भक्कानो फुटाएर रोए गोजमुमोका बागी उम्मेद्वार

पार्टीलाई हार्नबाट बचाउँन खड़ा भएको होः बर्मे


  • मोहन लामा, दार्जीलिङ

उनले आँखाभरि आँसु अनि रूग्न स्वरमा भने-यस विषयलाई पार्टी अध्यक्ष गुरूङले पनि बुझिदिनुपर्छ। मेरो यस्तो निर्णय पार्टीकै राम्रोको लागि हो, पार्टीको हार कदापि स्वीकार हुनेछैन, यसैले पार्टीभित्रै विद्रोह गरेर पनि यस वार्डमा पार्टीलाई बँचाउनेछु।

स्वतन्त्र उम्मेद्वार बनेर यसपालिको नगरपालिका चुनाउमा खड़ा भएका गोजमुमो (गेार्खा जनमुक्ति मोर्चा)-कै बागी प्रार्थीहरु विरूद्ध पार्टीले अनुशासनात्मक कार्वाही गर्दै पार्टीबाटै निष्कासित गर्ने चेताउनी दिएपछि वार्ड नम्बर 17-बाट खड़ा भएका स्वतन्त्र उम्मेद्वार कृष्ण बर्मे भक्कानो फुटाएर रोए। यदि मैले यस चुनाउमा जीत हासिल गरे गोजमुमोकोनै जीत हुनेछ अनि पार्टीलाई हार्नबाट जोगाउनको लागिनै मैले यस वार्डवासी जनताको सुझाउ र समर्थनमा स्वतन्त्र उम्मेद्वार बनेर लड़्ने निर्णय लिएको हो भन्ने बताए। ज्ञात रहोस्, दार्जीलिङ सदर 4-समष्टिका युवा मोर्चा अध्यक्ष कृष्ण बर्मेलाई गोजमुमोले वार्ड नम्बर 17-बाट खड़ा गराइएका उम्मेद्वार रामजन गोलेका डमी प्रार्थी बनाएको थियो।

जसअनुसार, उनले पनि रामजन गोलेसितै यस वार्डबाट गोजमुमो प्रार्थीका डमी प्रार्थीका रूपमा नामाङ्कन पेश गरेका थिए। तर हिजो नामाङ्कन फिर्ता लिने अन्तिम दिन उनले आफ्नो नामाङ्कन फिर्तानै लिएनन् अनि उनले स्वतन्त्र उम्मेद्वारका रूपमा यस वार्डबाट चुनाउ लड़्नेनै निर्णय लिए। यसपछि गोजमुमोका शीर्ष नेतृत्व मात्रै होइन, यस वार्डबाट खड़ा भएका गोजमुमो उम्मेद्वार रामजन गोले पनि हत्प्रभ बने अनि उनले कृष्ण बर्मेलाई पार्टीका एक कर्मठ सदस्य रहेको बताए पनि अनुशासनात्मक कार्वाही गर्दै पार्टीबाटै निष्कासित गर्ने माग गरे। यति मात्रै होइन, गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष विमल गुरूङले पनि पार्टीले उठाए उम्मेद्वारहरूका विरोधमा खड़ा भएका पार्टीकै बागी उम्मेद्वारहरुलाई चेताउनी दिंदै उनीहरुले चुनाउ प्रचारको लागि पार्टीको झण्डा पनि प्रयोग गर्न नपाउने बताएका छन्।

पार्टी अध्यक्षले स्पष्टरूपमा भनेका छन्-पार्टीले चयन गरेका उम्मेद्वारहरुको विरोधमा पार्टीकै कतिपय व्यक्तिहरुले नामाङ्कन पत्र पेश गरेका छन् अनि उनीहरुले स्वतन्त्र उम्मेद्वारका रूपमा यस चुनाउमा भाग लिइरहेका छन्। तर यस्ता बागी उम्मेद्वारहरु विरूद्ध पार्टीले अनुशासनात्मक कार्वाही गर्नेछ अनि उनीहरुले यस चुनाउ अविधमा पार्टीको झण्डा पनि प्रयोग गर्न पाउने छैनन्।

यसैबीच, वार्ड नम्बर 17-बाट खड़ा भएका गोजमुमो उम्मेद्वार रामजन गोलेसित कुराकानी गर्दा उनले आफूलाई अचम्मै लागिरहेको बताउँदै कृष्ण बर्मेबाट आफू साथै पार्टीले यस्तो कहिले नसोंचेको बताए। उनले भने-कृष्ण बर्मे गोजमुमोका एक कर्मठ सदस्य हुन् अनि उनले पार्टीको लागि धेरै काम गरेका छन्। तर यस वार्डबाट पार्टी उम्मेद्वार चयन गर्ने क्रममा विशेष तीनजनामाझ ठूलै विवाद भएको थियो, फलस्वरूप मलाई यस वार्डबाट पार्टीले उम्मेद्वार बनाएको हो।

पार्टीले जब मलाई उम्मेद्वार बनाउने घोषणा गर्यो, त्यस समय कृष्णले मलाई पूर्ण सहयोग गर्ने वचन दिएका थिए अनि पार्टीले पनि उनलाईनै मेरो डमी प्रार्थी बनाएर नामाङ्कन पेश गर्न लगाएको थियो। तर हिजो नामाङ्कन पत्र फिर्ता गर्ने अन्तिम दिन अचानक उनले नामाङ्कन फिर्ता गर्न अस्वीकार गरे अनि चुनाउ लड़्नको लागि चुनाउ चिन्ह पनि ल्याएको जानकारी पाएँ। एक प्रश्‍नको उत्तरमा उनले भने-एउटा वार्डबाट एउटै पार्टीका दुइजना उम्मेद्वार उठ्नु कदापि राम्रो होइन। यसप्रकारको कार्यले गर्दा पार्टीलाई नोक्सान हुनसक्छ। यसैले उनले पार्टीलाई धोका दिएको कारण उनी विरूद्ध कार्वाही हुन आवश्यक छ। यसैबीच, कृष्ण बर्मेसित कुराकानी गर्दा उनले पार्टीको लागि राम्रै होस् अनि यस वार्डबाट गोर्खाल्यान्ड विरोधी पार्टीका उम्मेद्वारले कुनै पनि हालतमा जित्नु हुँदैन भनेरनै आफूले वार्डवासी जनताको सुझाउ र समर्थनमा चुनाउ लड़्नेनै निर्णय लिएको बताए।

उनले भने-हो, मैले यस वार्डबाट खड़ा भएका पार्टीका उम्मेद्वार रामजन गोलेलाई प्रथममा समर्थन जनाएकै हो। तर उनी यस वार्डका बासिन्दा होइनन्। यसैले पार्टीले उनलाई यस वार्डबाट उम्मेद्वार बनाएपछि वार्डवासी जनतामा नकारात्मक प्रभाव परिरहेको थियो अनि यस वार्डबाट गोर्खाल्यान्ड विरोधी पार्टीका उम्मेद्वारको जीत निश्‍चित बन्दै गइरहेको थियो। तृणमूल कंग्रेसका उम्मेद्वार यसै वार्डअन्तर्गत पर्ने मङ्गलपुरी निवासी हुन् भने म पनि यसै गाउँका हुँ।

यसैले अब यस वार्डबाट मेरो जीत निश्‍चित भएको छ। उनले भने-म एक गोर्खाल्यान्डप्रेमी हुँ अनि गोर्खाल्यान्डकै लागि मैले निःस्वार्थ भावमा पार्टीमा खटिरहेको छु। तर कतिपय कुविचार पाल्ने पार्टीकै कार्यकर्ताहरुको फलस्वरूप मलाई गोजमुमो अध्यक्ष विमल गुरूङअघि नराम्रो देखाउने कार्य भइरहेको छ। तर आज म गोजमुमोका एक कर्मठ सदस्य हुँ भने भोलि पनि यस चुनाउमा जीत हासिल गरेपछि म गोजमुमोकोनै हुनेछु। यदि मलाई पार्टीबाट निष्कासित गर्छ भने सहस्र स्वीकार गर्छु अनि पार्टी अध्यक्षको निर्देशलाई शिरोपर गर्नेछु। तर भोलि गोर्खाल्यान्डको आन्दोलन चर्किए म सबैभन्दा अघि गोजमुमो अध्यक्ष विमल गुरूङको साथमा हुनेछु, यसो भन्दै उनले भक्कानो फुटाए।

उनले आँखाभरि आँसु अनि रूग्न स्वरमा भने-यस विषयलाई पार्टी अध्यक्ष गुरूङले पनि बुझिदिनुपर्छ। मेरो यस्तो निर्णय पार्टीकै राम्रोको लागि हो, पार्टीको हार कदापि स्वीकार हुनेछैन, यसैले पार्टीभित्रै विद्रोह गरेर पनि यस वार्डमा पार्टीलाई बँचाउनेछु। ज्ञात रहोस्, यसपालि दार्जीलिङ नगरपालिकामा विशेष गोजमुमोले खड़ा गरेका उम्मेद्वारहरुसित सन्तुष्ट नभएर धेरैवटा वार्डमा पार्टीकै बागी उम्मेद्वारहरु पनि खड़ा भएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया