27 सम्म पनि केन्द्रले कुनै पहल नगरे, कठोर आन्दोलनको घोषणा हुनेछ-विमल

विज्ञापन

कालेबुङः गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरूङले 27 सितम्बरसम्म पनि केन्द्रले कुनै पनि पहल नगरे छुट्टै राज्यको निम्ति कठोर आन्दोलन गर्ने बताएका छन्।

27 सितम्बरसम्म केन्द्रले दार्जीलिङको समस्याबारे कुनै निर्णय गर्ने आशा गरिएको छ, विमल गुरूङले खबरम्यागजिनसित फोनमार्फत बताएका छन्, नगरे आन्दोलन कठोररूपमा शुरु हुनेछ। धेरै ज्यानमालको क्षति हुनसक्छ। राज्य र केन्द्रले धेरै परीक्षा लिइसक्यो, अब कि वार कि पारको आन्दोलन हुनेछ।

विनय तामाङले आजदेखि जीटीएको मोर्चा सम्हाले। यस सम्बन्धमा पनि गुरूङले टिप्पणी गरेका छन्। विनय तामाङ इख नभएका मानिस हुन्, 200 वर्षसम्म गोर्खाल्याण्ड हुँदैन भनेर जीटीए चलाएको भन्दैछन्, त्यसो भए सयदिनसम्मको बन्द, 11 जनाको हत्या र अनेकौं घाइते किन बनाएका हुन् त’, गुरूङले भने, विनय तामाङ ममता व्यानर्जीका कठपुतली बनिसकेका छन्। जनता छुट्टै राज्यबाहेक केही चाहँदैनन्, तर विनय तामाङ पैसाको लागि जनताको सपना बेचिरहेका छन्। उनले ढाँटेर, जनतालाई छलेर आफ्नो स्वार्थ पुरा गरिरहेका छन्। अहिले खुशीखुशी जीटीएमा बसुन्, समय आउँछ, जनताले धोकाको जवाब पक्कै दिनेछन्।

उनले विनय तामाङले जीटीएको खेस्रा जलाएको अनि यसपाली गोर्खाल्याण्ड ल्याएरै छोड्नुपर्छ भनेर आन्दोलन गरिरहेको तर बीचमा सरकारसित बिक्री भएको बताउँदै आफूमाथि लागेको मुद्दाबाट बाँच्न अनि कमाएको पैसा जोगाउन विनय तामाङले सारा गोर्खाहरूलाई धोका दिएको बताएका छन्।

म मर्छु तर जनतालाई धोका दिन्न। जनताले विश्वास गरुन वा नगरुन् म गोर्खाल्याण्ड ल्याएर नै छोड्छु, उनले अझ भने, ममता व्यानर्जीले जति नै घिनलाग्दो राजनीति गरुन्, जनता मसितै छ। मसित जनताको सपना छ। जनाकांक्षा र म्याण्डेट छ। बन्द नखोलिँदा ममता व्यानर्जीलाई पनि त्यसको भेउ त पक्कै पनि भइसकेको होला।

उनले राज्य सरकारले विनय तामाङहरूको जीटीएलाई पनि पङ्गु बनाउने र विनय तामाङहरूलाई कठपुतलीकोरूपमा प्रयोग गर्ने बताउँदै भने, राज्य सरकार र पुलिसको सुरक्षामा बसेर विनय तामाङ खुसी नबने हुन्छ। जनताले सबै कुराको हिसाबकिताब माग्नेछन्। जनताको क्षमतासित खेलवाड नगरुन्। बेलैमा होस् पुऱ्याउन्।

त्रिपक्षीय वार्तामा विनय तामाङहरूलाई नै बोलाउने अनि विमल गुरूङहरूलाई नबोलाउने परिदृष्य देखापरिरहेको सम्बन्धमा प्रश्न गर्दा उनले भने, जनता मसित छ, म्याण्डेट मसित छ, आन्दोलन जनताको हातमा छ, कसरी विनय तामाङलाई बोलाउँछ? केन्द्रलाई सबै कुरा थाहा छ। जनता र लोकतन्त्रको अर्थ केन्द्रलाई थाहा छ। विनय तामाङहरूलाई वार्तामा बोलाउने छैन।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया