अक्टोबरमा गक्रायुमोको वृहत राजनैतिक कार्यक्रमः हर्षसित नमनाउने दशैं-तिहार

विज्ञापन

दार्जीलिङः क्रामाकपा (क्रान्तिकारी मार्क्सवादी कम्युनिष्ट पार्टी)-ले यसपालीको दशैं अनि तिहार हर्षोल्लाससित पालन नगर्ने निर्णय लिएको छ अनि दशैंको टीकाको साँझ पहाड़का प्रत्येक घरको दलानमा दीप जलाएर गोर्खाल्यान्ड आन्दोलनमा शहीद हुनेप्रति श्रद्धार्पण गर्ने जनतासमक्ष अपील गरेको छ।

यति मात्रै होइन, अक्टोबर महीनामा क्रामाकपाको युवा एकाईले पहाड़मा एक वृहत राजनैतिक कार्यक्रम पनि गर्ने निर्णय लिएको छ। आज क्रामाकपाको युवा एकाई गणतान्त्रिक क्रान्तिकारी युवा मोर्चाको एक बैठक भएको थियो, जुन बैठकपछि पत्रकारहरूसित कुराकानी गर्दै गक्रायुमो महासचिव अरूण घतानीले भने-गोर्खाल्यान्ड आन्दोलनको क्रममा पहाड़मा 11 जना गोर्खाल्यान्ड आन्दोलनकारीहरु शहीद बने, 250 जनाभन्दा अधिक गोर्खाल्यान्ड समर्थकहरुले जेल सजाय भोगिरहेका छन्, बोल्ने अधिकारसम्म खोसिएको छ।

यस्तो स्थितिमा खुशीसित चाड़-बाड़ पालन गर्ने कुरै आउँदैन। उनले आजको बैठकमा वर्तमान दार्जीलिङ पहाड़को राजनैतिक स्थितिमाथि व्यापक चर्चा-परिचर्चा गरिएको जनाउँदै गोर्खाल्यान्डको आन्दोलन अझै पनि देशका विभिन्न प्रान्तसितै पहाड़मा पनि चलिरहेकोनै छ भन्ने बताए।

उनले भने-गोर्खाल्यान्ड आन्दोलनको एपी-सेन्टर दार्जीलिङ पहाड़ हो, जहाँ एकतर्फ गोर्खाल्यान्ड आन्दोलनको समर्थनमा बन्द जारी छ। तर यस बन्दलाई विफल बनाउन पुलिसलेनै जबर्जस्ती बन्द दोकानहरु खोल्न लगाउँदैछ। यसैबीच, गोजमुमोका केही नेताहरु पुनः जीटीएमानै फर्किएका छन्, यो सबैभन्दा ठूलो दुर्भाग्यको विषय हो। बंगाल सरकारले पहाड़का केही स्वार्थी नेताहरुलाई किनेर पहाड़मा शान्ति ल्याउने प्रयास गरिरहेको छ, तर यस्तो व्यवस्थाबाट पहाड़का जनता कहिले सन्तुष्ट हुने छैनन्। विगतमा दार्जीलिङ गोर्खा पार्वत्य परिषद थियो, त्यसपछि जीटीए आयो। अहिले 100 दिन पहाड़ बन्दपछि फेरि जीटीए-2 शुरू भएको छ।

तर जबसम्म गोर्खा जातिको राष्ट्रिय परिचय, राजनैतिक सुरक्षाको लागि अलग राज्य गोर्खाल्यान्डको गठन हुनेछैन, तबसम्म गोर्खाल्यान्डको आवाजलाई सरकारले कुनै पनि व्यवस्था दिएर बन्द गर्न सक्नेछैन। यसैले क्रामाकपाले गोर्खाल्यान्डको लागिनै आगामी अक्टोबर महीनामा एक वृहत राजनैतिक कार्यक्रम गर्ने योजना बनाएको छ, जसमा सम्पूर्ण गोर्खाल्यान्ड समर्थकहरुलाई सहभागी बन्ने पनि गक्रायुमोले अपील गरेको छ।

यसका साथै गक्रायुमोले गोर्खाल्यान्डको यस आन्दोलनलाई अझै तीव्र बनाएर लान आफ्नो सांगठनिक धरातललाई पनि मजबुत बनाउने अभियान शुरू गरेको छ, जसको जिम्मेवारी गक्रायुमोका अध्यक्ष रविन राईलाई दिइएको पनि उनले बताए। यसरीनै गक्रायुमोले दार्जीलिङ, खरसाङ, कालेबुङ अनि मिरिकको लागि पनि अलग-अलग संयोजक मनोनित गरेको घतानीले बताए। एक प्रश्‍नको उत्तरमा उनले भने-केन्द्रको भाजपा सरकारले राजनैतिक स्वार्थ हेरेरनै गोर्खा जातिले उठाएको संवैधानिक मागमाथि कुनै पहल नगरेको हो भन्ने स्पष्ट छ।

राज्य सरकार र केन्द्रिय गृहमन्त्रीले समस्या समाधान गर्न नसकेपछि यसमाथि प्रधानमन्त्रीले हस्तक्षेप गर्नुपर्ने हो, तर उनले गोर्खा जातिको मागमाथि एक शब्द पनि बोलेनन्। प्रधानमन्त्रीबाट यस्तो आशा कदापि थिएन।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया