अवसानतिर आन्दोलनः अब बन्द कि जिटीए-2 ?

Girl in a jacket

नरेन्द्र तामाङ


100 दिनको लगातार बन्द पछि जिटिए 2 एउटा उपलब्धिको रुपमा बङ्गाल सरकारले प्रदान गरेको छ घुम्दै फिर्दै रुम्जाटार भने जस्तो। जनताको निम्ति 100 दिनको यत्रो त्याग र बलिदान अनि  नोक्सानको फल शुन्य भयो। अब प्रश्न खडा भएको छ जनताले जिटिएको समर्थन गर्ने कि बन्दको। त्यसो त जनताको आकांक्षा जिटिए अवश्य होइन, त्यही नेताहरु जो आज जिटिएको चौकीमा बस्न गइरहेछन् उनीहरुकै नेतृत्वमा जनताले चौक बजार,मेलाटार र पहाडका अन्य ठाउँहरुमा जिटिएको खेस्रा जलाएका हुन्।

जनताले यसलाई अवमान्य मात्र गरेका होइनन् तर यत्रो सयदिनसम्म गोर्खाल्यान्डको निम्ति भनेर आफ्नो सर्वस्व त्याग पनि दिएका हुन्। धेरै जनतालाई आर्थिक नोक्सानी भयो होला जो समय कालमा भरपाई पनि हुन सक्छ तर 11 वटा घरले आफ्नो परिवारको एउटा सदस्य गुमाएका छन्। उनीहरु कसैका छोरा-छोरी , कसैका बाबा-आमा कसैका दाजु बहिनी त कसैका दिदी भाइ होलान्  उनीहरुको मनमा के बित्दै होला, कल्पना पनि गर्न सक्दैनौ।

जसको भरपाई कहिले हुने छैन। जिटिए-2 को घोषणाले जनता आक्रोशमा छन्, विचलित बनेका छन्  तर अब गर्ने के ? भन्नलाई त यसचोटिको आन्दोलन जनताको आन्दोलन हो पनि भनियो तर नेताको इशारामा जुलुस र नारा बाहेक जनताले केही गरेनन्, न त नेतृत्वहरु भड्किएर जाँदा सही बाटोमा ल्याउन नै सके। इमान्दार नेता भन्दै, नेताको पछि जनता लागे। जुन नेताकोमा कुनै योजना नै थिएन, कुनै रणनीति नै थिएन। तर योजना र रणनीति हुने नेताहरुले आज जिटिए-2 हात पारिसके।

अब आज जनता यस्तो दोसाँधमा खडा छन्, जहाँबाट कुन बाटो जाने कसलाई समर्थन गर्ने कसलाई विरोध गर्ने सोच्न नै सकेका छैनन्। जिटिए जनआकांक्षा होइन अब गोर्खाल्यान्ड नै चाहिन्छ भनेर जिटिएलाई समर्थन नगर्ने त पक्का हो तर यसलाई बिरोध कसरी गर्ने अनि समर्थन चैं कसलाई गर्ने ? त्यही सय दिनदेखि गरिँदै आएको बन्दलाई ?

सबै जनतालाई थाहा छ त्यो पनि निकासको बाटो अवश्य होइन। बन्द गरेर न त गोर्खाल्यान्ड प्राप्त हुन्छ न त जनाकांक्षा नै पूर्ण हुन्छ। त्यो पनि यस्तो बन्द जुन बन्द गर्न लाउनेकोमा आन्दोलनको कुनै रुपरेखा र कुनै रणनीति नै छैन। अब बुढीको रिसले सौता कुट्नु पनि आफ्नै नोक्सानी हो। जिटिए थाप्यो भनेर बन्दको समर्थन गर्नु पनि मुर्खता नै हुन्छ तर अब यहाँ ठूलो प्रश्न खडा भएको छ कि अब गोर्खाल्यान्डप्रेमी जनताले गर्ने के?

आज जिटिए-2 मा सम्झौता गरेर बिनय खेमाले गल्ती गरेको छ, तर त्यतिकै गल्ती बिमल खेमाको पनि छ अनि अन्य राजनैतिक दलहरुको पनि छ। सबैभन्दा ठूलो गल्ती जनताबाटै भएको छ, कारण नेताले नेता बनाउदैन नेता बनाउने जनता नै हुन्। कुन नेतृत्वले कहाँ पुऱ्याउनु सक्छ र कुन नेतृत्वले के गर्न सक्छ त्यो जनताले बुझ्नु जरुरी छ। सबै जनता शिक्षित त हुन सक्दैनन् तर सचेत हुनुपर्छ। जनता सचेत नहुँदा नै यसरी बारम्बार जनता नै ठगिन्छ। आज आन्दोलन भङ्गालिएर गयो। यो आन्दोलन जनताको हो भनिए पनि अब जनताले केही गर्नसक्दैन। यो जमिनी हकिकत हो। तर जनताको शक्ति भनेको भोट हो जुन भोट धेरै जनताले भावनामा आएर या त बहकाउमा आएर या त दुई चार पैसाको लोभमा आएर गलत प्रयोग गर्ने गर्छ, जसको परिणाम आजको जस्तो हुन्छ।

जनताले जहाँ आफ्नो शक्ति देखाउनु पर्छ र देखाउनु सक्छ त्यहाँ देखाउनु पर्छ तर आजसम्म पहाडमा त्यस्तो भइरहेको छैन। आज जुन परिस्थिति खडा भयो त्यसको मुल कारण जनता नै हुँदाहुँदै पनि खस्रो रुपमा निर्क्योल त गर्नै पर्छ। आज जसरी आन्दोलन तुहेर नै गइसक्यो, हुन त गोर्खाल्यान्डको आन्दोलन जबसम्म गोर्खा रहन्छ तबसम्म तुहियो, सकियो भन्न मिल्दैन। कारण यो कुनै न कुनै रुपमा कहिले न कहिले बौरिएर उठ्ने नै छ। तर आजको सन्दर्भमा आन्दोलन असफल नै भइसकेको छ र यो हुनुमा ठूलो दोष जिएमसीसीको छ, तर जिएमसीसी फेल हुनुमा सबै राजनैतिक दल मुलरुपमा गोजमुमो अनि अन्य दलहरु उत्तरदायी छ। यदि आज जिएमसीसी सक्रिय भएको भए न त गोरामुमोले चिट्ठी लेख्थ्यो न त बिनय र अनित नवान्नको बैठक जान्थे न त  राज्य सरकारले जिएमसीसी  किन्न नै सक्थ्यो न त  जिटिए नै थाप्थ्यो।

हामी त इमान्दार छौं उनीहरु नै बिके, उनीहरुले नै गद्दारी गरे भनेर बिमल गुरुङ र गुरुङपन्थी पनि दूधको सोझो हुनु सक्दैन। गल्ती बिमल गुरुङको पनि छ।  एकातिर गणतान्त्रिक आन्दोलन भन्दै गाडी जलाउने, सरकारी कार्यलय जलाउने अनि त्यति गरेर यो त टेलर मात्र हो पिक्चर अब हुन्छ भन्ने अनि भनेपछि बम पड्किने के हो?  मानौ बम पड्काएन तर त्यस्तो भाषण  नै किन ?

एक त जिएमसीसीलाई आन्दोलनको उत्तरदायीत्व दिएको भए आज बिमल गुरुङ जनताबिच नै हुने थिए या त त्यस प्रकारको बयान नै नदिएको भए आज बिमल गुरुङलाई पुलिसदेखि भाग्दै हिड्नुपर्ने थिएन। अब जनताले कुरा स्पष्ट बुझ्नुपर्छ न त जिटिए-2,  न त बन्द। दुवै कुरा जनताको आकांक्षा पूरा गर्ने बाटो नै होइन।

एकातिर अब बन्द गरेर गोर्खाल्यान्डमा पुगिने पनि होइन तर अर्कोतिर जिटिए-2 -ले पनि  गोर्खाल्यान्ड आन्दोलन सधैँ सधैँको लागि थन्काउन सक्ने पनि होइन। तर अब जब पनि गोर्खाल्यान्ड भनिनेछ पुरानै पाराले रट लगाएर हुँदैन। यो दुईवटा नै बाटो हुँदैन भनेपछि अबको नयाँ बाटो नयाँ प्रकारले खन्नु जरुरी छ।

जति नै नयाँ कमिटीहरु बनिए पनि जति नै नयाँ पार्टीहरु खोलिए पनि भन्ने कुरा चैं त्यही पुरानै हो भने नयाँ उपलब्धी पनि केही हुनेछैन। यस्ता नयाँ कमिटी र नयाँ पार्टीहरुले खुबै गरे त्यही पुरानो कुराको ज्ञापन जुन पहिले 5 पन्न थियो भने अब 10 पन्ना बनाउला। पहिले ज्ञापन लिएर जानेहरु बोल्न नसक्ने, सानो अहोदाका या त नपढेकाहरु थिए भने नयाँमा अलिकती बोल्नुसक्ने, ठुला अहोदाका र पढेकाहरु होलान्। तर कुरा त पुरानै हो भने नयाँ परिणामको अपेक्षा कसरी गर्नु?

अब आउने नेतृत्वहरुलाई जनताले सोध्नुसक्नु पर्छ, के छ नयाँ कुरा ?  के कस्तो छ अघिको रणनीति ? र अब चै कता?  जिटिए कि बन्द भन्ने कुरामा टाउको नदुखाएर अब नयाँ  के र कसरी भन्ने कुरामा नै सोचे परिणाम केही निस्केला कि !

 

जिएमसीसी कति फेल कति पास

वास्तवमा जिएमसीसी कति फेल र कति पास भन्ने कुराको चर्चा गर्नुभन्दा पनि सोझै  जिएमसीसी किन फेल भयो भन्ने कुराको चर्चा गरेकै ठिक होला। कारण कति फेल कति पास भन्दा पनि फेलै फेलको रातो दाग लागेको छ जिएमसीसीको प्रोग्रेस रेपोर्टमा। हुन त कुनै असन्तुष्टी र अन्दोलनको बाईप्रडक्ट होइन गोर्खाल्यान्ड आदोलन। तर हरेक पल्ट यस्तै हुँदै आइरहेछ अनि यो पाली पनि बङ्ग्ला भाषा बिरोधको आन्दोलनको बाइप्रडक्टकै रुपमा शुरु भएको हो गोर्खाल्यान्ड आन्दोलन।

त्यसैले नै यो अन्दोलनको न त कुनै योजना थियो न त कुनै रणनीति नै तर बर्षौदेखिको जनताको चाहना रहेको सामुहिक नेतृत्वले यो पाली शुरुमा नै विजारोपण गऱ्यो। जनताले बेजोडको मेन्डेट दियो सामुहिक नेतृत्वलाई। सामुहिक नेतृत्वमा अघि बढ्ने भनिएको अन्दोलनमा सहभागिता नजनाए त्यस समय त्यो दल राजनैतिक होस् या त अराजनैतिक जनताको दरवारमा गोर्खाल्यान्ड बिरोधी बनिने सम्भावना थियो। यही कारण पनि सब एक भए, जिएमसीसी गठन भयो तर सबै जनताको चाहनामा मात्र, एक भएर केही गर्नुपर्छ भनेर होइन।

जिएमसीसीमाथि ठूलो आस्था जनताले राखे तर नेतृत्ववर्गले केवल जनताको चाहानालाई ध्यानमा राखेर औपचारिकता पूरा गरिदिए अनि प्रत्येक दलहरुले एक दुइजना प्रतिनिधि पठाए। जिएमसीसी फेल हुनुको प्रथम कारण प्रत्येक राजनैतिक दलहरुले जनताको मेन्डेटको कदर नगरेर जिएमसीसीमा कुनै पनि राजनैतिक दलको शिर्षस्थ  नेतृत्वहरुको सहभागिता नहुनु नै हो। मोर्चा अध्यक्ष बिमल गुरुङ्गदेखि लिएर क्रामाकपा अध्यक्ष आरबी राई, गोरामुमो अध्यक्ष मन घिसिङ, जाप अध्यक्ष डा. हर्कबहादुर छेत्री, गोर्खालिग अध्यक्ष भारती तामाङको सहभागिता नै कहिले भएन। जब कि जिएमसीसी गठन गरिँदा सबै दलका अध्यक्षहरु एक्स अफिसियो सदस्य हुने प्रवधान पनि राखिएको थियो। त्यसैले यी दल र नेतृत्वहरु जिएमसीसीप्रति कतिको इमान्दार र सिरियस थिए भन्ने प्रमाण गर्दछ। वास्तवमा जिएमसीसीको महत्त्व यी दलका नेतृत्वहरुले बुझेनन् अनि एका अर्काको सुपरिमेसीको द्वन्दमा आफुलाई अघि राख्दै तल्लो स्तरको नेताहरुलाई नै जिएमसीसीमा पठाए अनि त्यहीँ फेल भयो जिएमसीसी।

दोस्रो, मोर्चाले जिएमसीसी गठन भएर पनि आफ्नो वर्चस्व कायम राख्दै नेतृत्व गोजमुमो कै हुनुपर्छ भन्ने नीति अप्नायो। एकातिर जिएमसीसी पनि चाहिने तर जिएमसीसी भन्दा हामी ठूलो हो, जिएमसीसीले हाम्रै कुरा मान्नुपर्छ भन्ने धारणा मोर्चाले राख्यो अनि राख्यो मात्र होइन जिएमसीसीको हरेक सभा अघि आफ्नो फैसलाहरु सुनाएर त्यो प्रमाण नै गऱ्यो। यही हो जिएमसीसी फेल हुनुको दोस्रो कारण।

तेस्रो, जिएमसीसीभित्र जो जसले चै ठिक कुरा गर्दै थिए, यसलाई सही दिशा दिने प्रयास गर्दै थिए अनि अरुलाई पनि चेक गर्दै थिए, मनपरि हुनु दिएका थिएनन् र गोर्खाल्यान्ड प्राप्तिको निम्ति क्षेत्रीय स्तरको राजनीतिदेखि माथि उठेर  यसलाई राष्ट्रिय स्तरमा लानुपर्छ,  त्यहाँ  सही र प्रभावशाली रणनीति तयार गरेर काम गर्नपर्छ भन्दै थिए, उनीहरुलाई कतिपय क्षेत्रीय स्तरबाट माथि उठ्नै नसक्ने  राजनैतिक दलहरु मिलेर षडयन्त्र नै गरेर किनाराकृत गऱ्यो। जुन कुरा चैं जिएमसीसी फेल हुनुको प्रमुख कारण बन्यो जो सम्पूर्ण गोर्खाहरुको निम्ति दुर्भाग्यपूर्ण र अत्यन्त दु:खद कुरा हो।

जनताले एकताको निम्ति जिएमसीसीलाई साथ र मेन्डेट भने दिएकै हो तर जिएमसीसीले न त जनताको मन जित्न सक्यो न त केही काम र कार्यक्रम नै गर्न सक्यो। यदि माथि उल्लेखित कारणहरु नहुँदो हो त आज जिएमसीसी फेल हुने थिएन अनि जिएमसीसी फेल नहुनु हो भने आज आन्दोलन फेल हुने थिएन। यसरी बिनय र अनितहरु जन्मने थिएनन्। बिमल गुरुङ जङ्गल पस्नु पर्ने नै थिएन। अब आउँदो दिनमा पनि यसरी जिएमसीसी जस्तो कुनै कुरो बनाएर आन्दोलन गर्ने हो भने पहिले त पहिलो पङ्क्तिका नेताहरु अगाडि हुनुपर्छ अनि पार्टिको एजेन्डा त्यागेर मुद्दाको निम्ति निस्वार्थ भावना लिएर आएको हुनुपर्छ नत्र फेरि फेरि पनि फेल भई नै रहने छ।

 

जुझेर होइन बुझेर आन्दोलन गर्न जरुरी

त्यसो त कुनै आन्दोलनको बाइ-प्रडक्ट होइन गोर्खाल्यान्डको आन्दोलन। बङ्गला भाषा पढ्न लगायो भनेर गरिने अन्दोलन होइन गोर्खाल्यान्डको अन्दोलन।  जिटिएमा हस्ताक्षेप भयो भनेर गरिने आन्दोलन होइन गोर्खाल्यान्ड अन्दोलन।  तेलेङ्गना राज्य निर्माणको घोषणा भयो भनेर गरिने आन्दोलन होइन गोर्खाल्यान्ड आन्दोलन। न कि छैटौं अनुसूची लागुहुनु हुँदैन भनेर गरिने आन्दोलन नै हो गोर्खाल्यान्ड आन्दोलन। तर बिडम्बना आजसम्म त्यही नै भइरहेछ।

बाई- प्रडक्टको रुपमा गरिएको अहिलेसम्मको आन्दोलनहरु योजनाविहिन छ र नै बारम्बार फेल भइरहेछ। उद्देश्य राम्रो भए पनि उपाय र योजना सही नभएपछि त्यो राम्रो र सही उद्देश्य पनि गलत भएर जान्छ। आज त्यही स्थिति दार्जीलिङ पहाडमा सृजना भइरहेको छ। लक्ष्य प्राप्तिको निम्ति धेरैवटा कुराहरुको जरुरी पर्छ। इमान्दार नेता, सचेत जनता र प्रभावकारी कार्यक्रम, यो तीनवटा कुरा प्राथमिक रुपमा रहेको हुन्छ भने यो तीनवटा कुराले मात्र पनि पुग्दैन।

इमान्दार नेता भएर मात्र हुँदैन प्रभावशाली कार्यक्रम अनि दक्ष कार्यकारिणी दल हुनुपर्छ। अर्कोतिर गोर्खाल्यान्डको निम्ति जनता समर्पित छ।  सयप्रतिसत त्याग र बलिदान दिनसम्म तयार छ तर सचेत छैन। सबै जनता शिक्षित हुनुपर्छ भन्ने छैन तर सचेत हुन जरुरी छ। गोर्खाल्यान्डको नाममा जे गर्नलाए पनि आँखा चिम्लेर गर्ने प्रवृत्ति जनताले त्याग्नुपर्छ, कालोलाई कालो र सेतोलाई सेतो भन्न सक्नुपर्छ अखिर गणतन्त्रमा जनता नै सर्वपरी हो।

के गर्दा गोर्खाल्यान्ड प्राप्तिमा सहयोग पुग्छ जनताले जान्नु जरुरी छ, जनता भनेको टेवा दिने हो नेताले गरिरहेको कामको टेवा र थप साथ जनताले दिनुपर्छ तर नेताले के काम गर्दैछ र सही गर्दैछ कि छैन त्यो बुझेर नै साथ दिनु जरुरी हुन्छ। नेताको गलत कामलाई साथ दिए नेता सङ्गै जनताले पनि दुःख पाउछ अनि नेताले चैं गोर्खाल्यान्डको निम्ति केही गरेको छैन जनताले टेवा मात्र दिए केही फल प्राप्त हुनेवाला छैन।

थाङरा जति नै मजबुत भएपनि सिबीनै कचल्टिएको छ भने त्यो सिबी कसरी फल्छ ? आज त्यही भइरहेको छ जनतारुपी थाङ्ग्रा मजबुत छ तर कचल्टिएको सिबी जस्ता नेताहरुको कार्यक्रमले यहाँ कुनै फल फल्छ कि भन्ने आशा गर्नु कतै गल्ती हुनसक्छ। आन्दोलन रिस्मा गरेर हुने होइन। रिस खा आफू बुद्धि खा अर्का भन्छ रिसले भएको बुद्धि पनि अरुले लान्छ आज हाम्रो बुद्धि बङ्गाल सरकारले लगेको जस्तो। ममताले जात जातमा टुक्रायो भन्ने रिसमा, केन्द्रले तेलेङ्गना गठन गऱ्यो भन्ने रिसमा, ममताले भाषा थोपेको रिसमा, ममताले हाम्रो मान्छे किन्यो भन्ने  रिसमा  गरिएको आन्दोलन नै फेल खाँदैछ।

हामी लक्ष्य प्राप्तिको निम्ति सही रणनीति र कार्यक्रम लिएर अघि बढ्नको साटो रिसमा बाझ्न र जुझ्न मात्र तल्लिन छौं। जुन भाँडामा गोर्खाल्यान्ड पाक्छ त्यो त तातिएको पनि छैन अनि कहिले र कसरी चुल्हामा बसाउने,  कसरी तताउने,  कसरी पकाउने कुनै योजना नै छैन। तर हामी त पानी थाप्ने भाँडा कालो भयो, चामल राख्ने भाँडा सानो भयो, भन्ने अर्थहिन कुराहरुमा बाझिरहेका छौं। जब कि भात पाक्नुसँग ती कुराहरुको कुनै महत्व नै छैन। पानी थाप्ने भाँडा कालो होस् कि सेतो भात पकाउन जाने पाकिहाल्छ, चामल राख्ने भाँडा सानो होस् कि ठूलो भात पाक्नुमा त्यसको कुनै हात नै हुँदैन।

रिसको झोंकमा बङ्गालसँग बाझेर न त गोर्खाल्यान्ड पाइन्छ न त बङ्गालले गोर्खाल्यान्ड हुँदा रोक्न नै सक्छ। भारत जस्तो सङ्घिय गणतन्त्र देशमा अलग राज्य बनिँदा कुनै पनि अर्को राज्यले न त रोक्न नै सक्छ न त बनाउन नै सक्छ। सक्ने भए आज झारखण्ड बनिने थिएन अनि उत्तर प्रदेश पाँच टुक्रा भइसक्ने थियो। कारण मायावतिको सरकारले यसलाई पाँच राज्य बनाउने घोषणा गरेको थियो। त्यसैले अब गोर्खाल्यान्ड प्राप्तिको आन्दोलन रिसको झोंकमा जुझेर होइन बुझेर अर्थात बुद्धि पुऱ्याएर गर्नु जरुरी छ।

हाम्रो मान्छे माऱ्यो भन्ने रिसमा एक दुईवटा गाडी र सरकारी कार्यालय जलाउँदा नेताले यो त कास्टिङ्ग मात्र हो पिक्चर बाँकी छ भनेर बयान दिने झोंक देखाउनु घातक बनिसकेको छ कारण त्यसपछि पड्केको बमलाई त्यो पिक्चर सम्झिनु स्वभाविक हो।  गान्धीले भएन भने हामीभित्रको सुवास जगाउँछौ भन्नु आज कति घातक बन्यो सो आँखा अघि छ। यस्ता कुराहरुले त सरकारको ध्यान आकर्षण गर्नु ठिक हो तर यस्ता कुराहरुले आन्दोलन फत्ते हुँदैन। आन्दोलन त टेबलमा नै फत्ते गर्नुपर्छ। बुझेर पाउनको निम्ति  होइन तर रिसको झोंकमा जुझ्न गरिएको यो योजनविहिन आन्दोलनले आज लक्ष्य प्राप्ति त होइन नेतृत्वको होडबाजीको सङ्घारमा पुऱ्याएको छ।

फलानाले जनतादेखि टाडा बसेर आन्दोलनको नेतृत्व दिन सक्दैन। न त फलानाले सरकारसँग मिलेर आन्दोलनको नेतृत्व दिन सक्दैन भन्ने नितान्त व्यक्तिगत कुराहरुको डोरी तनाईमा जनता बलीको बोका बनिरहेको छ। बन्द गरेरै गोर्खाल्यान्ड ल्याउँछु भन्ने भ्रमित मानसिकतामा पनि जक्डिएका छन्, कतिपय जनता तर यो त थाङ्ग्राले नै  सिबी फलाउँछु भन्नू बराबर हो।

हो, सिबी फल्न थाङ्ग्राको जरुरत छ तर सिबी नै कचल्टिएपछि थाङ्ग्राले आफै सिबी फलाउन सक्दैन यो पनि जनताले बुझ्नु पर्छ। अबको मागिएको त्रिपक्षिय वार्ता गोर्खाल्यान्डको निम्ति त होइन तर कुन नेतृत्वलाई निमन्त्रणा दिन्छ सो होड्बाजीको निम्ति चैं हो। यो जनताले बुझ्नु जरुरी छ। बन्द गरेर गोर्खाल्यान्ड हुँदैन। त्यसैले यो थाङ्ग्रालेनै सिबी फलाउने कुराको ढिट्पनाको पनि ओखती गर्न जरुरी छ। लडाईको मैदानमा चार कदम अघि बढ्न एक कदम पछि सर्नु पर्छ। त्यसैले बन्दको एक कदमलाई पछि सारियो भने चार कदम अघि जाने रणनीति तयार गर्नुपर्छ। जुझेर गोर्खाल्यान्ड प्राप्ति हुदैन बुझेर र बुझाएर नै प्राप्त हुन्छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया