जीटीएको त्रिपक्षीय वार्ता गराउन अड्चन होला, गोर्खाल्याण्डको निम्ति छैन-हर्कबहादुर छेत्री

प्रज्ज्वल छेत्री

कालेबुङः ‘जीटीए होइन गोर्खाल्याण्डको निम्ति त्रिपक्षीय वार्ता हुनुपर्छ’-जन आन्दोलन पार्टीका अध्यक्ष हर्कबहादुर छेत्रीले भने, ‘जीटीएको त्रिपक्षीय वार्ता गराउन कानुनी अडचन हुनसक्छ तर गोर्खाल्याण्डको निम्ति कुनै पनि अडचन छैन।’

मङ्गलबार राज्य सरकारसित दुईपक्षीय वार्ता बसेपछि जनतालाई जानकारी दिन आज जन आन्दोलन पार्टीले कालेबुङमा एउटा जनसभाको आयोजना गरेको थियो। जनसभालई सम्बोधन गर्दै हर्कबहादुर छेत्रीले त्रिपक्षीय वार्ता बोलाउनुमा संवैधानिक अडचन रहेको राज्य सरकारको दावीलाई खण्डन गर्दै जीटीएको निम्ति त्रिपक्षीय वार्ता गराउन अड्चन भएपनि गोर्खाल्याण्डको निम्ति त्रिपक्षीय वार्ता गराउन कुनै पनि अडचन नरहेको दावी गरे। यसैले जापले दोस्रो वार्तामा पनि त्रिपक्षीय बैठककै वकालत गरेको बताउँदै गोजमुमोले पनि अब् वान् पोइन्ट एजेन्डा त्रिपक्षीय वार्ताकै निम्ति मात्र कुरा गर्नुपर्ने सुझाउ राखे।

‘दुईपक्षीय वार्ता मात्रै गर्दा कुनै काम लाग्दैन, हामीले त्रिपक्षीय वार्ताको माग गरेका छौँ’, छेत्रीले भने, ‘मोर्चाले पनि सबै छोडेर त्रिपक्षीय वार्ताकै निम्ति मात्र कुरा गरोस्, त्रिपक्षीय वार्ताबाहेक अर्को कुनै एजेण्डा नहोस्।’

16 अक्टोबरमा हुने तेस्रो दुईपक्षीय वार्ताअघि पुनः जन आन्दोलन पार्टीले राज्य सरकारलाई पत्रचार गरी त्रिपक्षीय वार्ता नै हुनुपर्ने माग गर्ने भएको छ। वार्तामा जाँदा सबै सबै राजनैतिक दलहरू एकमुख भएर जानपर्ने सुझाउ राख्दै उनले राज्यले दिने हरेक प्रलोभनबाट जोगिएर केवल त्रिपक्षीय वार्ताकै निम्ति मात्र कुरा गर्नुपर्ने पनि छेत्रीले आह्वान गरे।

वार्तमा राज्यकी मुख्यमन्त्रीले त्रिपक्षीय वार्ता गराउन असहमति प्रकट गरेपनि बैठकभित्र भने मुख्यमन्त्रीले पहाडमा शान्ति बहाली भएर समान्य स्थिति फर्किएर त्रिपक्षीय वार्ताको निम्ति परस्थिति बनाउनसकिने कुरा भएको पनि छेत्रीले बताए।

उनले वार्तामा जाप मात्र यस्तो दल रहेको जसले वान् पोइन्ट एजेण्डा गोर्खाल्याण्डको निम्ति त्रिपक्षीय वार्ता हुनुपर्छ भन्ने माग गरेको पनि छेत्रीले बताए। उनले दशैँ तिहारको समय दार्जीलिङ पहाड बन्द रहनु भनेको सरकारको असफलता रहेको दावी गरे।

‘दशैँ तिहारमा पहाड अँध्यारोमा रहे यो राज्य सरकारको निम्ति ठूलो हार हो’-छेत्रीले भने, ‘पहाड हाँसेको हेर्न चाहने सरकारले पहाड रोएको देख्नु सरकारको विफलता हो।’

आजको जनसभामा पनि गोजमुमोप्रति आलोचना गर्दै छेत्रीले गोजमुको नेतृत्वहरूको क्षमता र पार्टीको नीतिमाथि प्रश्न तेर्साए।

‘यो त्यही दल हो जसले कुनै पनि हामी राज्य सरकारसित बात मार्दैनौँ भन्थ्यो’ छेत्रीले भने, ‘आज वार्तामा नबोलाउँदा पनि हामीलाई पनि बोलाइदेउ भन्दै विधायकहरू मुख्यमन्त्रीको घर पुग्न पर्दैछ।’

राज्य सरकारले नबोलाइ आफै बैठकमा जानु जस्तो लज्जास्पद कुरा केही हुन नसक्ने भन्दै यो जनताको निम्ति पनि मोर्चाबाट भएको ठूलो अपमान रहेको छेत्रीले दावी गरे। राज्य सरकारसितको बैठकमा मोर्चाको ए अनि बी. दुवै टीमले आन्दोलनले उपार्जन गरेका मसिना कुराहरू माग गरेकोमा पनि छेत्रीले आपत्ति जनाए।

‘कर्मचारीलाई वेतन दिन्छ भने श्रमिकलाई के हुन्छ? यत्रो आन्दोलन क्षतिपूर्तिकोको निम्ति गरिएको हो?-छेत्रीले गोजमुमो अनि विनय तामाङ समुहले गरेको मागहरूबारे आपत्ति जनाउँदै भने, ‘शहीदको मुल्याङ्कन  पनि क्षतिपूर्ति होइन गोर्खाल्याण्डले मात्र हुन्छ।’

मुख्यमन्त्रीले आफ्नो सम्बोधनमा पहाडका जनताको भावनाको कदर गर्ने वक्तव्य दिएको सन्दर्भमा बोल्दै छेत्रीले पहाडको भावना केवल गोर्खाल्याण्ड मात्र रहेको बताए। उनले गोर्खाल्याण्डको निम्ति राज्य मात्र होइन केन्द्र सरकार पनि इमान्दार नरहेको बताए।

‘विमल गुरुङले आज दिल्लीलाई हेरेर रणनीति बनाइरहेको छु भन्दैछन्”-छेत्रीले भने, ‘आज मात्रै भाजपा अध्यक्ष अमित शाहले दार्जीलिङको समस्या केन्द्रको समस्या होइन भन्दै राज्यलाई देखाउँदैछन्, मोर्चाले दिल्लीमा गएर कुन भाजपालाई भेट्छ मलाई थाहा छैन।’

उनले गोजमुमो अध्यक्ष विमल गुरुङका वरिपरि गलत परामर्ष दिने मानिसहरू रहेको बताउँदै कुनै पनि दिन विमल गुरुङ पनि दुधबाट झिँगा झिकेको सरह निकाल्नसक्ने बताए। विनय-विमल विवादपछि राज्यको चलखेलहरू स्पष्ट भइरहेको बताउँदै छेत्रीले मोर्चाको ए अनि बी गुटको कारण आन्दोलन बिग्रिनु दिनु नहुने पनि आह्वान गरे। पहाड बन्दलाई फेरि पनि विमल गुरुङले आफूले बन्द नडाकेको बताएको कारण अब जनताले नै बन्दबारे निर्णय लिनुपर्ने पनि छेत्रीले आह्वान गरे।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन