अनित थापा समूहद्वारा युवा मोर्चा नेता टासी भोटियालाई कुटपिटः चटकपुरमा जल्यो यात्रीवाहन

विज्ञापन

कालेबुङः  सिपाही धुरा गोर्खा जनमुक्ति मोर्चा सचिव टासी भोटियालाई अनित थापा समूहले कुटपिट गरेको समाचार प्राप्त भएको छ। मोर्चाका एक कार्यकर्ताले खबरम्यागजिनलाई बताए अनुसार अनित थापा समर्थकहरूको गस्ती वाहन टुङ तर्फ गइरहेको थियो।

उनीहरूले बाटोमा सिपाही धुरा गोर्खा जनमुक्ति मोर्चा सचिव टासी भोटियालाई देखे। उनीहरूले त्यहीँ उत्रिएर भोटियालाई कुटपिट गरे। धेरै चोटपटक लागेको भए पनि भोटिया अस्पताल गएनन्।

‘अस्पतालमा नै उनलाई आक्रमण हुने डर भएकोले भोटिया घरै गए,’ उनले भने, ‘अनित थापा लगायत उनका समर्थकहरूको विरुद्धमा नारी मोर्चा र युवा मोर्चाले प्राथमिकी दर्ता पनि गरेको छ।’

उनी अनुसार भोटियालाई कुटपिट गरिरहेको गाउँलेहरूले देखेपछि भोटियालाई बचाउन गाउँलेहरू अनित थापा समर्थकहरू विरुद्ध भिड्न थुप्रिए। यसैबीच अनित थापा समर्थकहरूको एउटा गाडी क्षतिग्रस्त हुनेगरी तोडफोड गरिएको छ। गाउँलेहरू उनीहरूविरुद्ध उत्रिएपछि थापा समूह भागेको बताइएको छ।

यता भोटियाको विरुद्धमा थापा समूहले पनि थानामा प्राथमिकी दर्ता गरेको थाहा लागेको छ।

अर्कोतिर सिलगढीबाट दार्जीलिङ गइरहेको टाटासुमो ( डब्ल्युबी 76-7367) दिलाराम नजिक चटकपुरमा जलाइएको समाचार पाइएको छ।

खबर अनुसार यात्री बोकेर वाहन दार्जीलिङ गइरहेको थियो। यतिकैमा कालोपट्टी लगाएकाहरूले गाडी रोके अनि आगो लगाइदिए।

जनताले गोर्खाल्याण्डको निम्ति बन्द जारी राखेको बेला अनि बङ्गाल सरकारले बन्द खोलाउन भरपुर षडयन्त्र गरिरहेको बेला, आन्दोलनकारीहरूलाई सहयोग गर्नुको साटो बङ्गाल सरकारको षडयन्त्र सफल बनाउन वाहन चलाएको भन्दै वाहनमा आगो लगाइदिएको सुनिएको छ।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया