म समाज र आफ्ना भोगाइका गीत गाउने गीताङ्गे हुँ- पुष्पण प्रधान

Girl in a jacket

ठुल्दाजु डिस्कोर्स

पुष्पण प्रधान यसै पनि सबैले रुचाएका गायक हुन्। अहिले धेरजसो सामाजिक सरोकारका गीतहरू लिएर उनलाई मञ्चतिर गाइरहेका भेटिन्छन्। भर्खरै इन्दुरेमिन्दुरे एल्बम पनि निकालेका छन्। यसको ठुल्दाजु बोलको गीत धेरै चर्चामा छ। पुष्पणका केही चर्चित गीत, उनको साङ्गीतिक समाज र केही सरोकारका कुराहरूबारे उनीसित खबरम्यागजिनले कुराकानी गरेको छ, त्यसको सम्पादित् अंश यहाँ राखेका छौँ-सम्पादक

ठुल्दाजुसमाजलाई के भन्न चाहन्छ?

खासै भन्नु हो यो समाजलाई नै यो गीतले ठूल्दाजु भनेर सम्बोधन गरेको हो। हाम्रो एकैपक्ष सोच छ नि त, कि समाज केवल नेताले, राजनीतिक गर्ने मान्छेले, ठूल्ठूला धनी मान्छेहरूले मात्रै बनाउँछ भन्ने। समाजको यही सोचबाट समाजलाई बाहिर निकाल्न चाहन्छ यो गीत। र भन्न चाहन्छ, एउटा चोर नेताले भन्दा ठगेर पैसा कमाउने धनिमानीहरू भन्दा एउटा इमान्दार खटिखाने, जसले यो देशलाई केवल आफ्नो ईमान पसिना, मेहनत र श्रम दिएको छ, उनीहरूले पनि कम सहयोग गरेका छैनन्। तर ती व्यक्तिहरू जहिले पनि समाज देश र सबै सहुलियतहरूबाट उपेक्षित छन्। तीनै साधारण मानिसका गीत हो- ठूल्दाजु। जो, समाजलाई देश बनाउन इमान्दार श्रमजीवीहरूको सबैभन्दा धेरै ठूलो हात छ भन्न खोजिरहेको छ।

देशको निर्माणमा ठुल्दाजुहरूको इमान्दार श्रमको लगानी छ, तर सँधै ठुल्दाजुहरू किनारामा पर्छन्, किन यस्तो हुन्छ?

पैसा र चौकी नहुनु यो युगमा केही नहुनु हो। यहाँ न आवाज सुनिन्छ, न कसैको श्रम देखिन्छ। यस्तै श्रमजीवीहरूको श्रम र ईमान चुसेर ठूलो भई टोपल्नेहरूले उनीहरूको आवाज र चिच्याहट सुन्ने काम नै बन्द गरेको हुन्छ। आजकल त थुप्रै सिमारेखाहरू पनि छन् त्यसैले झनै कानसम्म आवाज नै पुग्दैन र साधरण मान्छे सँधै किनारामा पर्छन्।

भारत भ्रष्टचारमा गर्व गर्ने देश बनिसक्यो, यस्तोमा ठुल्दाजुको सपना कसरी साकार होला त?

साधरण मान्छेको सपना साकार नै हुन्छन् भन्ने ठोकुवा त गर्नै सकिन्न। कोशिष गर्न सकिन्छ यस्ता सपनाहरूलाई आकार दिने।

पन्छि गीतले देश छाडेर गएका नागरिकलाई देश बोलाउँछ, तर उनीहरूको निम्ति देशमा कुनै स्पेस छैन। विदेशिएकाहरूलाई दोहोरो मार दिएन त गीतले?

प्रश्न गम्भीर र जटिल त छ तर मलाई लाग्छ जस्तै भएपनि आफ्ना सन्तानलाई एउटा आमाले कसैगरी पनि पाल्न, हुर्काउन, बढाउन पछि पर्छ जस्तो लाग्दैन। सबल र योग्य सन्तानहरूको साथ र सहयोगले पनि बलियो बन्न सक्छिन् आमा। देश भनेको आमा नै त हुन् नि। विश्वास हुनुपऱ्यो नि त। देश बनाउने कोशिष पनि गरौन होइन? देशले, धरतीले तीघ्रे बनाइसकेपछि भाग्ने छोरो र छोरीलाई के भन्ने?

विदेश जानु पर्छ, रमाउनु पर्छ तर योग्य भएपछि यो देशलाई पनि सम्झनु पऱ्यो। बनाउनु पऱ्यो। देशै माया मारेर नबसौं भन्ने आह्वान हो पन्छिको।

विदेश पलायन भएकाहरूको प्रतिक्रिया के आयो?

विदेश रहरले मात्रै होइनन् कति करले जान्छन्। जतिले आफ्नो देशलाई माया गर्छन् उनीहरूले त पन्छि गीत भजन जस्तै सुन्छन् घर घरमा र मलाई फोन पनि गर्छन् अझै। धेरै मनपराइदिएका छन् यो गीत।

बुढाबामाथि निक्कै प्रतिक्रिया देखियो, बुढाबालाई गाली गऱ्यो भन्नेहरू पनि छन्, यो गीतको केन्द्रिय डिस्कोर्स के हो त?

बुढा बा- को केन्द्रिय डिस्कोर्स् भनेको ‘मान्छे उमेरले मात्रै बुढा हुन्नन्’ हो। मान्छेहरू सोचले पनि बुढा हुन्छन्। जो परिवर्तन मान्दैनन्, अरूको प्रगति मान्दैनन्, अरूको हिँड्ने बाटो प्रगतिको बाटोमा लम्पसार परेर निदाएको नाटक गर्छन्। हो, यस्तो सोचले बुढा भएका मान्छेहरूलाई संसारको नियम बुझाउने, परिवर्तन स्वीकार गर्न सिकाउउने र घच्घचाउने गीत हो बुढा बा।

के साँच्ची नै युवावर्गले बाबुको जुङ्गो बन्धकी राखेको र आमाले गुन्युचोली साटेको बिर्सेकै हो?

अहिलेको समयले त त्यही भन्छ। गीत, जब मान्छेको जीवन र समाजसँग जोडिन्छ, तब हिट हुने हो। बाबुको जुङ्गो सबैले मनपराउनुपछिको सत्य हो यो।

पुष्पणले गीतबाट गरिरहेको एक्टिभिज्मको केन्द्रमा कुन सपना छ

गीतले जीवनको हरेक पक्ष बोकेको हुन्छ। माया प्रेम, हाँसो रोदन, आमोद प्रमोद सबै चाहिने पक्ष नै हुन् जीवनमा। मलाई लागेको सानो कुरा चाहिँ के हो भने गीतले समाज र समाजप्रतिको दायित्व पनि बोकेको हुनुपर्छ भन्ने लाग्छ र यस्ता गीतहरू पनि सुन्नु पर्छ भन्ने लाग्छ। अरू ठूलो ठूलो कुरा आदर्श र थ्योरीहरू के के के चाहिँ थाहा छैन। मैले भोगेका विशेष कुराहरू मात्र गाउने हो। मैले म यही हुँ र यो मेरो हो, यसै गर्छु भन्ने चाहिँ छैन। किनकि खासै केहीबारे ठोस् ज्ञान छैन तर जीवन र भोगाई चाहिँ अरूको जस्तै मेरो पनि छ र त्यही भोगाई त म गाउन पाउँछु नि।

पुष्पण जम्न त पपुलर गीत ( धिनधिनाधिनहरू)-ले जमेको हो तर पछिल्लो समय पुष्पणको साङ्गीतिक दर्शन पुरै जनवादतिर सक्रिय देखियो, यो सिफ्टको आन्तरिक कथा के छ

जनर सिफ्ट भएको पनि होइन र त्यस्तो आन्तरिक कथा पनि छैन खासै। साङ्गीतिक यात्राभरि आफ्नो भाकाको खोज गरिरहन्छु म। सङ्गीत दुइ तरिकाले गरिरहेको छु। व्यवसायिक पनि र सामाजिक पनि।

चलचित्रको गीत व्यवसायिक छ हजुरहरूले सुन्नुहुन्छ केही समयपछि। कलेक्सन एल्बमको गीतहरू पनि र अरूलाई गरिदिएको सङ्गीत र लेखिदिएको शब्द पनि व्यवसायिक नै छन्। तर नितान्त मेरो मनको काम गर्दा र समाजिक गीत सङ्गीत गर्दा चाहिँ यस्तो हो। ३ किलो जन्मेको मान्छे ७० किलो हुन्जेलसम्ममा समाजले धेरै कुरा दिएका छन्, सिकाएका छन्, कति त माटोको हावाको, पानीको ओजन पनि छन् शरीरमा। थुप्रैको गाली, ताली माया सबै कुराहरूको ओजन पनि छ होला। यो शरीर मन र बुद्धिमा समाजको अधिकांश छापहरू परेको छ भन्ने कुरा मैले पनि सुन्न पाएँ एकदिन अजय थापा सरको मुखबाट।

पछि मज्जाले बुझेँ पनि र म यदि यो गीतको बजार राम्ररी बनिसकेको भए यस्ता गीत सङ्गीत सबैले सुन्ने र गाउने भए अर्थात गाएरै बाँच्न सक्ने भए सायद म अन्य कुरा गर्दिन थिएँ। फेरि मैले म जनवादी गायक नै बन्न चाहेको वा के त्यस्तो होइन ,.बस् मलाई समाज र आफ्नो भोगाइका गीत गाउने गीताङ्गे हुन मनपर्छ। आफ्नो भोगाई भन्दा उत्कृष्ट सृजना कहीँ कतै हुनैसक्तैन। किनकि यो नितान्त अलग हुन्छ अरू सबैको भोगाइबाट र उत्कृष्ट हुन्छ।

पुष्पणलाई धेरै पपुलर गायकहरूसित मञ्चमा देखियो तर जब पुष्पणको गीत शुरु हुन्छ, तब श्रोता पुरै आवेगमा आएको देखिन्छ, के कारण हो यस्तो?

ठूल्ठूला कलाकारहरूसँग एउटै मञ्च साझा गर्नु सौभाग्य हो। हाम्रा आफ्नै गीतहरू पनि बज्छन्। कार्यक्रमतिर गाइन्छ आजकल। जताततै सेयर गरिदिन्छन्। यो सबैभन्दा ठूलो खुशीको  कुरा हो। यति हो, हाम्रो प्रस्तुति हाम्रै ढङ्गको छ। सबैसित आ आफ्नो चयन हुन्छ। अधिकांश दर्शकहरू पूरै रमाइलो गर्छन्। गीतसँगै रून्छन्। आवेशमा आउँछन्। मलाई लाग्छ, प्रस्तुतिको असर हो। सबै टीमको।

बाह्र छोरा तेह्र नातीगीत सुनेर सामाजिक सञ्जालतिर धेरैले आफ्ना आमाबाबासित फोटो हाले, उनीहरूलाई कुन कुराले उद्वेलित गऱ्यो भन्ने लाग्छ?

बाबुको जुङ्गो गीत कल्पना होइन यथार्थ हो। सत्यले हरेकको मन छुन्छ नै। आमा बाबा ईश्वर नै हुन्।  मान्छेलाई यो गीतले आफ्नो कर्तव्यबारे कता कता झक्झक्याउँछ नै।

एकातिर भुलुक्क उम्लिने र स्वात्त सेलाउने गीतहरूको बजार चर्किरहेको बेला पुष्पणले किन सामाजिक सरोकारतिर हात हालेर रिस्क मोल्नु परेको?

काम कुनै सजिलो हुन्न। सर्जकहरूमा मेरो गीत सुनिदिनोस्, सबैले मन पराईदियोस्, जताततै बजोस् भन्ने चाहना चाँहि हुन्छ नै। किनकि सिर्जना सन्तान हुन् आफ्ना। त्यसैले भुलक्क उम्लिने स्वात्त सेलाउने गीतलाई सम्मान धेरै नै दिनुपर्छ किनकि यसको निर्माणमा पनि त्यतिकै मेहनत छ र एउटा सबैको निम्ति ‘एन्थम’ बनिनु सहज कुरा चाहि होइन।

म चाहिँ ती सर्जकहरूलाई पनि नमन गर्छु। व्यवसायिक सङ्गीत छोडेर मलाई यो सामाजिक चिन्ता र दायित्वको पाटो पनि मलाई धेरै मनपर्छ र मैले गाएको हो। रिक्स त के भन्नु, हाम्रो समाजमा सबैभन्दा ठूलो रिक्स हाम्रो भन्नेहरूसँगै छ। आफ्नो भन्नेहरूसँगै छ। उनीहरूको सोचररूसंगै छ।

बाहिर तेल दलेर चिप्लाउँछन्, काम पर्दा। काम सकियो, दुनो सोझो पाऱ्यो अनि सकियो। कामको प्रशंसा नगर्ने, मेहनत र लगन नदेख्ने, हजार राम्रो कुरा भूलेर एउटै देखेको नराम्रो कुरोलाई दुनियाँ सामु ल्याएर खोइरो खन्ने अनि ‘हामीले तिमीलाई बाटो देखाएको’ भन्ने सोचररूसँग रिक्स छ नि यार।

यस्तो रहरहरूसँग रिक्स छ। उन्नति मन नपराउने हाम्रोहरूसँग रिक्स छ। हामीलाई संसारले माया गरेपनि लोकल भनेर मुख बङ्ग्याउनेहरूसँग पो रिक्स छ त।

कमाई खान सङ्गीतकर्ममा लागिएको हो?

त्यस्तै त होइन तर जीवनले थुप्रै रङगहरू देखाए। मैले सङ्गीतले खाएको पनि छु पालिएको पनि छु बेला बेला। सङ्गीत र सृजना समाजलाई दिनलाई आफूले पनि खुवाएको छु। त्यो चाहिँ सङ्गीत निर्माण पक्षहरूमा।

त्यसैले आजकल फ्रीमा अरूको बारी जोतिदिनु, अरूलाई सित्तैमा महान बनाइदिनु र धन्यवाद् थापेर गजक्क हुनु मन पर्दैन। किनकि हामीले खदा ओडाइदिँदा कसैले गीत दिँदैन। बाजा बजाइदिँदैन। सित्तैमा रिकर्डिङ गरिदिँदैन। र भिडियो बनाइदिँदैन, बजाइदिँदैन।

जनसपना बेचेर शान्ति स्थापनाको लागि कलाकारहरूलाई प्रयोग गरेको घटना केही अघि पनि देखियो, निक्कै विवाद पनि चल्यो। कलाकारजस्ता सचेत नागरिक किन मञ्च पाउँदैमा यति सतही बनेको?

अभाव पनि यति हुनु हुन्न कि स्वभाव बिग्रोस्। कलाकार पहिला आत्माले बाँच्नु पर्छ अनि समाजको काम आउँछ। एउटा कलाकारले उ कलाकार हो भनेर समाजलाई प्रमाण दिन युगौं लाग्छ।

संसारले सराहना गरेपछि मात्रै समाजले स्वीकार गर्छ, हाम्रो समाज त्यस्तो छ। उसले गर्दा आफूलाई फायदा नहुन्जेल समाजले या समाज बनाउनेहरूले अङ्गाल्दैनन्। एक ठाउँमा हेर्दा त्यो मञ्चको कुरा गलत देखिए पनि कलाकार भएर उभिएर हेर्दा उनीहरूको हक र अधिकारको कुरा नियाल्दा केही जायज पनि लाग्छ।

यत्ति हो यो पहल पहिलैदेखि नै हुनुपर्ने थियो। कलाकारहरूले जहिल्यै समाज निर्माणमा सहयोग गरेका छन् र गर्छन् पनि । कतिवटा कुरा देखिएजस्तै नहुनु पनि सक्छ, त्यसैले समाजको पनि कर्तव्य बन्छ यस्ता कलाकारहरूप्रति जसले भोलिको दिनमा समाज बोक्छ।

सङ्गीतको प्रभाव युनिभर्सल बन्छ, राम्रो कुरा दिन सक्यो भने कुनाबाट पनि उसले विश्वमा आफ्नो पहिचान बनाउँछ, यस्तोमा हाम्रा सङ्गीतकर्मीहरू आफूलाई स्पेस दिएन भनेर रोइकराई गर्नु मनासिव हो र?

आजकल जे देख्यो त्यस्कै पछि लाग्छन् मान्छे। वास्तवमा सबै उत्कृष्ट हुन्छन् आ आफ्नो ठाउँमा। सबैसित आफ्नो तर्फबाट राम्रै कुरा दिउँ भन्ने चाहना हुन्छ नै। प्रचार प्रसार पनि अहिलेको युगमा ठूलो फ्याक्टर हो। सबैले भाग्य आफै लेख्छन् भन्ने म मान्दिन। भाग्य लेख्न सक्ने पनि भाग्य हुन्छ मान्छेको, जसको छ उसले सक्छन्।

सबैको बसमा यो भाग्य हुन्न। म त भाग्यमा धेरै विश्वास गर्ने मान्छे। किनकि म मान्दछु म जस्तै चाहिँ कोही नहोला तर म भन्दा धेरै जान्ने र राम्रो गाउने छन्। मेहनत पनि गरेका छन् मैले भन्दा धेरै। तर सबै आज यो स्थानमा छैनन् र म हुनु मेरो कर्मसँगै भाग्य पनि हो भन्छु म। वास्तवमा साह्रै सत्य कुरा त संसारले कहिले देख्न र सुन्नै पनि पाउँदैन।

जो हरपल लुकेर बसेको हुन्छ। यति सत्य हो लागिरहनु पर्छ हिँडिरहनु पर्छ। कति कुरा आफ्नो हक अधिकारको निम्ति बोल्नु पनि पर्छ। गाएर मात्रै पनि हुन्न। लाइनमा बस्नुपर्छ। आफ्नो पालो कुर्न सक्नुपर्छ। स्पेशल सोर्स छ भने धेरै राम्रो। होइन भने धैर्यता हुनुपर्छ। पालो त आउँछ नै तर घमण्डी चाहिँ हुनुहुन्न। घमण्डी मान्छे भाले मेवाको फूल जस्तै हो जो फूल्छ तर फल्दैन।

पहाडको पैसा बाहिरका गायकहरूले लग्यो भन्दै आफ्नो स्पेसको दाबी गर्ने आन्दोलन पनि भइरहेको देखिन्छ, यो कस्तो साइकोलजीको नतिजा हो?

म अरू कुरा त बुझ्दिन। न त पहाड़को राजनैतिक कुराहरूसँग नै म त्यति परिचित छु। तरपनि कति कुरा कलाकारहरूको जायज लाग्छ। किनकि नेपाली सङ्गीतलाई ठूलो टेवा दिएको हो दार्जीलिङ, कालेबुङ, खरसाङ, डुवर्स सबैले।

यताका कलाकारहरूको सम्मान गरेको पाउँछौ अहिलेपनि नेपालले। हामीले अहिलेको चर्चित अनुहारहरू चिन्नु हेर्नु र सिक्नु छ त्यो अभिन्न पाटो हो अहिलेको। तर एकजना, दुइजना बाहिरबाट ल्याएर २ जना २ जना यताकै स्थानीय कलाकारहरूलाई पनि त (अवसर होइन नि फेरि सम्मान गरेर) मञ्च दिनुपऱ्यो नि।

किनकि यो ठाउँ, यो समाज चिनाउने त पछि उनीहरू नै हुन्। नाक घोक्राउनु मात्रै अनि समाज चाँहि? पछि हाम्रो फलानो मात्रै भन्नु? त भएन नि। अवसर होइन त्यतिनै रकम नदिए पनि केही कम दिेएपनि सम्मान त दिनुपऱ्यो नी। यस्तो हुँदैन अहिले।  स्थानीय कलाकारहरूको आवाज उठ्नु कसो कसो सही लाग्छ पनि मलाई। साइकोलजी चाहिँ खै म बुझ्दिन हौ। हाहाहाहा।

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया