अन्तत खुल्यो पहाडः संवादमा पुग्यो आन्दोलनः सन्देहले धमिलियो पहाड

विज्ञापन

संवाद नै सामाधानको बाटो

अनिश्चितकालीन बन्दको एकसय पाँचदिन पछि केन्द्रिय गृहमन्त्री राजनाथ सिंहले मुख खोले। पहाडमा धेरै हिंसा, मारकाट र संसाधनहरू नष्ट भइसकेपछि अनि जनताले पहाडको समस्याको स्थायी सामाधानको निम्ति केन्द्रिय हस्तक्षेपको माग बारम्बार गरिरहँदा पनि गृहमन्त्री मौन थिए। हिजो उनले लोकतन्त्रमा कुनै पनि समस्याको सामाधानको माध्यम संवादमात्र हो भन्दै मोर्चालाई अनिश्चितकालीन बन्द खोलाउने अपिल गरे।

उनको अपिलपछि नै लगत्तै गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरूङले आज बिहानदेखि बन्द खोलाइदिने अपिल गरेका हुन्।

राजनाथ सिंहले भनेका छन्, ‘कानूनी परिधिभित्र बसेर गरिएका  संयमित संवादमा नै सामाधान सम्भव छ।’

उनले यसको निम्ति केन्द्रिय गृह सचिव राजिव गौबालाई 15 दिनभित्र केन्द्रिय  मन्त्रालयमा पहाडको समस्यालाई लिएर आधिकारिकस्तरको बैठक गर्न निर्देश पनि दिइसकेका छन्।

‘म विमल गुरूङलाई अपिल गर्छु, यसको निम्ति मोर्चाले पनि माहौल बनाउन्,’ सिंहले भनेका छन्, ‘यसको निम्ति मोर्चालाई अनिश्चिताकीलन बन्द खुलाएर जनजीवन सामान्य गर्ने र संवादको वातावरण बनाइदिने अपिल गर्छु।’

गुरूङले सिंहले अपिललाई टेरेका छन्।

राजनाथ सिंहको अपिललाई सम्मानः पहाड खुला

‘15 दिनभित्रमा गोर्खाल्याण्डको निम्ति वार्ता हुनेछ, केन्द्रिय गृहमन्त्री राजनाथ सिंहको अपिललाई सम्मान गर्दै 15 दिनसम्मको लागि म बन्द स्थगित गरिएको घोषणा गर्छु,’ गुरूङले भनेका छन्, ‘परिस्थितिलाई मध्यनजर गर्दै आन्दोलनले संवादको बाटो पक्रिएको कारण सबैले नै 15 दिनसम्म पहाड खुला गर्न सहयोग गरिदिने अपिल गर्छु।’

उनले यसो भनेको किही घन्टामा नै पहाड पूर्णरूपले खोलिन शुरु भएको छ।

आश्वासनकै भरमा पहाड खुल्ने?

विमल गुरूङ विरोधी नेता विनय तामाङ, जो जीटीए-2 का प्रशासक पनि हुन्,-ले विमल गुरूङको बन्द खोल्ने तरिका मन पराएनन्।

‘आश्वासनकै भरमा बन्द खोलेको?,’ विनय तामाङको पहिलो प्रतिक्रिया यस्तो थियो, ‘वास्तवमा विमललाई बन्द खोल्ने बाहना मात्र चाहिएको थियो। विमलले जनतालाई फेरि उल्लु नै बनाए।’

उनले खुलिसकेको पहाड फेरि खुलाउनुमा कुनै ‘लजिक’ देखेनन्। उनलाई लाग्छ, पहाड खुलिसकेकोले विमल कटगाह्रोमा परिसकेका थिए, त्यसैबाट निजात पाउन राजनाथ सिंहमा नाटकको निम्ति बिन्ति बिसाइको हो। यो चलखेलमा सांसद एसएस अहलुवालियाको ठूलो भूमिका छ।

‘गृहमन्त्रालयको विज्ञप्तिको गोर्खाल्याण्ड उल्लेख नै छैन,’ दुइसय वर्षसम्म पनि गोर्खाल्याण्ड हुँदैन भनेर भर्खर विवादित बयान दिएका विनय तामाङले अझ भनेका छन्, ‘वार्ता कुन विषयमा हुन्छ? राजनैतिकस्तरको वार्ता नभइ सचिवस्तरको वार्ता कसरी सम्भव छ?’

फेरि सन्देहमा वार्ता

दुइदिन अघि भाजपाको साङ्गाठानिक बैठकमा दार्जीलिङबारे पनि बहस भएको थियो। सूत्र अनुसार पहाडको ताजा स्थितिलाई ध्यानमा राख्दै आगामी चुनाउमा दार्जीलिङको लोकसभा सिटको लागि पनि यतिखेरै आवश्यक गतिविधि हुनुपर्नेबारे बैठकमा चर्चा भएको थियो।

यसलाई विमल गुरूङहरूले उनीहरूको मुद्दाबारे चर्चा भयो भन्ने बुझेका छन्।

सूत्रको भनाई अनुसार भाजपाको बैठकमा दार्जीलिङ सिटबारे चर्चा गर्दा दार्जीलिङको ताजा स्थितिबारे पनि चर्चा भएको हो। भाजपा त्यसैको निम्ति दार्जीलिङमा वातावरण तयार पार्न चाहान्छ।

यता राजनाथ सिंहले पहाडको समस्याबारे संवादको प्रक्रिया थाल्ने भन्दै विमल गुरूङलाई सही समयमा राजनैतिक सङ्कटबाट बँचाइदिएका छन्। यसैकारण छुट्टै राज्य गोर्खाल्याण्डको निम्ति नै गृहमन्त्रालयले वार्ता बोलाएको हो भन्ने कुरामा सबैले सन्देह गरेका हुन्।

वार्तामाथि वार्ताः परिणति?

16 अक्टोबर नवान्नमा विनय समूहहरूको निम्ति मुख्यमन्त्री ममता व्यानर्जीले वार्ता बोलाएकी छन्। यस वार्तामा पहाडमा जनजीवन स्वाभाविक बनाउने अनि जीटीए-2 मार्फत हुनपर्ने विकासबारे चर्चा गर्ने बताइएको छ।

यता मुख्यमन्त्रीले विनय तामाङहरूलाई जीटीए-2 दिने बित्तिकै उता गृहमन्त्रीले विमल गुरूङ समूहलाई आधिकारिक वार्ता गर्ने बताउनुले विमल-विनय वर्चस्वको राजनीतिलाई केन्द्र र राज्यले अहिलेको स्थितिमा आआफ्नो गोटी बनाउन खोजेको देखिएको छ।

राज्य पनि वार्ता नै भनिरहेको छ, अब केन्द्रले पनि वार्ता भन्न शुरु गरेको छ। तर वार्ताले जनाकंक्षालाई सम्बोधन गर्ने कुरामा भने व्यापक निश्चितता देखिएको छ।

राज्यको वार्तामा जीटीएमार्फत पहाडको विकास-को एजेण्डा हुनु स्वाभाविक हो, केन्द्रको वार्तामा चाहीँ के हुने हो त? यहीँ प्रश्न उठेको हो।

15 दिनपछि के हुन्छ?

केन्द्रले विमल समूह, जोसित जनताको समर्थन वा मान्डेट छ, -लाई लिएर साँची नै 2019 को चुनाउको लागि केन्द्रले प्रयोग मात्र गर्ने हो कि छुट्टै राज्यको औचित्य वा गठनबारे गम्भीर आलोचना पनि हुने हो, निश्चित त छैन, तर गृहमन्त्रीको अपिलद्वारा अहिलेको सङ्कटबाट जनता पनि बाँचेका छन्, विमल पनि।

यद्धपि, 15 दिनपछि विमल गुरूङको राजनैतिक रणनीतिलाई जनताले मान्ने हुन् कि विनयको जीटीए-2-तिर लाग्ने हुन् किटेर भन्न सक्ने स्थिति छैन।

16 को ममताको वार्ता र 15 दिनभित्रको राजनाथको वार्ताले दार्जीलिङको धमिलो स्थितिलाई कसरी साम्य गर्ने हो, सबैले पर्खिएर बसेका छन्।

जनता विमल गुरूङको आन्दोलन र रणनीतिलाई अङ्गिकार गरेरै फेरि आन्दोलनरत् हुने हुन् कि विनय तामाङले प्रदान गर्ने सुविधाहरूको उपभोगमा लाग्ने हुन्?

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया