सगरमाथाको गहिराइ : टालाटुली बटुली

नवराज पराजुली अहिलेको पुस्ताका हिट कवि हुन्। फाइनप्रिन्टले छापेको उनको किताब सगरमाथाको गहिराइ-ले चर्चा बटुलिरहेको छ। विवादित पनि भएको छ किताब।  यिनको उक्त विवादास्पद किताबमाथि उदीयमान समालोचक सरोनर-ले लेखेको यो विवादास्पद लेख नेपालीको एक दैनिकमा छापिएको छ। त्सही सनसनीखेज समालोचना खबरम्यागजिन-का पाठकका लागि साभार प्रकाशमा ल्याइँदैछ: 

 


प्रोलग: 

खालिद हुसेनी आफ्नो एक औपन्यासिक मास्टरपिस कृति ‘द काइट रनर’को सुरुवाततिर उपन्यासभित्रको प्रथम पुरुष न्यारेटरमार्फत भन्दछन्: ‘… यो कालो ख्याकको आख्यान एकजना मानिसको बारेमा थियो जसले अ म्याजिक कप भेटायो र पत्तो पायो कि ऊ कपको सामुन्ने रोयो भने उसका आँसुदाना मोतीदानामा रूपान्तरित हुने थियो । हुन त ऊ सदा गरिब थियो, तर पनि ऊ एउटा सन्तुष्ट मानिस थियो र सायदै कहिल्यै उसले आँसु खसाएको थियो । त्यसैले उसले आफूलाई दुःखी तुल्याउने उपायशील बाटाहरू खोज्यो  ता कि आफ्ना आँसुले ऊ सम्पन्न बनोस् । जब मोती थुप्रियो, उसको लाेभ बढ्यो । यो कथाको अन्त्य, त्यो म ानिस मोतीको पहाडमाथि बसिरहेको, हातमा रगताम्मे छुरा, आफ्नी प्रिय पत्नीको देह आफ्ना दुबै पाखुरामा अठ्याउँदै असहाय किसिमले कपको अगाडि रोइरहेको अवस्थामा हुन्छ ।’

‘सगरमाथाको गहिराइ’ नामक आफ्नो  छत्तीस थान कविता संकलित पुस्तकाकार कृतिको शीर्ष कवितामा नवराज पराजुली लेख्दछन्:

‘बिजुली उत्पादनमा संसारको सबैभन्दा बढी क्षमता राख्ने

मेरो देशले

मेरो बिदाइमा आएकी

मेरी श्रीमतीको आँखाबाट खसेको आँसुको ऊर्जाले

नौलाख बत्ती बाल्न पुग्ने बिजुली निकाल्यो रे !’

खालिद हुसेनीको न्यारेटरको त्यो कथाप्रति उक्त उपन्यासभित्रकै एक अनपढ, गँवार चरित्र ‘हसन’को प्रतिक्रिया यस्तो छ:

‘यदि म सोध्न सक्छु भने, त्यो गरिब मानिसले आफ्नी पत्नीलाई किन बिनसित्ती मार्यो ? वास्तवमा, आँसु खसाउनका खातिर दुःखी महसुस नै गर्नुपर्छ भन्ने बकबास कुरा उसले किन सोच्यो ? बरू आफ्नो अगाडि प्याज काट्न सक्दैनथ्यो र ?’

यस्तै प्रकारको प्रश्न नवराजको शीर्ष कवितामाथि एउटा आम आदमी, कविताका अनुसार परदेशी नागरिकले समेत तेर्साउन सक्छ । श्रीमतीको आँखाबाट खसेको आँसुको ऊर्जाले नौलाख बत्ती बाल्न पुग्ने बिजुली निकाल्न सकिन्छ भने  परदेश नै किन जानुपर्ने ? घरदेशमै बसेर कुटपिटबाट स्वास्नी रूवाए भइहाल्यो नि । अथवा,  स्वास्नीलाई धमाधम प्याज काट्न लगाए भइहाल्यो । कवितामा कल्पना गर्न पाइन्छ भन्दैमा यस्ता नौटङ्की कल्पनाले कविताको स्तर गिराउँछ कि माथि पुर्‍याउँछ ?  यथार्थका खातिर यथार्थमा नै टेकेर गरिएको कल्पना पो कल्पना । यो पृथ्वीभरिकै फोहोर पखाल्न पुग्ने पानी चाहिए  यो देशका नदीसँग सापटी माग्नुपर्ने कथन कविको छ । त्यसोभए बाग्मतीसँग माग्नु ? पानी जम्मैजसो भारतले हडप गरेको त्यो महाकालीसँग माग्नु ? विश्व नै पोत्न पुग्ने रङ चाहिए गुराँस नै सापटी माग्नुपर्ने भन्ने के छ ? एउटा कोरा राष्ट्रियता ! शीर्ष कविता नै ‘टीनेजको आउट अभ सिजन लभ’जस्तो छ । टीनेजर हुँदा नयाँ वर्षको शुभकामना कार्डखो पछाडिपट्टि लेख्ने सायरी ‘जीवन मेरो बेकार रहेछ, लक्ष्यमा पुग्न सकिनँ; माया भन्नु खेल रहेछ, तिमीलाई भुल्न सकिनँ’ जस्तो छ ।’ कविताको शीर्षक ‘सगरमाथाको गहिराइ’ भए तापनि कविताको गहिराइ, कवितामा खँदिलोपन न्युनतम छ । कविताको खँदिलोपन, गहिराइ केमा निहीत हुन्छ ? भिन्नताभित्रको एकत्वमा, न कि पुनरावृत्तिमा ।

कविताले नाटक देखायो भने के-कस्तो हुन्छ ? नाटकीय कविता त पक्कै हुन्छ । तर कविताले चटक गर्न थाल्यो भने ? कविताको फूल एण्ड फाइनल मूल्यांकन टेक्स्टबाट हुन्छ, न कि ‘कवितात्मक क्याटवाक’बाट । कवितात्मक क्याटवाक अथवा भनौं कवितात्मक मोडलिङ सुन्दर कवितामा भिकारियस एक्सपेरियन्स हो, सेकेन्ड ह्यान्ड जवानी हो । कविता आफैंमा प्रस्तुति हो । कविता आफैंमा सुन्दरता हो । कहिलेकाहीँ अझ बढी सुन्दर बन्न खोज्दा कस्मेटिक बनिन्छ । नवराजका कविताहरू टेक्स्टुअल कविताहरू हैनन्; बरू हुन् मोडलिङ कविताहरू । कविले गर्ने कविताको वाचन केवल प्लस प्वाइन्ट हुनसक्छ, कविताको जीवन्त पक्ष टेक्स्टबाट मात्रै आत्मसात गर्न सकिन्छ । तुलसी दिवसको कविता ‘बाघचाल’ पढ्दा सशक्त लाग्छ, तर उनको वाचन सशक्त नभएको हो र ? वैरागी काइँलाको कविता ‘मातेको मान्छेको भाषण : मध्यरातपछिको सडकसित’को टेक्स्टुअल पावरनेसमा सायदै कोही पुग्न सक्लान् अचेलका कविहरू । तर, उक्त कविता सुन्दा मजा आएन भने झुर भनिदिने ? कविता साहित्यको त्यो विधा हो, जसले एकपछि अर्को पठनको माग गर्दछ । होरासका अनुसार ‘रुखमा पातहरू पलाउनुजस्तै’ । जति धेरै भेट त्यति नै गहिरो पहिलो प्रेम । र त्यसबाट खुल्छन् नयाँ/नौला/नवीन अर्थहरू । नदी गतिशील हुन्छ, तर उँधो बग्छ । सगरमाथा चढ्न ऊँभो  लाग्नुपर्छ । उँधो न ऊँभोका नवराजका कविताहरू कमसेकम तालझैँ जमेका त छन्, तर ती राराझैँ सुन्दर छैनन्, तिलिचोझैँ सुन्दर छैनन् । यस प्लस यश हिसाबले भन्नुपर्दा उनका कविताहरू बाइचान्स कविताहरू हुन् । उनका कविताले भीड खोज्छ, वाहवाही खोज्छ, र तयार पार्छ एउटा पपुलिस्ट जमात । उनको कविताको ध्येय कविताको चर्चा, लोकप्रियता चाहिँ हैन, बरू स्वयं उनी अर्थात् कविको चर्चा, लोकप्रियता हो । हरिभक्त कटुवालको ‘आकाशका तारा के तारा’ र नवराजको ‘पीर’ती’ पढ्नुभयो भने एउटा कुरा क्लियर भइजानेछ । अथवा, उनकै ‘लोकसेवा आयोग’ र कटुवालको ‘रहर’ सँगसँगै पढौँ । कथामा भन्दा बढी न्यारेसन कविताले डिमान्ड गर्दैन, कवितामा ओभरगोबररेटेड डिस्क्रिप्सन कवितामा जायज हुँदैन । नवराजका कविताहरूले ल्वाङ खाएर स्वाङ भन्दा बढ्ता भ्वाङ पारिरहेको देखिन्छ ।

‘हाम्रो यो माया

दुई आत्माको मिलन हैन

मुसल र ओखलको मिलन हो

जसले

जिन्दगीको संवाद पाउन मात्र पनि

एक आपसमा रगडिनै पर्छ । (पेज १६० : जुठो माया)

एउटा अङ्ग्रेजी कविता छ, ‘द फ्ली’, अर्थात् उपियाँ । त्यहाँ एउटा एकोहोरो प्रेमीले एउटी सुकुमारी युवतीलाई प्रेमको खेल खेल्नका लागि मनाइरहेको भेटिन्छ । एन्ड्रयु मार्भेलको ‘टु हिज कोय मिस्ट्रेस’मा जस्तै । उसका अनुसार जीवन क्षणिक छ । उनको सुन्दर रूप समयले चाउरी पार्नेछ, कुरुप तुल्याउनेछ । उनको केशराशिमा हिउँ पर्नेछ । जवानीमै प्रेमको मजा लिइहाल्नुपर्छ । प्रेम, दुईजनाले खेल्ने र दुबैजनाले जित्ने, त्यो खेल खेलिहाल्नुपर्छ । प्रेमी प्रेमिकाको सम्पूर्ण अङ्गप्रत्यङ्गको प्रशंसा गर्छ । एकबार होइन पटकपटक ऊ मनाउने प्रयत्न गर्छ । तर अहँ केटी केही गरि मान्दिनन् । केटो हैरान हुन्छ । र, दुबै चुपचाप लाग्छन् । त्यही चुपचाप लागेको समयमा एउटा उपियाँ आएर केटोलाई टोक्छ । फेरि गएर उही उपियाँले केटीको रगत चुस्छ । केटो प्रसन्न हुन्छ । ‘तिमीले मेरो प्रेम लत्याएर के भयो ? हामी दुबैको विवाह भइसकेपछि,’ केटा केटीलाई भन्छ । केटी अलमल्ल पर्छिन् र कसरी भनेर कारण सोध्छिन् । प्रेमीको जवाफ यस्तो छ: ‘त्यो उपियाँ आयो । मेरो रगत चुस्यो । र, फेरि त्यसले तिम्रो रगत चुस्यो । त्यसभित्र मेरो र तिम्रो हामी दुबैको रगतको मिलन भएको छ । हाम्रो रगत आपसमा मिलिसक्यो । यसरी हाम्रो विवाह भइसक्यो ।’ प्रेमिका अप्रसन्न हुन्छिन् र उपियाँलाई मार्न खोज्छिन्, खोज्छिन्, तर सक्दिनन्, उनी हैरान हुन्छिन् । प्रेमी त्यो सब चर्तीकला नियालिरहन्छ । केटीलाई रोक्दै फेरि अर्को तर्क गर्छ, ‘तिमीले त्यो उपियाँलाई मार्यौ भने पाप गर्नेछ्यौ ।’ केटी तर्सिन्छिन् । ‘एउटा हैन, तीन-तीनवटा पाप, जुन बाइबलमा वर्णित छ: क्राइम, मर्डर एण्ड सुसाइड । तिमी पापी मात्रै  हैन, महापापी हुनेछ्यौ ।’ केटी अझ तर्सिन्छिन् । केटो भन्छ: ‘त्यो उपियाँलाई मार्यौ भने जीवहत्या हुन्छ । त्यो क्राइम हो । त्यो उपियाँको शरीरभित्र मेरो रगत छ, म छु । त्यसलाई मार्नु भनेको मेरो पनि मर्डर हुनु हो, जुन अर्को पाप हो । त्यसको शरीरभित्र त तिम्रो रगत पनि छ, तिमी पनि छ्यौ । त्यसलाई मार्यौ भने तिमीले पनि आत्महत्या गरेको ठहरिनेछ, र सुसाइड गर्नु पाप हो ।’

‘सगरमाथाको गहिराइ’का प्रेम-कविताहरू यस हिसाबले कुनै नयाँ हैनन् । अर्थपूर्ण ‘कन्सिट’को उपयोगभन्दा त्यसको  मनोटोनस दुरुपयोग । ‘तिम्रो शरीरमा भएको पूरै गाउँलाई माया गर्छु

तिम्रो शरीरमा भएको खाली ठाउँलाई माया गर्छु’ (पेज १६२ : उही)

रोबर्ट फ्रस्टले भनेजस्तो ‘कविता आनन्दबाट थालनी हुन्छ र विवेकमा गएर अन्त्य हुन्छ ।’ कुनै कवि जतिसुकै चिच्याउने काम गरोस् कविताको अर्थको विरुद्धमा, तर त्यो हुन्छ । ‘सर्प विषालु हुन्छ भनेर पत्तो पाउनु सूचना हो । त्यो विषले मानिस मर्नसक्छ भनेर थाहा पाउनु ज्ञान हो । उक्त विषलाई निस्तेज पार्ने औषधीको आविष्कार गर्न सक्नु बुद्धि हो । यति सब भएर पनि सर्पसँग कहिल्यै नजिस्कनुचाहिँ विवेक हो ।’ येल युनिभर्सिटीका क्लियन्थ ब्रुक्सका अनुसार, ‘रोबर्ट फ्रस्टका कविता दर्शनीय रूपले सरल छन् । फ्रस्टका कविता धोकेबाज तौरले सरल छन् । बट देअर रन्ज एन अन्डरकरेन्ट फिलोसोफी विदीन द्याट सिम्प्लिसिटी ।’ कविता सिम्पल हुनुपर्छ, तर सिम्प्लिस्टिक हुनु चाहिँ घातक सिद्ध साबित हुन्छ । ‘ब्रह्माजीको रजस्वला’ बहुत विरोधाभासपूर्ण ‘पन’ कविता हो । महिला उत्थानको कुरा गरेर महिलालाई नै विरुद्धमा सम्बोधन गरिएको कविता । छाउगोठ पठाइएकी एउटी छोरी सुरुदेखि नै आफ्नी आमालाई दोषारोपण गर्छे, छाउगोठमा नपठाऊ भन्नुका लागि रियल कारणहरूका सट्टा ‘हावा’ कारणहरू पेश गर्छे । ब्रुक्सका अनुसार कविताको भाषा विरोधाभासको भाषा हो । कवितामा विरोधाभास सुहाउने हुन्छ । तर, सबैभन्दा बढी विरोधाभास केमा हुन्छ ? चुट्किलामा । कविताले खोजेको टोन अर्थात् ध्वनि लाइक रियलिस्टिक, लाइक नोस्टाल्जिक दिन सकिएन भने त्यो कविता कविता हैन, चुट्किला बन्दछ ।

‘घामबाट आएका किशोरी किरणहरू

सबैभन्दा पहिला मेरो ओठमा देउडा खेल्छन्

अनि मात्र

कोपिलाको ओठमा गएर आराम गर्छन्

अनि मात्र

रजस्वला हुन्छ कोपिलालाई

अनि मात्र यहाँका फूल मुस्कुराउँछन्’ (पेज १२ : ब्रह्मजीको रजस्वला)

‘बर्खाभरि

खेतलाई आमा बनाएका गोरूहरूलाई

बुबाले बिउले नुहाइदिनुहुन्थ्यो’ (पेज २४ : मैझारो)

अङ्ग्रेजी एउटा सेन्टेन्स छ : ‘Madam, I’m Adam.’ यो वाक्य सुल्टोबाट, उल्टोबाट जताबाट पढ्नुस्; उस्तै हो ।

‘म सतीदेवी… सतीदेवी यादव

याद अब मेरो पतिदेवलाई नहोला,’ (पेज ४५ : सतीदेवीको गाण्डिव’

‘यी तिम्रा तिनै हात हुन्

जसले रातमा र मातमा मात्र मेरो साथ दिए,

यी तिम्रा तिम्रा हात हुन्

जसले मेरा दाइ, जो दाइजो दिन सक्दैनथे

तिनका हात भाँचिदिए,’ (पेज ४७ : उही)

‘सगरमाथाको गहिराइ’भित्रका कविताहरूमा प्रयोग गरिएका पनिङ टेक्निक, (जस्तो, दाइ जो, दाइजो)  नेपालीमा ‘श्लेष’ सुन्दर हो । तर, कविताले खोजेको टोन, पनअनुसार उपयोग हुन नसक्दा त्यो पन (Pun) को कारणले कविता फन भइदिएको छ, फन्नी भइदिएको छ । न्युनतम कविताहरू सुन्दर छन् । केही कविताहरू जबर्जस्ती तन्काइएका छन् । नवराज पराजुली मनु मन्जिलियन पोएटिक अदाबाट हाइली इम्प्रेस्ड हुन् ? त्यो अर्कै कुरा । ह्यापिली डिभोर्स्ड एण्ड ह्याभ नो रिग्रेट्स ? यो त झन् हुँदै नभएको कुरा । एउटा फ्रेन्च उखान छ: ‘विवाहित जोडीमा केटी अन्धी भएकी राम्रो, केटा बहिरो भएको राम्रो ।’ ‘च्याउ’ कविता पढ्दा नारीवादीहरूले के अर्थ-अनर्थ लगाउने हुन्, त्यो चाहिँ भन्न नहुने कुरा । ‘सिमाना’ कविता भुइँ थच्चिन्छ, गुलजारको ‘लकीर’ र विजय मल्लको ‘छोरीलाई मानचित्र पढाउँदा’सँग राख्दा । ‘सपना’ कविता पढ्दा त्यो हास्यास्पद लाग्छ, भलै त्यसमा फ्रायडको छाया आएको किन नहोस् । उनका सबैजसो कविताहरू एलिट वर्गीय धर्राका हुन्, जहाँ विपन्न वर्गीय  दारिद्रय, आँसु, वेदनासित पनि रोमान्टिक भइन्छ ।

‘एक दिन मैले

मेरो देब्रे हातले उसको दाहिने हात समातेर सोधेँ:

‘तिमी किन सधैं मेरो देब्रेतिर मात्रै बस्छ्यौ ?’

‘उसले उसको देब्रे हातले मेरो दाहिने हात समातेर भनी:

‘किनकि

मेरो बुबाले

हरेक दसैंमा टीका लगाइदिँदा

मलाई भन्नुहुन्छ:

“छोरी !

ईश्वर सधैं तिम्रा दाहिने रहुन् ।” (पेज ११७ : वामपन्थी लभ)

एपिलग: 

हामी बच्चाबेलामा एउटा कविता गाउँथ्यौँ: ‘टालाटुली बटुली, कति राम्री पुतली ।’ पुतली बहुत सुन्दर हुन्थे । हामीलाई सानामा खेल्दा पुतली पनि आफूजस्तै साँच्चीकै लाग्थ्यो । तर, थियो त त्यो कृत्रिम । त्यसको विवाह गरिन्थ्यो, त्यसलाई खुवाइपियाइ गरिन्थ्यो । तर, सब केटाकेटी भुलभुलैया । नवराज पराजुलीको ‘सगरमाथाको गहिराइ’ त्यही ‘टालाटुली … पुतली’ हो । यी निर्दोष भइदिएका भए त ठीकै हुनेथियो । तर, त्यो एउटा बच्चाको मकुन्डोमात्रै हो । मकुन्डाहरूले विचार गर्दैनन्, अक्सर बिगार गर्छन् । केपी ओलीको राष्ट्रवाद र नवराज पराजुलीको कविता ‘सगरमाथाको गहिराइ’ एउटै पो लाग्छ हाउ । बिनसित्तिको भीड मात्रै धेरै; खप्पर मात्रै धेरै, मगज केही न केही ।

नवराज पराजुली आफ्ना अन्तर्वार्ता, कविताहरूमा  पूर्वीय दर्शन एवं साहित्यका कुरा गर्छन् । पूर्वीय साहित्यको मूलभूत पाटो वक्रोक्तिको बारेमा त पक्कै उनलाई थाहा नै होला । नभए उनलाई सतही कुरा नगर्न भनिदिनुस् ।

लेखकको एउटा गुण ऊ स्वयं आफूलाई, आफ्ना रचनालाई व्यङ्ग्य गर्नु हो, गर्न सक्नु हो, न कि सस्तो वाहवाही । पाठकमाझ जाँदा त्यो लेख, कविता यति टाइट हुन जान्छ नि, पाठक श्रद्धाले नतमस्तक हुन जान्छ, न कि खिल्ली उडाउन सक्दै श्रद्धाञ्जली दिन चाहन्छ । नवराजका कवितामा त्यो वक्रोक्ति कहाँ छ, भूपी शेरचनको ‘भूपी शेरचन : एक व्यङ्ग्यात्मक सेल्फ पोर्ट्रेट’मा जस्तै ?

उदाहरणका लागि, ‘सगरमाथाको गहिराइ’को शीर्ष कविता झुर नै छैन, तर कविताको खतरनाक पाटो सघनता, जसको निर्धारण वक्रोक्तिले गर्छ, त्यो छैन । कविता बोल्ड हुनुपर्छ, टाइट हुनुपर्छ । टाइट भएपछि मात्रै हाइट ठडिन्छ । पहाड कति सघन छ, टाइट छ । पहाड टाइट भएन भने त्यसको उचाइ के हुन्छ ? सगरमाथा टाइट छ, त्यसैले त्यसको हाइट छ; त्यो सघन छ त्यसैले विघ्न छ । नदीको सघनता के हो ? त्यसको बहाव । त्यसको बहाव भएन भने त त्यो जम्छ, तलाउ बन्छ र त्यहाँ कराउँछन् त केवल भ्यागुताहरू । भ्यागुतोलाई त कुवा नै संसार हुन्छ, त्यसको विश्वदृष्टि कहाँ हुन्छ ?

‘सगरमाथाको गहिराइ’को पेज नम्बर पैंतालीस पल्टाउनुस् । त्यहाँ एउटा कविता छ: ‘सतीदेवीको गाण्डिव’ । त्यो कवितालाई नारीवादी भन्नुहुन्छ ? नारीप्रेमी भन्नुहुन्छ ? महिला उत्थानको विषयमा सिर्जना गरिएको भन्नुहुन्छ ? त्यो तपाईंहरूको भूल हुन जानेछ । किन ? त्यसको लागि पेज नम्बर अठचालीसमा जानुस् । त्यहाँ कविले लेखेका छन्:

‘तिम्रो यो अन्यायको अन्त्य गर्न

आज मैले अर्जुनबाट उसको गाण्डिव खोसेर ल्याएकी छु

र यसलाई चलाउन

मलाई कुनै कृष्णले भागवत् गीता सुनाइरहनुपर्दैन’

यो दाइजो प्रथाको विरोधमा लेखिएको कविता होला । त्यो आफ्नो ठाउँमा छ । तर, नारी आफैंं सृष्टि गर्न सक्षम छिन्, नारी आफैं आविष्कार गर्न सक्छिन् । आफ्नो हक र अधिकारका खातिर उनलाई किन फेरि कुनै पुरुषको हतियार (कविताअनुसार, अर्जुनको धनु गाण्डिव) को आवश्यता पर्यो ? कवितामा सुरुमा उक्त (दाइजो माग्ने) पुरुषलाई खेदो खन्नसम्म खन्ने, म आफ्नो हक आफैं लिन सक्छु भन्ने; अनि लास्टतिर आएर उहीँ महिलालाई किन उनका अधिकारका खातिर पुरुषकै हतियार चाहियो ? यो कविता त भूपिनको ‘विश्वसुन्दरी’जस्तै हो, जहाँ विश्वसुन्दरीको रूपमा ‘आमा’लाई चित्रण गरिएको छ । विश्वसुन्दरी कस्तो उपमा हो ? त्यो सबलाई थाहा छ । यस्ता कविताहरूले महिला मुक्तिको कुरा उठाउने हैन, बहसको वातावरण बनाउने हैन, मात्र भुलभुलैया हुन् यस्ता रचना, जसले कुनै निचोड निकाल्दैनन्, बरू बेकारको बकबास गरिरहन्छन् । महिलाको अधिकारका लागि महिला नै बोल्न सक्छन् भने, कुनै कृष्णले गीता सुनाउन नपर्ने भए अन्त्यमा उसकै हतियार खोस्नुपर्ने ? उसकै ऋचा, गीतावाणी चाहिने ?

नवराज पराजुलीको ग्याङ, फ्यानफ्लोअर बढी छ भन्दैमा, बहुमत उनकै हो भन्दैमा सरोनरले सत्यको वकालत नगरोस् ? भएको कुरा भन्दा बकबासलाई नगन्दा सयमा सय न कुनै डर न कुनै भय चुनौती स्वीकार छ । बकबास त एकदिन सरोनरले नगरे समयले त किमा बनाउँछ, बनाउँछ; तपाईंलाई दिगमिग लागोस् मतलब भएन ।

नवराज पराजुली मनु मन्जिलको पोएट्री रिसाइटेसनबाट हाइली ‘सुन साइँली सुन साइँली’ भएपश्चात् अथवा इम्प्रेस्ड भएपछि कवितासँग डेटिङमा जान थाले । कविताको लभको लभ्ली डेटिङमा जाँदैमा प्रेम चाहिँ सफल नै हुन्छ भन्ने त छैन नि । जस्तो कि एउटा भनाइ छ, ‘एउटा असल साथी कहिल्यै एउटा असल प्रेमी बन्न सक्दैन, र एउटा असल प्रेमी कहिल्यै एउटा असल श्रीमान बन्न सक्दैन ।’   (मेरा ‘सुरजका सातवाँ घोडा’ ।) होइन भने होइन भन्नुस् क्यारे ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया