पहाडका जनता हताश हुनु गद्दारहरूको जित हुनु हो, आन्दोलनलाई जारी राखौः जिएसएसएस

दिल्लीः दिल्लीमा गोर्खाल्याण्ड संयुक्त सङ्घर्ष समितिले सय दिनदेखि गोर्खाल्याण्डको निम्ति कार्यक्रम गरिरहेको छ। तर दार्जीलिङको विकासको लागि जिटीएको बोर्ड गठनको घोषणा भएपछि पहाडको राजनीति अझ गर्मिएको छ।

जीएसएसएसले विनय तामाङ र अनित थापाले गद्दार गर्दैमा १.५ करोड गोर्खाका भाग्य निर्धारणको लडाई समाप्त नहुने बताएको छ। समितिका अध्यक्ष किरण बिकेले जनताले सर्वस्व जिटीएको निम्ति नगुमाएको बताएका छन्।

‘कसरी 11 जना शहिदको रगत लागेको जिटीएको चौकीमा विनय तामाङहरू बस्ने सकेका हुन्, उनीहरूको गद्दारीले सारा गोर्खाहरूको शिर झुकाइदिएको छ,’ बिकेले भने, ‘सारा गोर्खा छुट्टै राज्यको निम्ति सबै गुमाउन तयार रहेको बेला जनताको सपनालाई पैसामा बेच्नेहरू इतिहासकै धब्बा हुन्।’

उनले राज्य र विनय तामाङले अनेकौं चलखेल गरे पनि जनताले उनीहरूको षडयन्त्रलाई सफल बन्न नदिने विश्वास पनि प्रकट गरेका छन्। उनले जिटीएविरुद्ध जनता सडकमा आउनु नै राज्य र केन्द्रलाई गतिलो सन्देश हुने पनि बताए।

यद्धपि आन्दोलन व्यक्तिपूजाबाट माथि उठेर गरिनुपर्ने अनि पहाडका जनता हताश हुनु नै ममता व्यानर्जीको जित हुनु रहेको पनि बताएका छन्।

आफूहरूले सयदिनदेखि जनतालाई एकसूत्रमा बाँधेर जनाकांक्षा पूरा गर्ने दिशामा शक्ति प्रदान गर्दै आइरहेको र यसलाई निरन्तर राख्ने पनि जनाए।

‘अहिले जनता हतास हुने कुनै कारण छैन, हामीले हिम्मतले काम लिनु पर्छ, बङ्गाल सरकारका सबै अस्त्र-सस्त्रहरु सकिसकेको छ, यसर्थ अन्तिम ब्रह्मास्त्रको रुपमा आतङ्कको प्रयोग गरिरहेको छ,’ बिकेले भने, ‘हामीलाई आतङ्कित बनाएर अनि हाम्रो कतिजना गद्दारहरुलाई लिएर हाम्रै बिरुद्ध षड्यन्त्र गरेर हामीलाई घुँडा टेकाउने प्रयास गरिरहेको छ।  यो आतङ्कको समयमा पनि हामी अडिग बस्नु भनेको हाम्रो जित हुनु हो। किनकि यसपछि ममतासित हामीलाई प्रहर गर्ने अर्को कुनै हतियार छैन।’

पहाडका जनतालाई हिमाल जसरी अडिग भएर कष्टको सामना गर्ने अनि नानीहरुको सुन्दर र सुरक्षित भबिष्यको खातिर त्यसलाई निरन्तरता दिने आह्वान पनि उनले गरेका छन्।

‘राष्ट्रीय आन्दोलनको समीकरण बनिँदैछ, हामी सदैव जनताको साथमा छौं,’ बिकेले भने, ‘ यो दुःखको साथी बनेर आन्दोलनलाई निरन्तरता दिन जिएसएसएस ठोस रणनीतिसित अघि आउनेछ।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares