दिल्लीमा गोर्खाहरूले देखाए बङ्गालको षडयन्त्र विरुद्ध कालो झण्डाः भाजपा कार्यालय अघि नारा जुलुसः जनताले भने- केन्द्रले शीघ्र हस्तक्षेप गर

विज्ञापन

दिल्लीः गोर्खा जनमुक्ति मोर्चाले कसैलाई सामेल नहुने अनुरोध गरे पनि हजारौं गोर्खाहरू आज गोर्खाल्याण्ड संयुक्त सङ्घर्ष समितिले दिल्लीमा गरेको जुलुसमा उपस्थित बने।

जीएसएसएसले प्रस्तावित गोर्खाल्याण्ड क्षेत्र दार्जीलिङमा गरिरहेको बङ्गाल सरकारको अत्याचार, बङ्गाल पुलिसको अमानवीय बर्बता, गोर्खाहरूप्रति भइरहेको मानव अधिकार हनन र लोकतन्त्रको हत्याको  बिरोधमा इण्डिया गेटको बडौदा हाउसदेखि कालो झण्डा लिएर जन्तरमन्तरसम्म पैदल मार्च निकाल्यो।

गोर्खा जनमुक्ति मोर्चाका डा. विनु सुन्दासले हिजो वाट्सएपमा जीएसएसएसले गरेको आजको मार्चमा मोर्चा समर्थकहरू कसैलाई पनि नगइदिने अनुरोध गर्दै भोइज म्यासेज सार्वजनिक गरेका थिए।

‘जबसम्म विमल गुरूङ र मोर्चालाई जीएसएसएसले समर्थन गर्दैन तबसम्म गोर्खाल्याण्डको नाममा जे गरे पनि जीएसएसएसका अवसरवादिलाई पश्रय दिन मोर्चा समर्थकहरू कोही पनि कार्यक्रममा नगइदिने अपिल गर्छु,’ बिनु सुन्दासले आफ्नो अपिल म्यासेजमा यसो भनेका थिए। तर हजारौं मानिसहरू आजको विक्षोप ऱ्यालीमा आए।

‘तोकिएकै ठाउँबाट हजारौं गोर्खाहरूले बङ्गाल सरकारको कालो नितिको विरोध गर्दै अनि केन्द्रले बङ्गालको दमननीतिमाथि हस्तक्षेप गर्दै शीघ्र नै छुट्टै राज्यको गोर्खाल्याण्डको निम्ति पहल गर्ने मागमा ऱ्याली निकाल्यौँ,’  जीएसएसएसका अध्यक्ष किरण बिकेले खबरम्यागजिनसित भने, ‘कालो झण्डा बङ्गाल सरकारको आन्दोलन बदाउने नीतिको विरुद्धमा बोकेका हौं। भाजपा कार्यालय छेउ पनि व्यापक नाराबाजी भयो। केन्द्र सरकार जागो, केन्द्र सरकार न्याय देउ, केन्द्रले शीघ्र हस्तक्षेप गर्दै गोर्खाल्याण्डको निम्ति सही पहल गर भन्ने नारा मानिसहरूले लगाए।’

यता बिनु सुन्दास एवं गोर्खा जनमुक्ति मोर्चाले मानिसहरूलाई ऱ्यालीमा आउन रोके पनि मानिसहरू ऱ्यालीमा आएकोले आफूहरू अझ उत्साहित बनेको पनि बताए।

‘उनीहरूले ( बिनु सुन्दासहरूले) यसप्रकारका काम धेरै अघिदेखि नै गर्दै आइरहेका छन्, बिमल गुरूङले यसबारे छानबिन गरुन्, उनीहरूले जुन भूलभ्रान्ति फैलाउने काम गरिरहेका छन्, त्यो राम्रो होइन,’ बिकेले भने, ‘एक दल र एक नेताको मुद्दा होइन गोर्खाल्याण्ड, समग्र गोर्खाहरू एकिकृत बनेर आन्दोलनमा अघि आउनुपर्छ भन्ने हाम्रो सिद्धान्त हो। यसप्रकारका बाधाहरूलाई जनता आफैले हटाउने छन्। आजको जनताको उपस्थिति पनि उनीहरूको लागि जवाब हो।’

यता दार्जीलिङमा बल र बन्दुकको भरमा ममता व्यानर्जीले आन्दोलन दबाइरहेको अनि सिक्किम र दिल्लीसम्म छिरेर गोर्खाहरूको आन्दोलनलाई बाधा दिने काम भइरहेको पनि उनले बताए।

‘जति नै दमन गरुन, हामी मुद्दा र आन्दोलनलाई राष्ट्रीयकरण गरेर नै छाड्नेछौँ,’ उनले भने, ‘ममताको सरकारले दुइचार गद्दार किन्दैमा आवाज दबिँदैन। आन्दोलन दब्दैन। राज्य सरकारले जीटी-2 दिएर आन्दोलन सक्ने सपना नदेखे पनि हुन्छ। दागोपाप दिएर पनि जनाकांक्षा मेट्न सकेन, 2011 को जिटिएले पनि सकेन भने जीटीए-2 देखाएर दबाउँछु भन्नु मुर्खता हो।’

जबसम्म राज्य हुँदैन, जनताको मनबाट गोर्खाल्याण्ड मेट्न नसक्ने भन्दै उनले दार्जीलिङमा पुलिसले दोकानपाट खोल्ने, बन्द खोल्ने दवाब दिएर आन्दोलनलाई नष्ट गर्ने कोशिश गरिरहेकोले सबैलाई सचेत बनेर दोकानपाट नखोलिदिने, बन्द जारी राखिदिने अपिल गरेका छन्।

‘ठूलो प्राप्तिको निम्ति भनेर दार्जीलिङले सँधै धेरै कुरा गुमाउनु परेको छ, तर बङ्गालले आन्दोलन र मुद्दा दबाउन अहिले विभिन्न षययन्त्र गरिरहेको छ, त्यसमा फँसेर दार्जीलिङले सारा गोर्खाहरूलाई राज्य अघि घुँडा टेक्नुपर्ने स्थिति उपार्जन गर्ने छैन भन्ने हाम्रो विश्वास छ,’ उनले भने, ‘दार्जीलिङका आन्दोलनकारीहरूको उर्जा, हिम्मत, त्याग, बलिदान र प्रतिबद्धताको कारण नै मुद्दा बाँचेको छ, यसलाई मर्न नदिउँ। पुलिसको डरले बन्द नखोलौं, दोकानपाट नखोलौं। एकताबद्ध भएर सरकारलाई दवाब दिउँ।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया