अर्को लश्कर-का आयाम

विज्ञापन

शैलीका छेत्री, दार्जीलिङ


‘बिलिफ एण्ड नलेज’- नामक निबन्धमा हिगेल कान्टले भनेका छन्, ज्ञान अनि तर्कको विजययात्रा यस्ता युगको आस्था विरुद्धयात्रा सावित हुन्छ, जसबाट साहित्यले ‘आस्था’ अनि ‘विश्‍वास’-सित क्रियेटिव माइन्डलाई जोड्ने प्रयास गरिरहेको हुन्छ।

तर, यही तर्क अनि व्यवस्थायीकरणको कोल्टे बाटो हिँड़ेर नै साहित्यले अनौंठो अर्कै लश्करको सृजना गर्छ। अर्थात ट्रेण्ड बाहिर लेखिने सृजनाको मीठो स्वतन्त्रता चाखेको हुन्छ। र यस्तै तार्किक द्वन्द्वबाट परस्पर प्रभावित भएको फरक कविता ट्रेन्ड  कवि राजा पुनियानीको कवितीय सिद्धान्त बनेको छ।

जसबाट मानवीय भाव, राग, वृत्ति अनि समग्रतालाई दर्साउने रागात्मक प्रणालीको अर्कै कविता जमातसम्म पुग्न सक्छौँ। अहिलेसम्म कवि राजा पुनियानीले साहित्यमा रहस्य-भावना, भाव-सौन्दर्यको गहिराई अनि मार्मिकतालाई भाषाको सुन्दर, स्वभाविक अनि मार्मिक रूपबाट बयान गर्ने पद्धति निर्माण गरेर कविता लेख्दै आएका छन्।

 

स्लयाम शिल्पको अवतार

अहिले स्लयाम शैलीमा कविता वाचन गर्ने नवीन तथा भिन्न शैली अघि आइसकेको छ। राजा पुनियानीको वाचनको स्लयाम बान्की उनकै कविता भन्ने भाषाले निर्माण गरेको हो। उनको आफ्नो वाचन शिल्प छ। वाचन पनि कला हो, कविता वाचनमा गएर नै पूर्ण हुन्छ। राजा कवितामा मात्र होइन वाचनमा पनि मिहिनेत गर्छन्। कहिले वाचन बलियो, कहिले कविता बलियो हुनु स्वाभाविक हो, तर यसमा पनि सन्तुलन बनाउनु राजाको ध्येय सँधै देखिएको छ।

राजाको टेस्क्टमा पनि स्लायमवृत्ति विधमान छ। पाठकलाई कविताको बुनोटले नै स्लाम शिल्पमा पठन गर्न उस्काउँछ।

स्लयाम शैलीलाई दार्जीलिङे नेपाली साहित्यमा ल्याउने प्रथम प्रवर्तक कवि राजा पुनियानी नै हुन्। अहिले त्यसका अनेकौं रूप धेरै कविहरूको वाचनकलामा प्रभावकोरूपमा सरेको छ। जब कविले कवितालाई मञ्चमा लान्छ, त्यसको पछिल्तिरको सौन्दर्यलाई चिनिएन भने श्रोता आफै दुर्घटनामा पर्ने सम्भावना बढ्छ।

कवि राजा पुनियानी कविता पठनको माध्यमबाट श्रोतालाई कविताको अद्भुत उन्मादमा पुऱ्याउँछन्। शब्द शक्तिलाई लय र ध्वनी प्रदान गर्न सक्नु सानो उपलब्धी होइन। भावलाई आवाजले बोकेर श्रोताको दिमागसम्म कसरी सहजसित पुऱ्याउनु, राजाको कोशिश त्यतैतिर देखिन्छ। तर बेलाबेला राजा वाचनको प्रयोगको नाममा भएको प्रयोगले धेरैपल्ट श्रोता अन्योलमा परेको पनि सुनिएको हो। यद्धपि, राजा लेखन र वाचन दुवैमा परिचित सक्षम कवि हुन्। यतिको सन्तुलन बनाएर पाठक-श्रोतामा आफ्ना कलात्मक विचार लिएर पुगिरहनु कवि राजाको सफलता हो।

यही प्रभावशाली गेय-शैलीको पक्षबाट कवि राजा पुनियानीलाई उच्च कोटीका कवि मानिलिन सकिन्छ।

हुनपनि, कविले युवा पुस्ताको भावात्मक पक्षलाई सोझै तरङ्गीत गर्छन्, त्यसैले कविका ‘फ्यान’-हरूले राजास्टाइललाई ‘फलो’ गरिरहेका छन्। उनका धेरै फलोवर कि त वाचनले कि त लेखनले बनेको छ, यो चानचुने शक्ति होइन।

 

 ‘अर्को लश्कर’-को खोज

कवि राजा पुनियानीले गम्भीर विषयलाई आकर्षक, सरस अनि सजीव पद्धतिमा कविता लेख्दै आएका छन्। उनको कृति  ‘अर्को लश्कर’-मा फर्म र कन्टेन्ट-माथि धेरै काम गरिएको छ। ‘अर्को लश्कर’- विश्‍लेषणात्मक, परिचयात्मक, आख्यानात्मक तथा आलोचनात्मक शैलीमा आएको हस्तक्षेप सिद्धान्त पनि हो। सिद्धान्तलाई कवितामार्फत राजनीतिसित जोड्नु राजा लेखनको अभिष्ट पनि हो।

राजनीतिको प्रत्येक विचार अन्तरविरोधहरूको उपज हो। जसरी कलाले कलाको विस्तार गर्छ, त्यसरी नै राजनीतिले विद्रोह अनि समाजवादको स्थायी रूपमा मानवद्रोही मनोवेगलाई विस्तार गर्छ। त्यसैले राजनीतिक कविताको आधार अनुभव नभएर विचार हुन्छ अनि यस्ता राजनीतिक कविताले विचारको मात्र समर्थन गरेको देखिन्छ।

तर कवि राजा विचार पनि कलात्मकरूपले गर्छन्। पाठकले आफ्नो विचार सापेक्ष उनका कविताहरूको विचारको तरङ भेट्न सके, उनका कविताले बोकेको कर्तव्य पुरा हुन्छ। यद्धपि ‘अर्को लश्कर’ पुरापुरी राजनीतिक कविता भएकाले राजनीतिलाई साहित्यमा स्वीकार्न अभ्यस्त नभएकाहरूका लागि  नितान्तै नयाँ पाठ पनि हो। नयाँ पाठक, कविले खोजेका अर्को लश्कर हुन्। उनले आफ्नै बुँताले पाठकको अर्को लश्कर तयार पार्ने कोशिश गरेका छन्।

पूँजीवाद, स्तालिनवादी तानाशाही, फासिज्म वा समाजवादी मान्यतालाई कवितामार्फत नै भन्नु हस्तक्षेपीहरूको लागि ठूलो चुनौति हो। केही निरन्तर खोजिरहनु जोखिम उठाउनु हो। परम्पराबाट अर्को बाटो अर्कै परम्परा र समय र समाज सापेक्ष विचार गर्नेहरूको अर्को लश्कर खोज्नु कवि राजाको सङ्घर्ष देखिएको छ।

‘अर्को लश्कर’ – शीर्षकले नै राजनीति कविताको मूल पाठ हो भन्ने सङ्केत गर्छ। नेपाली जनमानसले भोग्दै आएको विगत अनि भविष्यको राजनीतिक इतिहास वरिपरि पाठकलाई घुमाउनु अर्को लश्करको अर्को सिद्धान्त हो।

 

‘अर्को लश्कर’-को राजनीति

‘भिन्नतामा अभिन्नता’ अथवा ‘अनेकतामा एकता’ हुनुपर्ने दार्जीलिङले अचेल राजनीतिक परिधिभित्र  पृथकतावादी विघटनको दुष्परिणाम भोगिरहेको छ। यसरी वर्षौंदेखि सङ्घर्ष-सम्झौताको द्वन्द्वमा दार्जीलिङको वास्तविक अनुहार संसारको मानचित्रभित्र खण्डित हुँदै गएको छ। यसप्रकारको राजनीतिक विखण्डनको प्रभाव सरासरी साहित्यमा पर्न जान्छ।

शब्द अनि अर्थको सम्बन्ध जसरी अभिन्न रहन्छ उसरी नै साहित्य अनि राजनीतिको सम्बन्ध पनि अभिन्न हुन्छ। यसैले त साहित्यलाई राजनीतिको यथार्थ दर्पण मानिलिनु सकिन्छ। जसको छायाबाट जन्म हुन्छ राजनीतिक सम्झौतालाई टक्कर पुराउने निर्भिक एवम् शाश्‍वत कविता।  जसलाई कवि राजा पुनियानीले यसप्रकार बयान गर्छन्:-

कुम्ल्याएर विकासका पोकाहरू

ऊ सरकारको भाषामा बोल्छ

सारा गाउँ, सारा बस्ती, सारा कमान

उसका पछि-पछि

मूसाहरू झैं हिँड़िरहेका छन्

हस्तक्षेप’, पहिलो लश्कर

ईष्ट-इण्डिया कम्पनीको दासत्व भोगाईमा त्यसबेला नेपाली श्रमिक जनताको भविष्य गौण बनेको थियो। उन्नति अनि उन्नयनको मीठो फल, श्रमिक जनताको निम्ति सपनाको कुरा हुन्थ्यो। नाम्लो बोक्नु, नाम्लो खिइबस्नु, त्यसबेलाको श्रमिकवर्गको सधैंको स्वभाविक जीवनको स्वभाविक अङ्ग थियो। जसलाई कवि राजा पुनियानी लेख्छन्-

थाप्लोको नाम्लो खिइएर सकिन्छ

तर भारी सकिँदैन

गुमानसिंह।

कहिल्यै सोच्नुभएको छ-

किन खिइबस्छ, चुँड़िबस्छ घरिघरि तपाईको नाम्लो?

तपाईको नाम्लोमा यो कस्तो धलिमलि?

हस्तक्षेप’, पहिलो लश्कर

सन् १९४७ को भारत स्वाधिनता-आन्दोलनपछि दार्जीलिङले ईष्ट-इण्डिया कम्पनीको दासत्व सत्ताबाट मुक्ति पाए। अबचाहिँ दार्जीलिङको भविष्यमा विकासको नव-काया, नव-बाटो खोलिने भयो। यसरी अङ्ग्रेजी राज्य समाप्त भएपश्‍चात् दार्जीलिङमा समाजवादी व्यवस्था स्थापित भयो। त्यहाँ बसोबासो गर्ने प्रत्येक दार्जीलिङे जनसमुदायले विकसित समाजको अनुहार देख्नु पाउने थियो। तर त्यस समाजवादी राजनैतिक व्यवस्थाले फेरि पनि दार्जीलिङे जनताको अनुहारमा विकासको सट्टामा गौण प्रश्‍न चिन्ह कोऱ्यो।

कयौँ राजनैतिक पार्टीहरू आए  तर दार्जीलिङको भाग्यबाट ईष्ट-इण्डिया कम्पनीले कथेको आरोग्य- निवास-को ट्याग चाहिँ कसैले हटाउन सकेनन्। उल्टा दार्जीलिङले विविध राजनीतिक सम्झौताभित्र बाँधिएर सधैंलाई उन्नतिको चेतनशील तथा प्रगतिमूलक बाटो गुमाएको थियो।

यस्तै सम्झौते प्रजातन्त्र, राजनीतिक साम्राज्यको अवचेतन विषमताभित्र भूभागले गुमाउनु पुगेको जातीय चेतनको द्वान्द्व उनको कविताले बोकेको छ।

जहाँ तिम्रो दासत्वको कलम पुग्दैन

जहाँ तिम्रा झूटा शब्दहरूको बाटो टुङ्गिन्छि

जहाँ तिम्रो सत्ताको मृत्युगीत गुञ्जन्छ

त्यहाँ,  हो त्यहाँ

लेखिँदैछ, इतिहास

मान्छेको खून, पसिना र आँसुले

हस्तक्षेप’, पहिलो लश्कर

खलिल जिब्रान भन्छन्, ‘यस जातिको स्थिति कत्ति दयनीय हुन्छ, जो परम्पर वैमनस्यको कारण कैयौं ससाना सम्प्रदायहरूमा विखण्डित भएका हुन्छन् अनि हरेक सम्प्रदाय नै स्वयम्लाई एउटा जाति मान्न लागेका हुन्छन्।’

भूभागमा राजनैतिक षड़यन्त्रले ल्याएको जातीय विखण्डित अराजकतावादी अवस्थामाथि कविले विद्रोह गर्नु नै समाज र समयसापेक्ष विचार हो। स्वैर संसार, कोरा भावुकता वा अनावश्यक कल्पनाबाट पर बसेर आफ्नै इतिहास, समाज र विचार उत्खनन् गर्नु राजा पुनियानीले गरेको कविता कर्म हो। संसारको मानचित्रमा सङ्घर्षरत्-सम्झौते चोट भोग्दै आएको भूभागको पीड़ालाई आमाको जीवनको सापेक्ष परतन्त्रबाट उब्जिएको सन्तापित तथा मार्मिक पीड़ासित तुलना गरिएको उनको कविताको टुक्रा यस्तो छ-

आमा, धेरै सालपछि पानी परेको देखेर

बौलाएछु भने

नपठाउनू होला मलाई पागलखाना

हाम्रो कोल्टे इतिहासलाई उल्टा पढ़्दै गरेको हुनेछु

पछिल्लो बेञ्चबाट’, चौथो लश्कर

 

काखमा लुकेर नानीले जब सोध्छ-

‘‘आमा, त्यो बाघ को हुन्?’’

जदौ-जदौ! भन्नु पनि कत्ति साह्रो हुन्छ’

‘‘त्यो बाघ बाघ होइन

बाबु, त्यो बाघ हाम्रो स्वाधिनतामाथिका

हस्तक्षेपको चिनो हो’’

हस्तक्षेप’, पहिलो लश्कर

आधुनिकीकरणको महत्वपूर्ण तत्त्व औद्योगिकीकरण तथा शहरीकरण मात्रै नभएर कानून एवम् न्यायको नयाँ व्यवस्थाको सम्भव प्रतिविम्बित स्वरूप पनि हो। कानून, सांस्कृतिक चर्चा, रीति-रिवाज, धार्मिक न्यायशास्त्रको विकासबाट साहित्यको विकासक्रम निर्धारित हुन्छ।

यस्तै परम्परागत रूढ़िवादी आस्था, विविध-निषेध आचरणमूलको जम्मेर हस्तक्षेपले चर्चा गर्छ। यसरी हस्तक्षेपले मार्क्सवाद बलियो भाषा बोलेको छ।

अँध्यारो कुनामा आफै जब हठात् गिटार बज्छ

अमिलो धुनमा

 तब कानून चमेरा भएर

उड़िबस्छ। नैतिकताले गस्ती लगाउन थाल्छ

पुलिस, एजेण्ट र माफियाहरूको भेषमा।

म एउटा कुना यो देशको निम्ति देशको संविधानको

केन्द्रवादको निम्ति।

अँध्यारो कुनाको निम्ति पनि म एउटा चिनिने कुना नै थिएँ।

                        ‘कुना’, पहिलो लश्कर

 

अर्को लश्कर’-मा ‘हस्तक्षेप-लेखन’

प्रोटेस्टेंट नीति अनि विज्ञान, धर्म तथा राजनीतिलाई नौलो मान्यता दिँदै पुनर्निर्माण र पुननिर्धारण समात्ने मार्क्सवादी दर्शनको परिमार्जित भावमा लेखिएको छ हस्तक्षेपधर्मी कवि राजा पुनियानीको ‘अर्को लश्कर’।

‘अर्को लश्कर’-मा मनोविश्‍लेषणात्मक मार्क्सवादको सामञ्जस्यले पूँजीवादी समाजमा मानवले भोगी आएको आत्मग्रस्त तथा संवेदनात्मक उत्पीड़नको बयान छ। नेपाली समाजले भोग्दै गरेको आइडेन्टिटी क्राइसिसको, जटिल समस्यामाथि ‘अर्को लश्कर’-को मार्क्सवादी स्वरले द्वन्द्वात्मक कविताको माध्यमबाट समाजमा व्याप्त पूँजीवादलाई सोझो प्रहार गर्ने कार्य पनि गरेको पाइन्छ।

हस्तक्षेप लेखनको बुझ्न मिहिनेतले अर्को लश्कर पढ्नुपर्ने हुन्छ। वास्तवमा हस्तक्षेप लेखनको घोषणा पत्र नै अर्को लश्करभित्रका कविताहरू हुन्।

 

भाषा-शैली

कम्प्यूटरीकृत समाजमा ज्ञानको अवस्था परिवर्तित हुनसाथ समाजको अवस्था, संस्कृतिको स्थिति, व्यावसायिक स्थिति पनि परिवर्तित हुन्छ र आधुनिक समाजमा जन्मिछ, साइबरनैटिक्स भाषा।

भाषाको अर्को रूपरेखामा गाउँ-घरमा प्रयोग हुने ठेट्-खाँटी नेपाली बोली अनि शहरको राजनीतिक-सांस्कृतिक शिक्षाक्षेत्र तथा बजारमा व्यवहारमा आउने खड़ी नेपाली बोली पनि उसरी जन्मिन्छ।

अहिलेको अत्याधूनिक युगमा गाउँ-घरको भाषाभन्दा शहरको भाषामा लगातार कम्प्यूटर तथा उत्तर-औद्योगिक परिवर्तनको डिस्कोर्स निर्माण भएको छ।

अहिले भाषा ठेट्-खाँटी नभएर मिश्रित खड़ी नेपाली बोली रहेको पाइन्छ र यसैमा केन्द्रित रहेको देखिन्छ ‘हस्तक्षेप-लेखन’ अनि ‘अर्को लश्कर’। यस्तैगरी पाश्‍चात्य साहित्यमा वर्ड्सवर्थ पनि बनावटी भाषा प्रयोगको विरोधी थि।  काव्य भाषालाई जनसाधारणको निकट भाषाछेउ पुराउने पक्षधरमा वर्ड्स्वर्थ काव्य सृजना गर्थे। यसरी वर्ड्सवर्थले काव्यभाषा अनि जनभाषालाई एउटै माने। र यस्तै सिद्धान्त वरिपरि घुमेको छ कवि राजा पुनियानीको ‘अर्को लश्कर’। समष्टि रूपमा ‘अर्को लश्कर’-मा प्रयोग गरिएको भेटाइन्छ १. विवेचनात्मक २. भावात्मक, ३. आलोचनात्मक ४. वर्णनात्मक भाषा-शैली।

 

कवित्व

कवि राजा पुनियानीको राजनीतिक कविता सोझो पाठकको मन-बुद्धिसम्म पुगेको हुन्छ। राजा पुनियानीका कविताको भाव-लोकले केवल आक्रोश, विक्षोभ, आलोचना, आक्रमण अनि कटाक्ष मात्र नभएर कविताले नेपाली जनसमुदायको ज्वलन्त सामाजिक दर्पण पनि बोकेको हुन्छ। जसबाट पाठकले राजनीति, सजग व्यक्तिको मन जस्तो भावलाई बुझ्न सक्छन्।

राजा पुनियानीका कतिपय कविताको भावलोक हिस्सामा कोमलता अनि मधुरता प्रचुर मात्रा भेटाए तापनि कवि राजा पुनियानी यथार्थवादी रिअलिस्ट पार्श्‍वविम्बबाट बलियो राजनीतिक विचारक कवि हुन्।

उनको यस कविता-शैलीलाई हिन्दी कविता साहित्यको शमशेर बहादुर सिंह अनि उत्तर-छायावादी कवि इलियट तथा एजरा पाउडको मार्क्सवादी विवेकसित तुलना गर्न पनि सकिन्छ। कविता पुस्तक ‘अर्को-लश्कर’-मा विविध सम्प्रदाय, वर्ग, मत, मतान्तर आदिको भेदभाव विरोध प्रबल आवाज बोकेको कविता चित्रण बढ़ी मात्रामा गरेको पाइन्छ।

त्यसैले भन्न सकिन्छ कविता पुस्तक ‘अर्को-लश्कर’-को कविता स्वरले, नेपाली जनमानसबीच नव सामाजिक, नव-मानवतावादी सोचलाई मान्यता दिने, अर्को लश्करको उन्नत जमातलाई खोज्ने प्रयास गरिरहेको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया