बन्द खोल्नेहरूविरूद्ध सनसनीपूर्ण पोष्टरः बन्द खुलाउनेबारे व्यापारीहरूले लिन सकेनन् ठोस् निर्णय

विज्ञापन

प्रज्ज्वल छेत्री


कालेबुङःकालेबुङ शहरका दोकानपाठहरू आज फेरि पूर्ण रूपमा बन्द रह्यो। शनिबार कालेबुङमा धेरै मात्रमा दोकानपाटहरू खोलिएको थियो भने वाहनहरूको चलाचल पनि धेरै रहेको थियो। तर आज अचानक दार्जीलिङको लेबोङमा वाहन जलाइएको घटना अनि कालेबुङ शहरमै पनि बन्द खोल्नेहरूविरूद्ध सनसनीपूर्ण पोष्टर देखापरेपछि सम्पूर्ण दोकानपाठहरू बन्द रह्यो।

स्रोतका अनुसार कालेबुङ शहर सामान्य बन्दै गरेको स्थितिलाई केन्द्र गर्दै यहाँका व्यापारीवर्ग दोकानपाठ खुलाउने पक्षमा रहेका थिए। आज उनीहरूले दोकान खुलाउने, नखुलाउने सम्बन्धमा सामुहिक निर्णय लिनका निम्ति एउटा बैठक समेत डाकेका थिए। यद्यपि आजको परिस्थितिलाई केन्द्र गरेर उनीहरूले बन्द खुलाउनेबारे कुनै ठोस् निर्णय लिन सकेनन्।

आज कालेबुङका व्यापारीहरूले यहाँको श्यामादेवी भवनमा एउटा बैठक डाकेका थिए। बैठकमा 68 जना व्यापारीहरू उपस्थित थिए। दिउँसो 11 देखि 1 बजीसम्म बैठक चलेको थियो। पहाडको वर्तमान स्थितिको कारण उनीहरूले दुईघण्टा लामो बैठक गरे पनि दोकानपाठ खुलाउनेबारे कुनै ठोस् निर्णय लिन नसकेको स्रोतले जनाएको छ। बैठकबारे व्यापारीहरूहरूले आधिकारिक वयान दिएनन्। ‘यो बैठक व्यापारीहरूको एकताको निम्ति मात्र डाकिएको हो’- वैठकमा उपस्थित व्यापारीहरूले भने।

विशेष गरी दशैँ नजिकिरहेको कारण अहिलेघरि दार्जीलिङ पहाड पूर्ण रूपमा बन्द हुँदाहुँदै पनि केही वाहनहरूको चलाचल एवं केही दोकानपाठहरू समेत खुल्ला रहेको थियो। तर आज एकातिर लेबोङमा एउटा वाहन जलाइएको घटना आयो भने कालेबुङमा समेत धम्कीपूर्ण पोष्टर देखा परेपछि व्यापारीहरूले दोकानपाठ पूर्ण रूपमा बन्द राखेका छन्।
शनिबार कालेबुङ समान्य बन्दगरेको स्थितिपछि आज दिउँसो यहाँको मोटरसट्याण्ड, हाटबजार, नौ माइल आदि क्षेत्रमा बन्द खुलाउनेहरूलाई केन्द्र गर्दै धम्कीपूर्ण पोष्टर देखापरेको छ।

फोटोः मणि तामाङ
फोटोः मणि तामाङ

‘बन्दमा दोकानपाठ खोल्ने र गाडी चलाउने अब मर्नु तयार बस्’-पोष्टरमा लेखिएको छ, ‘गोर्खाल्याण्डको सट्टामा जीटीए थाप्नेलाई मार्छु की मर्छु, गोर्खाल्याण्ड विरोधी होशियारःअब 86 को दिन आउँदैछ किन?।’ गणतन्त्र छोडेर बङ्गालले गोर्खालाई हतियार उठाउन बाध्य बनाइरहेको कुरा पोष्टरमा उल्लेख छ।
आज यसप्रकारको धम्कीपूर्ण पोष्टपछि हिजोको तुलनामा कालेबुङ शहर आज धेरै सुनसान रहेको थियो। पोष्टर कसले टाँसेको हो भन्नेकुरा स्पष्ट छैन। अर्कोतिर यहाँको नौ माइल क्षेत्रमा कालेबुङ जनताको नाममा पोष्टर टाँसीएको छ। पोष्टरमा भनिएको छ, ‘बङ्गाल सरकारको आडमा जनताको आकांक्षा पूर्ण नभइ आफ्नो जातिको अस्तित्व बिक्री गरेर जनतालाई रद्द् गरेको जीटीए सञ्चालन गर्ने स्वार्थी नेताहरू होशियार।’
एकातिर पहाड अनिश्तिकालको निम्ति बन्द रहे पनि अर्कोतिर गोर्खाहरूको महान् चाड दशैँ नजिरहेको छ। यसैले पहाड बन्द हुँदाहुँदै पनि दसैँलाई केन्द्र गरेर केही दिनदेखि कालेबुङ बजार विस्तारै खोलिँदै गरेको अवस्थामा थियो। तर आज अचानक फेरि पहाड अशान्त हुनसक्ने स्थितिलाई ध्यानमा राख्दै स्वत कालेबुङ बजार बन्द भएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया