सम्झौतामा चियाश्रमिकलाई भुल्नु हुँदैनः 19.75% बोनसको माग

दार्जीलिङः यसपाली दार्जीलिङ पहाड़को लागि कुनै पनि व्यवस्थामा सम्झौता भए पहाड़का चियाश्रमिकहरुलाई मूलरूपले ध्यानमा राखेर सम्झौता गर्नुपर्ने गोजमुमोको श्रमिक संगठन दार्जीलिङ तराई डुवर्स प्लान्टेशन लेबर युनियनले माग उठाएको छ। यसका साथै पहाड़को स्थितिलाई साम्य बनाउनको लागि गोर्खाल्यान्ड राज्य गठन विषय लिएर शीघ्र त्रिपक्षीय वार्ता शुरू गर्नुपर्ने पनि माग गरेको छ।

दार्जीलिङ तराई डुवर्स प्लान्टेशन लेबर युनियनका अध्यक्ष पीटी शेर्पाले आज फोनमार्फत सम्पर्क गरेर भने-सन् 1988-को समय भएको गोर्खाल्यान्ड आन्दोलनपछि भएको सम्झौतामा पहाड़का चियाश्रमिकहरुलाई कुनै ध्यान दिइएन अनि यसपाली पनि चियाश्रमिकहरुलाई ध्यान दिने कार्य भएको छैन। यसैले यदि पहाड़को लागि कुनै पनि सम्झौता हुन्छ भने चियाश्रमिकहरुका लागि ठोस निर्णय हुनपर्छ।

किनभने, अलग राज्य गोर्खाल्यान्डको लागि पहाड़का अन्य व्यवसाय वा पेशामा संलग्न जनताले जति योगदान दिएका छन्, उत्तिनै योगदान चियाश्रमिकहरुले दिएका छन् अनि दिइरहेका छन्। गोर्खाल्यान्डको यस तीन महीने आन्दोलनको क्रममा पहाड़का प्रति चियाश्रमिकले नभनेको पनि 20,000 रुपियाँको नोक्सानी बेहोर्न परेका छन्। पहाड़का 87 वटा चियाबगानका लगभग 65,000 श्रमिकले यस तीन महीनामा कति करोड़ रुपियाँको नोक्सानी बेहोरेका छन्, यसै हिसाबबाट स्पष्ट हुन्छ।

एक प्रश्‍नको उत्तरमा उनले भने-गोर्खाल्यान्डको लागि भइरहेको यस आन्दोलनबाट चियाबगानहरुलाई छूट दिने विषय लिएर श्रमिक संगठनले गोजमुमो अध्यक्ष विमल गुरूङसित कुरा गरेको थियो अनि गुरूङले पनि चियाबगान बन्दलाई छूट दिनेनै निर्णय गरेका थिए। तर गोजमुमोका कतिपय केन्द्रिय नेतृत्वहरुलेनै चियाबगानलाई बन्दबाट छूट नदिने अड़ान राखेपछि अहिलेसम्म पनि बन्द यथावत रहेको हो। तर चियाश्रमिकहरुले जुन योगदान दिएका छन्, उनीहरुको योगदान खेरो जान हुँदैन भन्दै शेर्पाले भने-यदि कुनै सम्झौता हुन्छ भने सबै क्षेत्रलाई समेटेरनै सम्झौता हुनपर्छ।

यसैबीच, उनले पहाड़का चियाश्रमिकहरुलाई पूजा बोनस दशैंअघिनै तराई-डुवर्सका चियाश्रमिकहरुलाई दिइएको बराबरनै प्रदान गर्नुपर्ने पनि माग राखेका छन्। स्मरण गराइन्छ, तराई-डुवर्सका चियाश्रमिकहरुलाई 19.75 प्रतिशतको दरले बोनस दिने निर्णय भएको छ। यसैले यसै दरले पहाड़का चियाश्रमिकहरुलाई पनि बोनस दिनुपर्ने गोजमुमोको श्रमिक संगठनको माग छ।

उनले भने-दार्जीलिङ पहाड़का चियाश्रमिकहरूको बोनस दर पहाड़मानै बैठक गरेर छिनाफाना हुने प्रथानै छ। यसैले अहिले दार्जीलिङ पहाड़ बन्द भए पनि पहाड़का जति सक्रिय श्रमिक संगठनहरु छन्, ती सबै श्रमिक संगठनहरुलाई साथमा लिएर बोनस बैठक हुनपर्छ अनि शीघ्र बोनसको निर्णय हुनपर्छ। यसको लागि गोजमुमोको श्रमिक संगठनले दार्जीलिङ टी एसोसिएशन र इन्डियन टी एसोसिएशनलाई अघिबाटै पत्र दिइसकेको पनि उनले जानकारी गराए।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन