवा अचल छ। पहाड़का यस्तो स्थिति 91 दिनदेखि जारी छ, यसैले अब पहाड़लाई खुल्ला राखेर जनतालाई दुःख नदिईनै गोर्खाल्यान्डको आन्दोलनलाई अघि बढाउनुपर्छ। तर यसै बन्दलाई लिएर कसैले पनि भ्रामक कुरा फैलाउनु उचित होइन।

उनले दार्जीलिङ पहाड़का जनताको वर्तमान स्थिति हेरेर पनि पहाड़लाई खुल्ला राख्न आवश्यक रहेको पनि बताए। उनले अझै अघि भने-हिजो सिलगढीमा राज्यकी मुख्यमन्त्री ममता व्यानर्जीसित भएको वार्तापछि दार्जीलिङ पहाड़भरिका जनताले मलाई फोन गरेर अब पहाड़ बन्द खोल्नैपर्छ भन्ने अपील गरिरहेका छन्। पहाड़ खोल्नुपर्छ भन्ने माग गर्दै धेरै जनता मेरो घरमा पनि आइरहेका छन्, यसैले अब जनताको सहयोगमानै 2-3 दिनभित्रै दार्जीलिङ पहाड़ खुल्ला हुने सम्भावना बढ्दै गइरहेको छ। यसैबीच, एक प्रश्‍नको उत्तरमा गोजमुमोका बागी नेता तामाङले भने-गोर्खाल्यान्डको लागि आन्दोलन जारी रहनेछ।

गोर्खाल्यान्ड वा गोर्खा जातिप्रति केन्द्र सरकारको सोंचाई वा दृष्टिकोण के छ भन्नेबारे बुझ्न शीघ्रै दिल्ली जानेछु र केन्द्रको हामीप्रतिको दृष्टिकोण वा मूड के छ भन्ने बुझेपछि आमरण अनशन गर्नुपर्ने हो वा होइन भन्नेबारे निर्णय लिनेछु। यसका साथै उनले दशैंअघिनै दार्जीलिङमा एक जनसभा गरेर गोर्खाल्यान्डको लागि आफ्नो भावी कार्यक्रमहरु जनताअघि सार्वजनिक गर्ने योजना बनाएको पनि तामाङले बताए। उनले दिल्ली पनि दशैंअघिनै जाने कार्यक्रम बनाएका छन् भने उनले पहाड़का जनतालाई दुःख नदिई गोर्खाल्यान्डको आन्दोलनलाई अघि बढाउने पनि योजना बनाएका छन्।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन