विनय तामाङले सम्हाले बागडोर

विज्ञापन

जीटीएलाई भ्रष्टाचारमुक्त, सुशासन बनाउने वचन * मन घिसिङ अनि अमरसिंह राई अनुपस्थित * जीटीएका कार्यालयहरुमा बायो-मेट्रिक लगाइने * 5 सूत्री विषयलाई प्राथमिकता * नयाँ बाटो निर्माण नगर्ने * लालकोठीको तल्लो तलादेखि माथिल्लो तला चड़े विनय

मोहन लामा
दार्जीलिङः विनय तामाङले आज जीटीएको बोर्ड अफ् एड्मिनिस्ट्रेटर (बीओए)-का अध्यक्ष पद सम्हाल्नसाथ जीटीएलाई भ्रष्टाचारमुक्त अनि कार्य संस्कारी बनाउने संकल्प गरे। यद्यपि, आज विनय तामाङले बोर्ड अफ् एडमिनिट्रेटरका अध्यक्ष, अनित थापाले उपाध्यक्ष अनि अन्यले आ-आफ्नो पद सम्हाले पनि गोरामुमो अध्यक्ष मन घिसिङ र दार्जीलिङका विधायक अमरसिंह राई उपस्थित भएनन्।

तरै पनि बीओएका अध्यक्ष तामाङले दशैंपछि मन घिसिङ अनि अमरसिंह राईले पनि आ-आफ्नो दायित्व हातमा लिने आशा व्यक्त गरे। आज जीटीएको मुख्यालय लालकोठीमा आफ्नो पद सम्हालेपछि उनले बीओए अनि जीटीएका कार्यकारी अधिकारीवर्गसित म्याराथान बैठक गरे। यसपछि पत्रकार सम्मेलनको आयोजना गरी बीओएले दार्जीलिङ पहाड़मा अर्को व्यवस्था लागू नभएसम्म वा जीटीएको चुनाउ नभएसम्म आफ्नो कार्य सन्चालन गर्ने बताए।

उनले भने-गत 20 सितम्बरको दिन केन्द्र सरकारको परामर्शअनुसार, राज्य सरकारले 9 सदस्यीय बोर्ड अफ् एड्मिनिस्ट्रेटरको गठन गरेको थियो, जसमध्ये आज गोरामुमो अध्यक्ष मन घिसिङ र विधायक अमरसिंह राई यहाँ उपस्थित भएनन्। अमरसिंह राई हाल आसाममा रहेको कारण दशैंपछि आफ्नो पद सम्हाल्ने वचन दिएका छन् भने मन घिसिङले पनि दशैंपछिनै आफ्नो पद सम्हाल्ने आशा गरिएको छ। आज जीटीएका विभागीय अभियन्तावर्ग, कार्यकारी निर्देशकवर्ग लगायत अन्य शीर्ष अधिकारीवर्गसित बैठक भएको थियो, जसमा जीटीएमा सुशासन, भ्रष्टाचारमुक्त अनि कार्य संस्कार आदिबारे चर्चा भयो।

अबदेखि प्रत्येक दिन जीटीएका शीर्ष अधिकारीदेखि डी श्रेणीका कर्मचारीहरू सबै बिहान 10 बजीदेखि साँझ 4 बजीसम्म कार्यालयमा बस्नैपर्छ अनि यसको लागि जीटीएका प्रत्येक विभागीय कार्यालयहरुमा बायो-मेट्रिक लगाइनेछ। उनले अबदेखि विशेष 5 सूत्री विषयलाई प्राथमिकता दिएर जीटीएको सन्चालन गर्ने बताउँदै यसमा स्वास्थ्य, पिउने पानीको व्यवस्था, नयाँ बाटोको निर्माण नगर्ने, शिक्षा अनि पर्यटन सामेल रहेको बताए। उनले भने-जीटीए क्षेत्रमा अघिबाटै धेरैवटा बाटोहरुको निर्माण गरिएको छ र धेरैवटा बाटो वा सड़क निर्माण अवस्थामा छन्। यसैले अब जीटीएले नयाँ बाटो निर्माण गर्नको साटो पुराना बाटोहरुलाई असल ढङ्गमा मरम्मति गर्ने योजना बनाइएको छ।

यसका साथै उनले जीटीएले 5 सदस्यीय एड्भाइजरी टेक्निकल एक्सपर्ट कमिटीको गठन गर्ने अनि प्रत्येक कामनै यस कमिटीको सल्लाहको आधारमा गरिने पनि जानकारी गराए। यसका साथै आजको बैठकमा बोर्ड अफ् एड्मिनिस्ट्रेटरलाई आगामी 10 अक्टोबरभित्र 100 दिने आन्दोलनकालमा भएका क्षयक्षति, जीटीएले कहाँ-कति कस्तो विकासको कार्य गरेको छ अनि गर्नेवाला छ, जीटीएको सरसम्पत्ति के-कति छ, प्रत्येक विभागका शीर्ष अधिकारी आदिको सूची दिनुपर्ने पनि विभागीय अधिकारीहरुलाई निर्देश दिएको पनि उनले बताए।

उनले भने-गोर्खा रङ्गमन्च भवन जीटीएको एक मुख्य कार्यालय हो, तर अहिले यो भवन पुलिसको अधीनमा छ, यसैले जीटीएको कार्य सन्चालनमा सुविधा प्रदान गर्नको लागि यो भवन जीटीएलाई हस्तान्तरण गर्नुपर्छ। यसको लागि उनले जीटीएका मुख्य सचिव बरूण रायसित पनि आवश्यक कुरा गरेका छन्। उनले भने-गोर्खाल्यान्ड आन्दोलनले गर्दा जीटीएका धेरै सम्पत्ति नष्ट भएका छन्, तर यसको जिम्मा यस नयाँ बीओएले लिनेछैन। यस बोर्डले आजदेखि उताको मात्रै जिम्मेवारी आफ्नो काँधमा लिनेछ, उनले स्पष्ट बताए। उनले अझै अघि भने-जीटीएको मुख्यालय लालकोठीको सुरक्षा व्यवस्था ठीक छैन।

यसलाई पनि अब दुरूस्त गरिनेछ। यो भवन अब व्यक्तिगत काम गराउने केन्द्रको रूपमा प्रयोग हुनेछैन, कसैको बील पास गराउने आदि जस्ता काम यस सचिवालयबाट हुनेछैन। ज्ञात रहोस्, विनय तामाङ आजदेखि लालकोठीमा बस्न थाले, तर उनले आफ्नो च्याम्बर विमल गुरूङको च्याम्बरमानै राखेनन्।

सन् 1988-मा दागोपापका तत्कालीन अध्यक्ष सुवास घिसिङले लालकोठीको जुन कोठालाई आफ्नो च्याम्बर बनाएका थिए, तामाङले पनि त्यसै च्याम्बरलाई आफ्नो कार्यालय बनाएका छन्। तर सुवास घिसिङले यस च्याम्बरको जुन ठाउँमा टेबल राखेका थिए, विनय तामाङले त्यो टेबललाई अर्को दिशामा सारेका छन्। गत जून महीनाको प्रथम सप्ताहसम्म विनय तामाङको च्याम्बर लालकोठीको तल्लो तलामा थियो भने आजदेखि उनको च्याम्बर यस भवनको माथिल्लो तलामा सरेको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया