विमल गुरूङले गरे बन्द कठोरसित पालन गर्ने घोषणाः  10-15 दिनभित्र दिल्लीबाट  आउने राम्रो खबरः मौकाखोरहरूको षडयन्त्र सफल बन्न नदिउँ-विमल

दार्जीलिङः गोजमुमो अध्यक्ष विमल गुरूङले भोलिदेखि दार्जीलिङ पहाड़ बन्दलाई अझै कठोर बनाउने चेताउनी दिए। यसको लागि उनले सम्पूर्ण गोर्खाल्यान्डप्रेमी जनतालाई सड़क अनि प्रत्येक सरकारी कार्यालयमा आएर यस बन्दलाई पूर्णरूपले सफल बनाउने पनि आह्वान गरे।

आज उनले गोप्य स्थानबाट फोनमार्फत भने-अहिले दार्जीलिङ पहाड़का सरकारी कार्यालयहरु जबर्जस्ती खोल्न लगाइँदैछ, कर्मचारीहरुलाई कार्यालयमा हाजिरी दिन लगाइँदैछ। तर अब यसमाथि दार्जीलिङ, खरसाङ, कालेबुङ अनि मिरिकका जनता आफैले हेर्नुपर्छ। कतिपय अवसरवादी नेताहरुको कारणनै यस्तो भइरहेको छ। यस्ता नेताहरुबाट जनता होशियार रहनुपर्छ।

उनले पहाड़ बन्दलाई अझै कठोर बनाउन जनतालाई सड़कमा ओर्लिने आह्वान गर्दै भने-जनता सड़कमा आउँदा पुलिसले लट्ठीचार्ज गर्नसक्छ, तर जनता डराउनु हुँदैन। मैले गोर्खाल्यान्डको लागि लुकीलुकी भए पनि काम गरिरहेको छु अनि दिल्लीमा पनि एउटा दलले काम गरिरहेको छ। उनले दिल्लीबाट आगामी 10-15 दिनभित्र सकारात्मक सन्देश आउनसक्ने जानकारी गराउँदै भने-जनताले गोर्खाल्यान्डको लागि धेरै संघर्ष गरेका छन् अनि धेरै संकट झेलेका छन्।

यसको फल जनताले पाउनैपर्छ। यसैले गोर्खाल्यान्ड राज्य प्राप्तिको लागि भइरहेको यस आन्दोलनलाई सफल बनाउन जनता अझै जोड़दाररूपमा अघि आउनुपर्छ अनि केन्द्र सरकारलाई त्रिपक्षीय वार्ताको लागि बाध्य बनाउनुपर्छ। उनले गोर्खाल्यान्डको लागि शीघ्र त्रिपक्षीय वार्ता शुरू गर्नुपर्ने माग गर्दै आगामी दिनमा पहाड़मा जनता कर्फ्यू लगाउने तयारी गरिरहेको पनि बताए।

उनले भने-पहाड़मा जनता कर्फ्यू लागू भए स्थिति अझै जटिल हुनसक्छ, त्यस समय पहाड़ खोल्न लगाउने अन्य हुन् भनेर कसैमाथि दोष थोप्न पाउँदैन। प्रशासनले पनि धेरै अन्याय गरिसक्यो, अन्याय र अत्याचारको पनि सीमा हुन्छ। अधिक अन्याय भएको कारणनै जनता फ्रस्टेटेड भइरहेका छन्, यसैले उनीहरुले यस गणतान्त्रिक आन्दोलनलाई अन्य बाटो लानसक्छ भन्ने डर लागिरहेको छ।

तरै पनि मैले गणतन्त्रको बाटो छोड़ेको छुइनँ, गणतान्त्रिक ढङ्गमानै आन्दोलनलाई अघि बढाइरहेको छु। यसरीनै उनले भोलिदेखि पहाड़ बन्दलाई अझै कठोर बनाउने, गाड़ीहरुको चलाचल ठप्प बनाउनुपर्ने गोर्खाल्यान्ड समर्थकहरुसमक्ष अपील गर्दै जबर्जस्ती बन्द गर्नुपर्ने स्थिति नआओस् भन्ने चेताउनी पनि दिए। यसको लागि उनले प्रत्येक स्थानमा पिकेटिङ गर्ने पनि जनतालाई अपील गरेका छन्।

यसैबीच, गुरूङले पार्टीको बागी नेता विनय तामाङमाथि कटाक्ष प्रहार गर्दै भने-विनय तामाङ गोजमुमोबाट बहिष्कार भइसकेका हुन्, तर उनले अझैसम्म पनि गोजमुमोकै झण्डा, लेटर हेड आदि प्रयोग गरिरहेका छन्, यसैले उनी विरूद्ध कानूनी कार्वाही पनि योजना बनाएका छौं।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन