बन्द, दोकानपाट खोल्नु जनताको हार, ममताको जितः राजिव शर्मा

विज्ञापन

दिल्लीः ‘बन्द जारी रहनु, दोकानपाट नखोल्नु भनेको छुट्टै राज्यको निम्ति राज्य सरकार विरुद्ध जनताले गरेको असहयोग आन्दोलन हो, बन्द खोल्नु, दोकानपाट खोल्नु भनेको गोर्खाल्याण्डको मुद्दा र आन्दोलन दबाउन राज्य सरकारले खेलेको षडयन्त्रलाई सहयोग गर्नु हो,’ गोर्खाल्याण्ड संयुक्त सङ्घर्ष समितिका संस्थापक सदस्य राजिव शर्माले खबरम्यागजिनलाई एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘बन्द जारी रहनु, दोकानपाट नखोलिनु भनेको जनताले आन्दोलन जारी राख्नु हो, दोकानपाट खोल्नु भनेको त जनताको हार र ममता व्यानर्जीको जित हो, जनताले पक्कै पनि यति कुरा त बुझ्नेछन्।’

आज दिल्लीमा मुद्दा बेच्ने नेताहरू विरुद्ध अनि आन्दोलन दबाउन ममता व्यानर्जीको सरकारले गरेको षडयन्त्र विरुद्ध जीएसएसएसले जुलुस निकालेको छ। प्रस्तावित गोर्खाल्याण्ड क्षेत्रमा बङ्गाल पुलिसको अमानवीय बर्बता, गोर्खाहरूप्रति भइरहेको मानव अधिकार हनन र लोकतन्त्रको हत्या बिरुद्ध  बिरोध जनाउँदै दिल्लीमा गोर्खाहरूले इण्डिया गेटको बडौदा हाउसदेखि कालो झण्डा लिएर जन्तर मन्तरसम्म पैदल मार्च गऱ्यो।

यता दार्जीलिङमा भने पुलिस प्रशासनले दोकानपाट खोल्न जबरजस्ती गरिरहेका छन्। केही व्यापारीहरू आजदेखि दोकानपाट खोल्ने निर्णय गरिरहेका छन्। यसै सम्बन्धमा शर्माले भनेका छन्, ‘बरू दार्जीलिङका जनताले त जनता कर्फ्यु लगाउनुपर्छ। घरभित्र बसेरै पनि आन्दोलन गर्न सकिन्छ। यसपालीको दसैंलाई पनि आन्दोलन बनाउनुपर्छ। आन्दोलनमा हानी नोक्सानी त हुन्छ नै, यतिका हानीनोक्सानी भइसकेको छ, अझ धेरै हुनसक्छ तर केही पाउनको लागि केही त गुमाउनु नै पर्छ। छुट्टै राज्य भएपछि सबैथोक सामान्य भइहाल्नेछ। तर बङ्गालको षडयन्त्रलाई सफलल बनाउन दोकानपाट खोल्नु त जाति, मुद्दा र आन्दोलन विरोधी कुरा हो।’

1942 मा भारतमा चलेको क्विट इण्डिया मुभमेन्टजस्तो दार्जीलिङका जनताले पनि क्विट बङ्गाल मुभमेन्ट गर्नुपर्ने बताउँदै उनले बङ्गाल सरकारको दमनको विरोधमा जतिखेर एक हुनुपर्ने हो, उतिखेर नै दार्जीलिङ कमजोर हुनु सारा गोर्खाहरूको आकांक्षामा घात पुऱ्याउनुसमान हुने पनि बताएका छन्।

‘जबसम्म अन्तिम प्राप्ति हुँदैन तबसम्म आन्दोलन जारी राख्नुपर्छ। तीन महिनामा नै जनता थाक्नु भनेकै जनताको दुर्वलता हो, त्यही दुर्वलतामाथि सरकारले खेलिरहेको छ,’ उनले भनेका छन्, ‘जनता जागेको छ, आन्दोलनको हिरो नै जनता हुन्, जीटीए-2 दिइसकेर पनि बन्द नखोल्नु भनेको जनताको आकांक्षा जीटीए-2 होइन भनेको हो। दोकानपाट खोले, गाडी चलाए, बन्द खोले दार्जीलिङको जनताले ‘हामीलाई गोर्खाल्याण्ड होइन जीटीए-2 नै चाहिएको थियो’ भनेर सन्देश दिनु हो। सारा जनता हारेको सन्देश दिनु हो। के दार्जीलिङका जनताले जीटीए थाप्नु नै आन्दोलन गरेका हुन् त? जनताले प्रशासनको दवाबको जवाब दोकानपाट नकोलेर दिनुपर्छ। यसो गरे जनताले गोर्खाल्याण्ड बाहेक अरू थोक मान्दैनौं भनेर सन्देश दिएको हुनेछ।’

उनले आफूहरू दिल्लीबाट गर्नसक्ने सबै काम गरिरहेको अनि दार्जीलिङ हारे सारा गोर्खाहरूको हार हुने भन्दै दिल्लीमा आफूहरू मुद्दा र आन्दोलनको लागि प्रतिबद्ध र कटिबद्ध रहेजस्तै दार्जीलिङ पनि अडिग बसिदिने अनुरोध गरेका छन्।

उनले दार्जीलिङ आन्दोलनको इपिसेन्टर भएकैले धेरै समस्यामा रहेको बताउँदै जस्तै कष्ट आइपरे पनि जनएकता बनाइराख्ने अपिल पनि गरेका छन्।

‘जनता नै सङ्घीय प्रणालीको शक्ति हो, केन्द्र र राज्य यो शक्तिदेखि निश्चितरूपमा हार्नेछ भन्ने विश्वास आन्दोलनकारीमा हुनुपर्छ,’ उनले भनेका छन्, ‘दिल्लीबासीमात्र होइन सारा भारतका गोर्खाहरू दार्जीलिङका जनताको शक्ति र एकता हेरेर बसेका छन्। दार्जीलिङ नै थाके ममताको जित र सारा गोर्खाहरूको हार बन्नेछ। गोर्खाहरू थाक्ने जाति होइनन्। यसपाली गोर्खाल्याण्ड नभए कहिल्यै हुनेछैन। यसकारण आन्दोलनको श्रृङ्खला जारी राख्नुपर्छ।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया