पुलिस प्रशासन र अनित थापा समूहले गरे दोकानपाट खोल्ने प्रयासः खरसाङ सय प्रतिशत बन्द

खरसाङ: पहाड बन्दको ९२ औं दिन पुग्दा खरसाङ बजारको दोकानपाटहरु पुलिस प्रशासन र अनित थापा समूहले आज पनि खोलाउने प्रयास गरे‌। केही दिन अघि पनि पुलिस प्रशासनले दोकानपाटहरु खोलाउन प्रयास गर्दा विफल भएको थियो। ‌तर आज बिहान लगभग १०.३० र ११ बजेको समयमा पुलिस प्रशासन र अनित थापाका समर्थकहरूको एक समूहले खरसाङको मोटर स्ट्याण्ड नजिकदेखि दोकानपाटहरु खोलाउन सबै दोकानेहरुलाई अनुरोध गर्दै दोकानपाटहरु खोलाइयो।

एनएच ५५ अन्तर्गत  खरसाङको हिलकार्ट रोडतिर रहेका सबै दोकानपाटहरु बिहान ११ बजेको समयमा प्रशासनको पहलमा खोलिन थाल्यो। सबै दोकानेहरुलाई पुलिस प्रशासन र उक्त समूहले अनुरोध गर्दै ‘अबदेखि दोकान पूरा खोल्नु हामी सुरक्षा दिन्छौं, अब डराउनु पर्दैन हामी २४ घण्टा नै बजारमा हुन्छौं’ भन्दै आश्वासन दिएको देखियो।

प्रत्येक दोकानतिर गएर उनीहरूद्वारा दोकानेलाई पसल खोलाउने अनुरोध गरिएको थियो। यो क्रम मोटर स्ट्याण्डदेखि हिलकार्ट रोड, अस्पताल मोड हुँदै दिल्ली दरबार माथितिरको दोकानपाटहरु खोलाइयो।

फेरि पुलिस प्रशासनको समूहले वर्तमान रोडतिरको दोकानपाटहरु पनि खोलाउने अनुरोध गर्दै हाट बजार क्षेत्रमा पनि गएर खोलाउने प्रयास गरेको थियो।

शुरुमा खोल्दै गएका दोकानपाटहरु उनीहरू फर्किएर आउँदा बन्द हुँदै गएको पनि देखियो। केही दोकानेहरु दोकान खोल्ने कि नखोल्ने भन्ने अन्योलमा थिए। यस्तै अन्योलबीच दिउँसो बजारमा केही दोकानपाटहरु बन्द कोही खुल्ला नै रहेको देखियो।

आजको पहल विषयमा मोटर स्ट्याण्डमा आएर खरसाङ महकुमा पुलिस अधिकारी पिनाकी दत्तले पत्रकारहरुलाई सम्बोधन गर्दै भने- पुलिस प्रशासनको तर्फबाट पहिले पनि दोकानहरु खोलाउने अनुरोध गरिएको थियो। आज पनि अनुरोध गऱ्यौँ। दोकानपाटहरु १५ देखि २० प्रतिशत खुल्ला छन्। अब बिस्तारै खरसाङको स्थिति साम्य हुँदै जानेछ।’

उनले यसो भन्दै गर्दा अघि खुलेका दोकानपाटहरू पूर्णरूपले बन्द भइसकेको थियो।

यस्तो लाग्थ्यो, पुलिस र अनित थापा समूह मिडियामार्फत खरसाङ खुलेको देखाएर जनतालाई भ्रममा पार्न चाहान्छन्। किन भने उनीहरूले खरसाभ 20 प्रतिशत खुलेको बताए पनि दोकानपाट 100 प्रतिशत बन्द थियो।

बिहानको समयमा सबै दोकानपाटहरु बन्द भएपनि दिउँसो फेरि सबै दोकानपाटहरु बन्द भएको थियो। ‌लगभग २ घण्टा जति दोकानपाटहरु खुल्ला भए। विशेषगरी दिउँसो २ बजेको ऱ्याली आउने समयमा सबै दोकानपाटहरु आफै बन्द भएको देखियो। खरसाङको दोकानपाटहरु बेलुकीसम्म सबै बन्द नै रहेको देखिएको थियो।

ऱ्यालीको कारण दोकानपाट बन्द भएको थाहा पाएपछि पिनाकी दत्तले यता खरसाङमा ऱ्याली निकाल्नु गैरकानुनी रहेको भन्दै ऱ्याली निकाल्नेहरूलाई कानूनी कार्वाही गर्ने चेतावनी दिएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन