जिएसएसएसले गऱ्यो राष्ट्रव्यापी आन्दोलनको घोषणाः सांसदहरूलाई गराउने गोर्खाल्याण्डको समर्थनमा हस्ताक्षरः २४ नोभेम्बेर संसद घेराउ

विज्ञापन

दिल्लीः गोर्खाल्याण्ड संयुक्त सङ्घर्ष समितिले राष्ट्रव्यापी आन्दोलनको घोषणा गरेको छ। जिएसएसएसले जनान्दोलनलाई राष्ट्रियकरण गर्दै नयाँ कार्यक्रम हातमा लिएको छ। समितिका अध्यक्ष किरण बिकेले बताएअनुसार २२ नोभेम्बेरमा संसदको शीतकालीन सत्र सुरू हुनेछ। जिएसएसएसले आगामी २२ नोभेम्बेरसम्म अधिकतम सांसदहरूलाई गोर्खाल्याण्ड राज्यबारेका समर्थन पत्रमा हस्ताक्षर गराउने भएको छ। सोही समर्थनलाई लिएर २४ नोभेम्बेरको दिन देशव्यापी गोर्खाहरूलाई लिएर संसद घेराउ गर्ने छ।

‘संसद घेरावको निम्ति प्रत्येक राज्यहरूबाट समर्थन अनि सहभागिता जुटाउन हेतु जिएसएसएस प्रत्येक राज्यमा गएर गोर्खाहरूलाई जागरूक गर्नेछ अनि सबैलाई उक्त कार्यक्रममा सहभागिता जनाउने आवाहन गर्नेछ,’ बिकेले खबरम्यागजिनसित भने, ‘हाम्रो मुद्दा छिना फाना हुने ठाउँ भनेको नै संसद हो। यसर्थ दिल्लीमुखी आन्दोलनलाई अझ शसक्त गर्दै अझ सबल कार्यक्रम लिएर हामी देशभरि पुग्ने छौँ। संसद घेराउ कार्यक्रम को निम्ति आवाहन गर्दै दार्जीलिङ पनि आउनेछौँ।’

दार्जीलिङको राजनैतिक उथुल-पुथुल बीच साधारण जनता घोर अन्योलमा परेका भन्दै यतिखेर गोर्खाल्याण्डप्रेमी जनताले संयम राख्नुपर्ने पनि उनले बताएका छन्। ‘हताशा र निराशा नै विरोधी शक्ति अनि षड्यन्त्रकारीहरूको हतियार हो। आजसम्म अनेकौं प्रकारको हत्कण्डा  अप्नाएर जनतालाई थकाउने र जनआन्दोलनको गला निमोठ्ने प्रयास भएको हो,’ उनले भने, ‘कतिजना अवसरवादी र लालची नेताहरूले आफ्नो स्वार्थपूर्तिको निम्ति जनताको बलिदान र योगदानलाई बेचिखाने प्रयास पनि भइरहेको छ।  तर जिएसएसएस जनतालाई अलिकति पनि हतास र निरास नभइदिने निवेदन गर्दछ।’

सचिवस्तरीय होइन राजनैतिक वार्ता हुनुपर्छ

केन्द्रले १५ दिन भित्रमा सबै सम्बन्धित मुद्दामाथि चर्चाको निम्ति अफिसियल लेवलको वार्ता मिलाउने गृह मन्त्रीको आदेश अनुरुप सचिवस्तरको वार्ता भइरहेकोमा पनि जिएसएसएसको आपत्ति रहेको उनले बताएका छन्। ‘सचिवस्तरीय होइन वार्ता राजनैतिकस्तरमा हुनुपर्छ,’ उनले भने, ‘जनान्दोलनलाई यति कमसलरूपले लिनु उचित होइन। जनता सचेत हुनुपर्छ। केही हुन्छ भने त्यो जनशक्तिकै आधारमा हुन्छ।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया