‘11 जना सहिदको खुनले टिका लगाउने विनय तामाङ र विमल गुरूङ दुवैलाई फलिफाप चैं हुँदैन है’

विज्ञापन

कवि मोहन ठकुरीले खोलिएको बन्द र नजिकको दसैंबारे के सोचिरहेका होलान्? खबरम्यागजिनले मन्तव्य मागेको थियो, जवाब आयो-‘गन्तव्य’-मा पुग्ने कुरै छैन , के ‘मन्तव्य’ दिनु र!’

वास्तवमा कविले गन्तव्य र मन्तव्यको अनुप्रासबाट नै दार्जीलिङको वर्तमानबारे बोले। यथार्थ पनि यही हो। दलगाउँमा कुलैन बगान धाउने श्रमिक आशिष लामा यसैलाई आफ्नो पारामा भन्छन्, ‘खाइ न पाइ छालाको टोपी लाई भो यसपाली त।’

तीन महिनादेखि उनीहरू बगान गएनन्। उनीहरूलाई भनिएको थियो रे, ‘बगान नजानु सरकार विरुद्ध गरिएको असहयोग आन्दोलन हो।’

बन्द जारी रहँदासम्म आशिषलाई आफू काममा नगएको ठिकै लागेको थियो, तर केन्द्रिय गृहमन्त्रीले अपिल गर्दैमा हात जोडीजोडी बिमल गुरूङले गिडगिडाएर बन्द खोलिदिने भनेर गरिएको अपिललगत्तै पहाड खुला हुँदा मनभित्र खुसी चाही लागेन रे।

‘यस्तो बेला बन्द खोलियो, न हर्ष न विस्मात,’ भन्छन् आशिष, ‘दसैं मुखमा छ, तलब छैन। खोल्नु नै थियो भने अघिबाट नै खोल्नु, नत्र वार्ता भएपछि मात्र खोल्नु।’

उनलाई केन्द्रले गोर्खाल्याण्डबारे कुरै गर्छ भन्ने विश्वास पनि छैन रे।

यता रोङ्गो सिन्कोना बगानकी श्रमिक गङ्गा तामाङलाई बन्दलाई लिएर नेताहरूको मनोपोली भएको लाग्छ। उनलाई यतिदिनको बन्दले ठूलै उपलब्धी हासिल गर्छ भन्ने लागेको थियो, तर विमल गुरूङ र विनय तामाङबीचको झगडापछि उनलाई लाग्यो रे, ‘आखिर सप्पै मिलेरै जनतालाई उल्लु बनाइरहेको रहेछन्।’

 

सचिन चामलिङ राई भन्छन्-

मङ्गलबार साँझ सोसियल मिडियामार्फत बिमल गुरुङले स्ट्राइक फिर्ता गर्दै सबै दोकानपाट, कार्यालय आदि खुल्ला राखिदिने अपिल गरेपछि समग्र पहाड़मा एकसाथ बन्द हटेको देखिन्छ। एकसय दिनभन्दा बढ़ी लगातार चलेको पहाड़को बन्द फिर्तामाथि दुई प्रकारका मतहरू आइरहेका छन्। एकतर्फ कुनै निष्कर्षबिना बन्द फिर्ता लिनु हुँदैन भन्नेहरू छन् भने अर्कातिर छन् हाम्रै मान्छेलाई मर्का पुऱ्याउने बन्द उठाउनुपर्छ भन्नेहरू।

जे होस् दसैँको मुखैमा महिनौ लामो अनिश्चितकालीन बन्दको अन्त्य भयो। यस निर्णयले पहाड़का मानिसहरूलाई स्वाभाविक जीवनतर्फ अग्रसर बन्न मद्दत गर्नेछ भने गरीब परिवारहरूलाई अतिरिक्त कष्टबाट मुक्ति दिनेछ। व्यावसायिक दृष्टिकोणले पहाड़ मात्र नभएर समतलका समेत व्यवसायीहरूले राहत अनुभव गरिरहेका विषयमा दुई मत छैन।

त्यसकारण यस निर्णयलाई सही मानिलिनु पर्ने हुन्छ। तर त्यसो भन्दैमा पहाड़वासीले बिघ्न समस्या भोगेर गरेका यति लामो बन्दको कुनै अर्थ थिएन भन्नु गलत नै हुनेछ। लामो बन्दसितै गोर्खाल्याण्ड मुद्दामा आन्दोलन गरिए तापनि केन्द्र सरकार मौन रह्यो। जनताको माग र आवाजलाई महत्व दिनुको साटो राज्यले पनि साम-दाम-दण्ड-भेद हत्कण्डा अपनाएर आन्दोलनलाई दबाउन चाह्यो र बन्द खोलाउने प्रयास गरिरह्यो। मुद्दामाथि वार्ता नभइरहेको स्थितिले दिशाहीन अनि समर्थनविहीन जनताले विकल्पको अभावमा बन्दको बाटो नै रोज्यो। मुख्यमन्त्रीले पहाड़ समस्याको दीर्घमियादी समाधान चाहेकी मन्तव्य त गरिन् तर जनताको भावनालाई अङ्गाल्नको साटो त्यही पुरानो जीटीएको पुनर्वहाली गरिन्। राज्य अनि केन्द्रले अगावै जनताको आवाजलाई बुझेर कदम चालेका भए बन्द यति लामो हुने थिएन। केन्द्र र राज्यले सुनून् भन्ने अभिप्रायले नै जनताले बन्द पालन गरिरहेका थिए।

राज्य अनि केन्द्र दुवैले आवाज सुन्न अस्वीकार गरेपछि आन्दोलित जनता खिन्न छन्। अहिले आफ्नै नेताहरूबिच बढ़ेको पारस्परिक मतभेद अनि मुद्दामाथि राष्ट्रिय वहस नभइरहेको स्थितिले बन्द फिर्ताको निर्णयलाई जनताले स्वीकारेको बुझिन्छ।

बन्दलाई गणतान्त्रिक लड़ाइँमा प्रभावकारी औजार मानिलिइन्छ। बन्दकै औचित्य र सम्मान धरापमा परेपछि गणतान्त्रिक प्रणालीमाथि गोर्खा जनताले विश्वास गुमाई पठाउनु स्वाभाविक हो। गणतान्त्रिक प्रणालीमाथि नागरिकले राखेको विश्वास हराउनु लोकतन्त्रको पराजय होइन त? त्यस हिसाबले आन्दोलित गोर्खे जनतालाई न्याय नदिनु लोकतान्त्रिक भारत देशको संस्कार र मूल्यको विरोधमा छ।

 

सँधै सप्तमीको दिन बगान छुट्टि हुन्थ्यो दसैंको, यसपालि सप्तमीको दिन नै काममा गइन् गङ्गा। ‘नेताहरूको मनपरी हुन थाल्यो, कस्सैले विरोध गर्दैन, अब म विरोधमा उत्रिन्छु’, भन्नलाई त यसो भन्छिन् गङ्गा तर उनलाई पनि थाहा छ उनी एक्लैको दाल गल्नेवाला छैन, यो केवल भित्रबाट निस्किएको आक्रोस मात्र हो।

यस्तै आक्रोस, रिस्, वेस्वादहरू यतिखेर दार्जीलिङे जनतामा छ। एक त बन्दको कारण खटिखाने श्रमिक र किसान मर्कामा परेका छन्। न कमाई छ न हातमा पैसा। यतिखेरै आएको छ दसैं।

कुमाई चियाबारीका श्रमिक प्रवीण राई भन्छन्, ‘दसैं त विमल गुरूङ, विनय तामाङ, अनित थापाहरूको लागि आयो, हाम्रो लागि त दसा आयो।’

हुनेखानेले जसरी पनि दसैं सेलेब्रेट गर्लान्, तर भुँइतहका जनता के गर्लान्?

आन्दोलनको उत्तारचढावले विरक्त बनेका लेखक प्रकाश हाङ्खिमले घोषणै गरे, ‘आन्दोलनसान्दोलन मारो गोली, अब लेखिएको उपन्यास परिमार्जनतिर लाग्छु।’

यो आन्दोलनप्रतिको विरक्ति थियो। दसैंलाई लिएर पनि उनीसित उस्तै विरक्ति छ। उनी दसैं सेलिब्रेट गर्ने मुडमा छैनन्। दसैं नमनाएर उनी आन्दोलनमा शहिद बन्ने परिवारको निम्ति ‘हामी पनि दुखी छौं तपाईँको दुखमा’ भन्ने सन्देश दिने रे।

‘मैले टीका लाएर रमझम गरे ती परिवार, जसको आर्थिक स्थिति नितान्त खराब छ उनीहरुलाई देखाएको जस्तो हुनेछ,’ भन्छन् आख्यानकार हाङ्खिम, ‘बरु सकेभर दसैंमा अशक्त परिवारलाई केही सहयोग गर्ने विचार छ।’

सोसल मिडियामा अहिले दुइ नेताले गाली खाइरहेका छन्, विमल गुरूङ अनि विनय तामाङ। विमल गुरूङले गाली खाएका हुन्, आफू जङ्गल पसेर रणनीतिहिन आन्दोलन गरेकाले जनतालाई पारेको सङ्कटको कारण। विनय तामाङले गाली खाएका हुन्, जनान्दोलनलाई जीटीए-मा सम्झौता गरेको कारण।

हिजोसम्म मानिसहरू भन्थे, ‘ठोस उपलब्धी बिना बन्द खोल्नु हुँदैन, किन भने हामीले धेरै गुमाइ सक्यौं, कुनै प्राप्तिबिना बन्द खोलियो भने हाम्रो त्याग बेकार हुन्छ।’

तर दसैंको छेकैमा बन्द खोल्ने विमल गुरूङले घोषणा गरेपछि सबैलाई ‘विरोध गरौं कि दसैंको लागि केही बन्दोबस्त गरौं’-को तनावले छोपिदियो।

कालेबुङ छिबो बस्तीका मिस्त्री काम गर्ने पाल्देन तामाङलाई नेता भन्यो कि रिस् उठ्छ रे। ‘11 जना सहिदको खुनले टिका लगाउने विनय तामाङ र विमल गुरूङ दुवैलाई फलिफाप चैं हुँदैन नै,’ भन्छन् उनी, ‘दसैं कसरी मान्नु भन्नेबारे दुःख लाग्दैन, फेल भएको आन्दोलन सम्झेर दुःख लाग्छ।’

कवि राजा पुनियानी जनताको आन्दोलनमा नेताको बुर्कुसी चलेको बताउँछन्। उनलाई यो बन्द खुलेको खुल्ला लागेकै छैन। उनलाई जनताले बाध्य भएर दोकानपाट खोल्लान् तर मन त बन्द नै छ  भन्ने लाग्छ। ‘विमलको निर्देशमा विनयले बोलाएको बन्द विनयले कोलकत्ताको नवान्नमा पाएको वरदानपछि आफै खोलाउने अभियानमा लागेपछि सिन क्लियर भइसकेको हो,’ भन्छन् राजा, ‘जनताको आन्दोलन हो। नेताले यसमा बुर्कुसी खेले। नेताले गर्दा हुने र नगर्दा नहुने होइन आन्दोलन। जनताको मर्जी हो। तर जनता एक्स्प्लोइटेड भए। सधैं चल्दैन यस्तो। जनताले हाक्ने दिन आउँछ । एक न एक दिन।’

 

राजा पुनियानी भन्छन्-

यो बन्द खुलेको खुल्ला लागेकै छैन। जनता बाध्य भएर मात्र हो। मुद्दा अझ आलै छ। विमलको निर्देशमा विनयले बोलाएको बन्द केही दिन अघि विनयले नबान्न वरदानपछि आफै खोलाउने अभियानमा लागेपछि सिन क्लियर भएको हो। जनताको आन्दोलन हो। नेताले यसमा बुर्कुसी खेले। नेताले गर्दा हुने र नगर्दा नहुने होइन आन्दोलन। जनताको मर्जी हो। तर जनता एक्स्प्लोइटेड भए। सधैं चल्दैन यस्तो। जनताले हाक्ने दिन आउँछ। एक न एक दिन।

योपाली जनताले निकै गुमाएका छ्न। सिकेका पनि छन। अबको आन्दोलन अझ अझ एक फड्को माथि जानेछ। विश्वका आत्मनिर्णयको आन्दोलनहरूको पाठ यही हो। काइजेन। अर्थात् निरन्तर प्रगति। हस्तक्षेपले भन्न खोजेको पनि यही हो। समाज एक्कै पालिमा फेरिँदैन। रोम एक दिनमा बनेको थिएन भन्ने उखान छ। समाज बनिनु, फेरिनु र निर्माण हुनु  समय लाग्छ। हतोत्साहित बन्ने काम छैन जनताले।

नेतृत्व पैदा गर्ने चुनौती छ। काम लाग्ने, समर्पित, दायित्ववान नेतृत्व अब जनताबाट आउनुपर्छ। ठिकाबिघा गर्ने श्रेणीको नेतृत्वले सधै यसरी नै धोका दिने हो। उ आफ्नो क्लासप्रति समर्पित हुनुपर्दा जनतालाई धोका दिनैपरेको हुन्छ। जुन नेतृत्व जनताको होइन। त्यै भएर अब यो आन्दोलन एक पाठ हो। दसैंको मुखेन्जी बन्द खोल्ने घोषणा जनतालाई यताको न उताको बनाउने निर्णय जस्तो पनि भयो। खर्चपानीको मार्ग बन्द छ् अझ बन्द खुले पनि। दसैं भनेको खर्च हो। दुई एक नेताले जनतालाई पैसा वितरण गर्दैछ्न अरे। यो त झन जनतालाई एक प्रकारले बाध्य विवश बनाउने उपाय हो।

जनतालाई अब आफ्नै पाउमा उभिने आत्मविश्वास दिनु पो नेतृत्वको काम हो। एक दर्जन दाजुभाई सहिद भएकोले यसैपनी दसैंको रम्झम गर्ने होइन नै। जनता नेताको दरवारमा हाजिरी नलगाएकै बेस। अब आन्दोलनको ताप जोगाउदै जीवनलाई पनि मेसो लगाउदै दसैलाई सकारात्मक शक्ति आर्जनको रुपमा प्रयोग गरेको बेस।

 

कविलाई लाग्छ, यो पाली जनताले निकै गुमाएका छ्न। सिकेका पनि छन। अबको आन्दोलन अझ अझ एक फड्को माथि जानेछ। विश्वका आत्मनिर्णयको आन्दोलनहरूको पाठ यही हो। काइजेन। अर्थात् निरन्तर प्रगति। हस्तक्षेप लेखनले भन्न खोजेको पनि यही हो। समाज एक्कै पालीमा फेरिँदैन। रोम एक दिनमा बनेको थिएन भन्ने उखान छ। समाज बनिनु, फेरिनु र निर्माण हुनु समय लाग्छ। हतोत्साहित बन्ने काम छैन जनताले।

यद्धपि आजको निराशाजनक राजनीतिले समाजका मूल्यहरू नष्ट गरेको मान्छन् पुनियानी। अब नयाँ र भरपर्दा नेतृत्व तयार नभए दार्जीलिङको स्थिति सँधै यस्तै रहने निष्कर्ष पनि राजासित छ।

‘नेतृत्व पैदा गर्ने चुनौती छ। काम लाग्ने, समर्पित, दायित्ववान नेतृत्व अब जनताबाट आउनुपर्छ। ठिकाबिघा गर्ने श्रेणीको नेतृत्वले सधै यसरी नै धोका दिने हो। उ आफ्नो क्लासप्रति समर्पित हुनुपर्दा जनतालाई धोका दिनैपरेको हुन्छ। जुन नेतृत्व जनताको होइन। त्यै भएर अब यो आन्दोलन एक पाठ हो,’ राजाको विश्लेषण छ।

एक दर्जन दाजुभाई सहिद भएकोले यसैपनि दसैको रम्झम गर्ने मौसम नरहेको उनलाई लागेको छ। दसैंको मुखेञ्जी विमल गुरूङले बन्द खोल्नुले भुइँतहका मानिसमा छाएको निराशा विकासशिल समाजको लागि गतिलो खतरा हुने पनि उनलाई लाग्छ।

सङ्गीतकार/गायक दुर्गा खरेललाई राजनीतिले यति परिणतिशुन्य स्थिति निर्माण गर्ला भन्ने लागेको थिएन। नेतृत्व असक्षम हुँदै त्यसले समाजलाई शदियौं पछि धकेल्ने कुरामा उनलाई विश्वास छ। ‘हेर्नुस त, असक्षम राजनीतिले बढो साँस्कृतिक ऐक्यता बोकेको दसैंजस्तो पर्वलाई समेत औपचारिकतामा सिमित गरिदियो,’ खरेल भन्छन्, ‘हाम्रा एकसय चार दिने त्याग खेर गए।’

सिलगढीका पत्रकार/सम्पादक अशोक प्रशान्तसमेत दसैं औपचारिक मात्र बनेकोमा खिन्न छन्। ‘सङ्घर्ष त निरन्तर नै छ, यसपल्ट दसैंलाई औपचारिकरूपले मनाउनुपर्ने स्थिति बन्यो,’ भन्छन् प्रशान्त।

खरसाङका प्रदीप शेर्पालाई दसैंभन्नसाथ यसपाली नेताहरूको असक्षमताको कारण ज्यान गुनाउने शहिदहरूको अनुहार आँखामा आउँछ रे। दैनिक खटिखानेहरुको अवस्थाले दुःखाउँछ रे। ‘यस्तोमा कसरी उत्सव मनाउनु?’ उल्टै प्रश्न गर्छन् शेर्पा।

सुबास घिसिङलाई देवतै मानेर राजनीतिमा छिरेका दार्जीलिङका सचित गहतराजले त प्वाक्कै भने, ‘शहिदहरूको कारण म दुःखमा छु, दसैं बार्छु।’

बबिता मादेन-भन्छन्-

यो जनआन्दोलन हो भन्दै जनता छात्ति पिटि – पिटि सडकमा चिच्याइ बसे तर बेखबर जनतालाई थाहा थिएन आन्दोलनको मुल ढोरी बिमल गुरुङको हातमा थियो। आन्दोलन जहाँबाट थालिएको थियो त्यहीँ आएर थामिनाले जनताको क्रियाकलाप नेताको इच्छा शक्तिमा निर्भर गर्दछ र जनता नेताको राजनैतिक मोहरा सिवाय अरु केही होइन भन्ने प्रष्ट भएको छ।

शतक नाघिसकेको बन्दले आर्जन गरेको नाफा नोक्सान खोज्न जनता जहाँ व्यस्त थिए वहीँ केन्द्रद्वारा सचिवस्तरको बैठक गराइने निर्देश पाएको बहाना बनाएर दसैंको मुखैमा बन्द खोलाए।

केही दिन अघि मात्र बिमल गुरुङद्वारा केन्द्रबाट शुभ खबर आउने सङ्केतलाई आधार मानेर हेऱ्यौं भने बन्द खोलाउने प्रक्रिया सांसद तथा केन्द्रिय मन्त्री एसएस आहलुवालिया र बिमल गुरुङ मिलेर पकाइएको अत्यन्त वेस्वादको पच्दै नपच्ने खिचडी बाहेक अरु केही होइन।

सचिव स्तरको बैठकसम्म मात्र पुग्नु थियो भने यति ठूलो आन्दोलनको जरुरत नै किन थियो ? केन्द्रले अफर गरेको आश्वासन के यति महत्त्वपूर्ण थियो जो आन्दोलनले अस्त व्यस्त अवस्था, अनुमान लगाउन नसकिने घाटाहरु र त्यो भन्दा कहीँ ज्यादा एघार आन्दोलनकारीले चुकाएको प्राणको मूल्य भन्दा जरुरी थियो ?

कुर्सी, सत्ता र व्यवस्था भित्र आज पहाडको राजनीति दुई धारामा बाडिँदै गइरहेको छ, अलग बिचारले जन्माएको स्थिति आफ्नो मुठ्ठीबाट खुस्किदै गइरहेको आभास त बिमल गुरुङलाई पनि छ तब के सत्ता र शक्तिको घिनौना चर्तीकला बिच बन्दले बलि चढ्नु पऱ्यो?

आन्दोलनको रणनीतिमा परिवर्तन हुनु पर्छ भन्ने कुरालाई धेरैले अघिबाटै बुझेको भएता पनि यो वास्तविकतालाई एउटा नेताको ढिट सोचले स्विकार्नु सकेन जस्को कारण आज एउटा लामो सङ्घर्षले बिना उपलब्धि घुँडा टेक्नु पऱ्यो। बन्दलाई एउटा निर्णायक मोडसम्म पुऱ्याएर छोडिदिएको भए आफ्नो धुलिँदै गइरहेको राजनैतिक चमक र जनताको विश्वास दुवै कायम रहने थियो।

बिमल गुरुङ अवश्य एउटा जिउँदो मुटु बोकेको नेता हुन तर अब्बल राजनीतिज्ञ पटक्क होइनन्। यति मात्र होइन प्रसस्त मौका पाउँदा पनि यस्को फाइदा उठाउन नसक्ने तल्लो दर्जाको नेता नै साबित भए।

 

जलढकाका मणि अधिकारीलाई बन्द हुँदासम्म दसैंको चिन्ता थिएन। उनलाई लागेको थियो रे, आन्दोलनको कारण दसैं सबैले मनाउने छैनन्, यसकारण दसैंलाई लिएर सोचिबस्ने झिँजेट नै छैन। तर मुखैमा बन्द खोलिँदा उसको होस् उड्यो।

‘यतिखेर न इस्कूस बेच्नु, न बेच्नलाई केही नै छ,’ भन्छन् अधिकारी, ‘आन्दोलन र दसैं दुवैको दोहोरो मारमा त कृषकहरू नै छन्। हामीलाई कसले क्षतिपूर्ति दिन्छ?’

सिलगढीका विकास कार्कीलाई पनि यस्तै लाग्छ। जनता दोहोरो मारमा परेका छन्। बन्द त खोलियो तर जनताले जीवन फेरि शुन्यबाट शुरु गर्नुपर्ने भो।

‘एकातिर वर्षदिनको चाढ छ अर्कोतिर ढुकुटी र गोजी रित्तै,’ भन्छन् कार्की पनि, ‘कि अस्ती नै बन्द खल्नु, कमसेकम जनताले अलि चलमलाउँने मौका पाउँने थिए। कि दशैं सकिएर खोल्नु, कमसेकम दशैंको मार सहनु पर्थेन!

निष्कर्षमा कवि लेखनाथ छेत्री भन्छन्- ‘बन्द त खुल्यो तर दसैं बन्द भो।’

दार्जीलिङको ताजा स्थिति के हो? लेखनाथको यही निष्कर्ष त्यसको जवाब हो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया