मुक्त संवाद

किताब


विन्द्या सुब्बा


भारतीय नेपाली नारी स्रष्टाहरूका सन्दर्भमा नेपाल, सिक्किम, पूर्वाञ्चललगायत दार्जीलिङ, डुवर्स हुँदै खरसाङ, सिलगढ़ी, कालेबुङका नारीहरूद्वारा गरिएका सृजनाहरूको चर्चा र निफननाफन गर्ने प्रक्रियामा सम्पूर्णा राईका शसक्त कलम र योगदानलाई सदैव याद गर्दछौँ हामी। कालेबुङको कुरा गर्दा स्थितप्रज्ञकै रूपमा सानुमति राई छिन्।

वर्षौँअघि सन् १९४६ मा गोर्खा’-मा उदाएपश्‍चात् आजसम्म कलम चलाउँदै आएकी यी नारी कवि पचासी वर्षको उमेरमा हिँड्दैछिन् अहिले। प्रकाशित फुटकर कविताहरूसाथै कृतिका रूपमा छन् कवितासङ्ग्रहहरू- उद्गार’ (२००१) र मनपीड़ा’ (२०११)। वर्तमानमा पनि सक्रिय छिन् यिनी। कालेबुङ र छेउछाउका प्रायःजसो नै साहित्यिक सभा-सम्मेलनतिर गरिमापूर्वक आतिथ्यको दायित्व ग्रहण गरिरहेकी हुन्छन्। सानुमति राई छिन्, बस् छिन्।

सम्पूर्णा राईको देहावसानपछि समग्र नेपाली साहित्यमा त भयो नै तर विशेष कालेबुङमा नारी हस्ताक्षरको क्षेत्रमा जुन क्षति भयो, हत्तपत्त भरिन नक्ने त्यो एउटा खालीपन हो भन्ने लाग्यो हामीलाई। अर्कोतिर तर हालसालका शसक्त र प्रयोगधर्मी सर्जकहरू- सञ्जय विष्ट, सुधीर छेत्री, समशेर अली, टीका भाइ, मनोज बोगटी, उज्ज्वल बम्जन, हीरा छेत्री, प्रदीप लोहागुण, आदि पनि कालेबुङमा छन्। यस अनुपातमा उम्दा नारी स्रष्टाहरू- सम्बन्धमा एउटा शून्यता नै व्याप्त छ त्यहॉं। अहिले तर बुझिल्याउँदा हामीले माथि-माथिबाट सोचेको शून्यता मात्र रहेछ यो।

एउटा सबल नारी कलम, साहित्यिक चेत विगत केही वर्षदेखि यता जागरूक छ जो पूर्ण सत्यतथ्यसाथ प्रकट भइसकेको छ अब। अन्तराल अन्तरालमा प्रानतः साहित्यिक विषयमा तर समय समय शैक्षिक, सामाजिक, राजनैतिक र वैश्‍विक विषयमा रचनाहरू प्रकाशित गर्ने श्रीमती मुन्नु गौतमले आफ्ना स्रष्टागत शक्ति, प्रतिभा र पूर्ण महत्तासाथ लेखहरूको सङ्ग्रह मुक्त संवादप्रस्तुत गरेर केही अघिसम्मको त्यो हाम्रो भ्रमलाई तोड़िदिएकी छन्। फेरि काव्यलेखनमा नै पत्र-पत्रिकातिर देखा परिरहेकी सरिता समदर्शीप्रति पनि हाम्रो भरोसा जोड़िसकेको छ अब।

समग्र भारतीय साहित्य हुँदै आफ्ना रुचि र अध्ययनको फॉंटलाई पाश्‍चात्य साहित्यतर्फ पनि विस्तृति दिएकी छन् मुन्नु गौतमले।मुक्त संवाद’-भित्र समसामयिक विषयहरूसाथ लेखहरू सङ्कलित गरिएको छ जसलाई यिनले विभिन्न मनोस्थिति र परिस्थितिमा उब्जेका विचार श्रृङ्खलाहरू भनेकी छन्। विविध विषयक यी सृजनाहरू सचेत पाठकहरूप्रति साहित्यिक साथै बौद्धिक खुराक पुर्‍याउन सक्षम छन्। त्यसै पनि मुन्नुका हर सृजना उम्दा र अध्येय हुन्छन् तर आफ्ना लेखन सामर्थ्य र शीपबारे मुन्नु सचेत छिन्, यस्तो लाग्दैन मलाई। यस दिशातर्फ यिनले निरन्तरता दिनसके स्थानीयत्वको कुरो किन गर्नु? नेपाली साहित्यप्रति महत्त्वपूर्ण योगदान पुर्‍याउनेछिन्। लरतरो कलमकार होइनन् मुन्नु, लेखिरहनुपर्छ यिनले।

मुक्त संवादपढ़ेर सम्पूर्ण पाठकहरूले पनि यस्तै चाहनेछन्। तर यो कुरो बुझ्छिन् या बुझ्दिनन् मुन्नु, जान्दिनँ म। जान्दिनँ यस सृजनकार्यप्रति यिनको कमिटमेन्ट के कस्तो छ!

प्रायः दुई-अढ़ाई वर्षअघि भने यी स्रष्टा आफ्ना लेखहरूको सङ्कलन प्रकाशित गर्ने सहमतिमा आइन् जसका लागि प्रायः चालीस-पैतालिसवटा लेखहरू आफूसमक्ष राखेर केलाउँदै थिइन्। तीमध्ये पनि पछि अठाह्रवटा उत्कृष्ट लेखहरू विचयन गरेर मुक्त संवादनाममा सेप्टेम्बर २०१४ मा प्रकाशित गरेकी छन्। पुस्तकको नामकरणबारे मुन्नुको स्पष्टिकरण छ-

‘‘विभिन्न मनोस्थिति र परिस्थितिमा उब्जेका यी विचार श्रृङ्खलाहरूलाई समयको एक अन्तरालपछि परिमार्जन गरेर प्रस्तुत गर्ने जमर्को गरिनँ। विशेष स्थितिका परिचायक बनेर तीजस्ता रूपमा क्रमवद्ध आए, ती त्यस्तै रहून्, त्यसमा घटबड़ र फेरबदल गर्न मनासिब लागेन। यसो गरेमा मुक्तशब्दमाथि नै अन्याय होला कि!’’

आफ्ना लेखन र लेखहरूप्रति स्पष्ट र विश्‍वासी पनि छिन् मुन्नु। विषयगतरूपमा मुक्त संवाद’-भित्र समाहित लेखहरूलाई मनन गरी पाठकगण! यसैहरूसँग म आफ्नो विचार बॉंड्न चाहन्छु।

सङ्ग्रहभित्र प्रथम लेख छ- महेश दत्तानीको तारा। भारतीय अङ्ग्रेजी भाषाका लेखक/नाटककारहरूमध्ये सर्वप्रथम अकादमी पुरस्कार प्राप्त गर्ने व्यक्ति हुन् महेश दत्तानी। सन् १९९० मा तिनले एउटी नारी ताराको मानसिक, शारीरिक कष्टबारे नाटक लेखेका छन् जो अत्यन्त छलिएकी, हेपिएकी र यतिसम्म कि आफ्नै आमाबाट पनि ठगिएकी छन्। यस नाटकद्वारा सर्जकले नारीहरूलाई अब समाजका पक्षपातको विरूद्ध दह्रिलो भई उभिने सन्देश पनि दिएको छ। नारीहरूका हिमायती र भारतीय समाजमा छोरीहरूप्रति अन्यायका विरोध गर्ने लेखक हुन् महेश दत्तानी।

विगत २४ दिसम्बर २०११ को दिन मुन्नु गौतम, विन्द्या सुब्बा, डा. कविता लामा र मीना सुब्बाले नेपाल अनकुटामा झमक घिमिरेसँग गरेका भेटघाटको रोचक प्रस्तुति हो- धनकुटाकी ध्रुवतारा। यस लेखमा एक ठाउँ लेख्छिन् मुन्नुजी- ‘‘वातावरण साहित्यिक भेटघाट होइन तर अनौपचारिक आत्मीय बन्दैछ। साहित्य खेप्न आएका होइनौँ हामी, झमकलाई भारतीय दिदी-बहिनीको स्नेह दिन आएका, सौहार्द्ध बड़ाउन आएका। तमोर नदीमा जसरी कष्टका लहरहरू आउँछन्, टिस्टा रङ्गीत र बालासनमा पनि त्यस्तै पीरमर्काहरू हुल बॉंधेर आइरहन्छन्। हाम्रा सङ्कल्पहरू, दृष्टान्तहरू, मनोभावनाहरू सबै एक।’’

स्थितिहरू वयान गर्नका लागि सर्जकका दृष्टिभङ्गी र बिम्बविधानमा सौन्दर्यको कुनै अभाव छैन। मनोबलकी धनी स्रष्टा झमकबारे शब्दहरू छन् अझै- ‘‘वियोग विषादको क्षणलाई पनि विराम लगाइदिने झमकको विष्मयकारी विशेषता छ। हॉंसेर जस्तै विषादलाई पनि मिल्काइदिने झमकको अद्भुत उत्साह अनि सृजनालाई सयौँ सलाम।’’

आ-आफ्ना राष्ट्रका नीति र मान्यताविरूद्ध कलम चलाउने लेखकहरूप्रति भएको सजायबारे विमर्श गरिएको रचना हो- बन्दीगृहभित्रका स्वतन्त्र कलमहरू। आफ्ना रचना धर्मिताका जम्मै उद्देश्य र धार मुस्लिम कट्टपन्थीहरूविरूद्ध सोधेकी छन् तसलिमाले, फलतः निर्वासित जीवन बतिाएकी वर्षौँ भयो। कृति नास्तिकताको आवश्यकता’-का निम्ति अक्सफोर्डबाट निष्कासित पी.बी. शेली, समाजच्यूत मार्लो, २० वर्षसम्म घरविहीन हुने मानवतावादी दॉंते, ११ वर्ष घरबाहिर भएका पियत्रो जियानो, लेखक पोलिकोले ले मी प्री जियोनी’-का लागि भोगेका जेलयातना आदि… आदिबारे आलोचना गरिएको लेखमा लेखेकी छन्- ‘‘विश्‍वका समस्त पत्रकार, कवि-लेखकहरू व्यवस्था कुव्यवस्थामाथि समीक्षा गर्ने, घोत्लिने, व्यङ्ग्य कस्ने, चिच्याउने नगरे समाज र राष्ट्रको मार्गदर्शन कसले गर्ने? युगको व्यथालाई कसले समेट्ने? साहित्य जन्मून् झ्यालखानामा बन्दी साहित्यकारहरूका कलमबाट, निर्वासित कलमकारको धुकधुकीबाट, बहिष्कृत र धम्काइएका लेखनदासहरूबाट।’’

अनुवाद साहित्यसम्बन्धमा नेपाली साहित्यको विकासक्रम साथै रोजगारका अवसरहरूएउटा चिन्तनपरक लेख हो। नेपाली भाषामा अन्य साहित्यको अनुवाद भएको साथै नेपाली साहित्यका केही कृतिहरूका पनि अन्य भाषामा अनुवाद भएको कुराको उठानसाथ अनुवादकार्यलाई रोजगारको माध्यम बनाउन सकिन्छ भन्ने सुझाउसमेत व्यक्त गरिएको छ यस लेखमा।

पुस्तक चर्चाको प्रसङ्गमा अमेरिकी उपन्यासकार अर्नेष्ट हेमिङवेको उपन्यास बुढ़ो मानिस अनि समुद्र’-माथि आफ्नो दृष्टिकोण बुझाएकी छन् – ‘‘यथार्थवादी हेमिङवेले प्रतीकात्मक शैलीमा जीवनको सिङ्गो सङ्घर्षमय गाथालाई प्रष्ट बनाएका छन्। सफलतालाई सम्मानको मानदण्ड ठान्ने स्वार्थी समाजप्रति यहॉं गतिलो व्यङ्ग्य पनि पाइन्छ।’’

जिउँदो जातिको जिउँदो भाषा नेपाली हाम्रो मातृभाषालेखमा विभिन्न समयकाल र परिस्थितिमा नेपाली भाषाको स्थितिबारे विचारविमर्श गरिएको छ।

चौबिस वर्षकै कलिलो उमेरमा एउटापछि अर्को गर्दै कृतिहरू लेख्ने अमर स्रष्टा अच्छा राई रसिक राजनीतिप्रेरित, राजनीतिप्रति रुचि लिने भए पनि यस रुचिको सोझै छाप भने आफ्ना रचना र कृतिहरूमा कहिले पनि पर्न नदिएको कुरो उल्लेख छ रचनात्मक रङभित्र रसिकको राजनैतिक रुचिशीर्षकको रचनामा।

ईश्‍वरको अस्तित्वको सुमधुर बोध गरिएको एउटा उत्कृष्ट लेख हो जगन्नाथको जगतलीला। जगन्नाथपुरी यात्राको एउटा सरस स्मरण पनि हो। यो लेखौट जहॉं विधवा कृष्णदासीहरूको जीवनको पनि झलक छ। श्रीमती गौतमले जगन्नाथ मन्दिर दर्शन गरिरहेकी समय यता माइतमा पिताले अन्तिम निःश्‍वास त्याग गरेकाबारे पाइएको खबरको अति हृदयग्राही उल्लेख साथै यस रचनामा जीवन र मृत्यु सम्बन्धमा दर्शन पनि छ।

मुक्त संवादप्रकाशित हुनभन्दा अघि नै हिमालय दर्पण’-मा पढ़िएको एक सुन्दर लेख हो इम्फालको इबोमचा। गोर्खाहरूका हितैषी, गोर्खाप्रेमी एक मणिपुरी युवकको साह्रै रोचक चित्रण छ यहॉं। कालेबुङमा शिक्षार्जन गरेको पहाड़प्रेमी पनि हो इबोमचा। मणिपुरमा उग्रवादलाई दमन गर्न राखिएको सैन्य वाहिनीको एकाधिपत्य विषयमा चर्चा गर्दै यस सैनिक अतिक्रमणविरूद्ध शान्ति र श्रृङ्खलासाथ नागरिकहरूले जीवन बिताउन पाउनुपर्छ भन्ने अड़ानमा विगत एक दशकभन्दा बढ़ी समयदेखि अनशनमा बसेकी शर्मिला इरोमको विद्रोहमाथि साथै सन्देहको आधारमा सेनाको शिविरमा पुर्‍याइएकी तर भोलिपल्ट नै प्रताड़ित र बलात्कृत नग्न शरीरमा मृत फालिएकी मनोरमाको पनि वयान छ।

यस पीड़ाजन्य स्थिति पढ्दा हामी प्रत्येक नारीको मनलाई एउटा चिसो बतासले छोएर गइदिन्छ र जब त्यो बतास कुनै चट्टानमा पुगेर ठोक्किन्छ, त्यसले फेरि एउटा उतप्त आगोको रूप धारण गरिसकेको हुन्छ। त्यो बतास र आगोमाझको ए समय! तिमी त्यो चिसेनीबाट अलग्गिएर माथि उठ र मणिपुरको भूभाग हुँदै सम्पूर्ण पृथ्वीमा व्याप्त नै जहॉं जहॉं नारीहरू आजसम्म यसै गरी प्रताड़ित भइरहेछन्।

मुन्नु गौतमका लेखनशिल्पको बेजोड़ छटा देखिएका रचनाहरूमध्ये एउटा हो यो इम्फालको इबोमचा

कालेबुङ मेनरोडमा नै भाइचन्द प्रधानको एउटा पुस्तक पसल सञ्जयहरूथियो जो डिसम्बर १९९५ मा लागेको अग्निकाण्डमा जलेर ध्वस्त भयो भन्ने कुराको अनुसूचक लेख हो- भाइचन्द सरको सञ्जयहरू। पढ़ेर लाग्यो त्यहॉं पाइला राख्नै पाइनँ रहेछु।सञ्जयहरूलेखक, शिक्षक, पत्रकार र राजनैतिक व्यक्तिहरूको एक अड्डा पनि थिएछ जस्तो दार्जीलिङ मोटरस्ट्याण्डमा हाम्रा कान्छा भाइको पसल साझा साहित्य निकेतनछ। भाइचन्द सरको नाममा नेपाली साहित्य अध्ययन समितिको भाइचन्द प्रधान प्रेक्षागृहभाइचन्द स्मृति पुरस्कारसिवाय हिजाज उनलाई याद गरिन्न भन्ने घतपर्दो विचार पनि पोखाइएको छ यहॉं।

रविन्द्रनाथको विद्याश्रम शान्तिनिकेतन’-मा विश्‍वभारती (शान्तिनिकेतन)-को स्थापनाको इतिहास छ। निर्मल प्राकृतिक वातावरणमा विद्यार्थीहरूले शिक्षार्जन गरून् भन्ने चाहन्थे कविगुरु। तिनले स्थापना गरेका यस संस्थानलाई स्वयं स्रष्टाका हरफहरूमा हेरौँ- ‘‘त्यही सपनालाई साकार पार्न शान्तिनिकेतनमा एक आदर्श शैक्षिक संस्थानको निर्माण भएथ्यो बेजोड़ नमूना र आफैमा विशिष्टता बोक्ने एक यस्तो संस्थान जहॉं विद्यार्थीहरू शिक्षाग्रहण गर्न सक्षम हुनेछन् संयमपूर्वक तपस्वीसरह। प्रकृतिको काखमा वृक्षका छायॉं, शितलतासाथै व्यक्तित्व निर्माण वैदिक ढॉंचामा।’’

तीव्र भावसंवेदनाकी स्ष्टा पनि हुन् मुन्नु। वस्तुपक्षको मात्र होइन तर भाव र कलापक्षमा पनि सम्पन्न छिन् यिनी। लेख्दा प्रशस्त शब्दहरू खेलाउँछिन्। यिनका चयनीत शब्दहरूले लेखका वाक्य संरचनालाई औधी सुन्दर र सबल बनाएका छन्।मुक्त संवाद’-का चर्चाभित्र ठाउँ ठाउँमा मैले राखेकी यिनका चिन्तनधाराका उद्दरणहरूबाट थाहा पाउन सकिन्छ। भाषा शैली सन्दर्भमा यस शिल्पद्वारा आख्यानलेखनमा कति सौन्दर्य भर्न सकिन्थ्यो होला! आख्यानकारितामा उपयुक्त मानिने मनोहारी लेखनशैली छ मुन्नुजीको।

संवादहरूभनिएका श्रीमती गौतमका रचनाहरूले हामीलाई यिनी देशका एक निष्ठासम्पन्न नागरिक, एक सचेत र सम्बद्ध सामाजिक मानिस, आधुनिक शिक्षित नारी साथै इतिहास र राजनीतिका जानिफकार सर्जक भएकी परिचय पनि दिएका छन्।प्रजातन्त्र, पत्रकारिता र हामी’, ‘विभाजन ः एक विषम ज्वर’, ‘जिन्नालाई जान्दा अनि जॉंच्दा’, ‘स्वतन्त्रताको ६१ वर्ष ः राष्ट्र र हामी’, ‘बङ्गालको कुचक्र ः डुवर्स भूमिमायस्तै स्वआस्तित्विक चेतना र राजनीतिपरक लेखहरू हुन्। यहॉं एउटा-दुईवटा उद्दरणहरू प्रस्तुत गरिरहेछु जसद्वारा विषयजनितरूपमा लेखका परिचय पाउन सकिन्छ।

‘‘अधिकांश जीवनभरि हिन्दु मुस्लिम भाइ भाइ’-को नारा लगाउने राष्ट्रिय भातृत्व मैत्री एकताको पक्का समर्थक तिनी (जिन्ना) थिए। कालान्तरमा एक नव राष्ट्र, एक अलग मुस्लिम वासस्थानको माग गरेर सबैलाई अरकच्च पारे।….

…. दिल्लीमा सम्पन्न हुने स्वतन्त्र सभाप्रति गान्धीजीको न त चासो थियो न खॉंचो नै। नेहरू, प्रसाद, पटेलहरू दिल्लीमा उत्साहित हुँदै मध्यरातको प्रतीक्षा गर्दा गान्धीजी निराहार रहेर ईश्‍वरमा लीन भइसकेका थिए। सम्पूर्ण आतङ्कित कलकत्तावासीको निम्ति तिनको वासस्थल अचानक तीर्थस्थलमा परिणत भइसकेको थियो।’’

जिन्नालाई जान्दा अनि जाँच्दा

‘‘वर्ग सङ्घर्ष, रङभेद नीतिमाथिको सङ्घर्षको इतिहास विश्‍वमा नौलो होइन। मानव सभ्यतासितै भित्रिएको यो मनोविकारको शिकार हामी बङ्गालभित्र मानसिक मात्र होइन शारीरिक प्रताड़ना पनि झेल्नु बाध्य छौँ। …. आजभन्दा ३०/३५ वर्षअघि बसमा यात्रा गर्दा गरीब निमुखा आदिवासी – गोर्खा महिला वा पुरुष भद्र महिलाभद्र लोग’-का निम्ति बसेको स्थानबाट उभिनुपर्ने बाध्यताको यथार्थ घटनाहरू आज ५० नाघेका डुवर्सवासीलाई सोध्दा थाहा लाग्छ।’’

बङ्गालको कुचक्र ः डुवर्स भूमिमा

स्रष्टाका यी लहरहरू पढ्दा पढ्दै मलाई पनि वर्षौअघि हामीमाथि भएको हेल्चेक्राइँ र हेपाहा दृष्टिकोणको सम्झना भयो। सत्तरकै दशकसम्म पनि मेरो गाउँ/ठाउँ तीनधारेबाट सिलगढ़ी, खरसाङ, दार्जीलिङतिर जान परे रेल एक मात्र यात्राको सवारी साधन थियो। मोटरहरू धेरै चल्दैन थिए। रेल चढ्दा झन सिजनमा त रेलभरि बसेका बङ्गबन्धु पर्यटकहरूले बस्ने ठाउँ छोड़िदिँदेनथे हामीलाई। बङ्गलाभाषा बुझ्दैनथ्यौँ, तसर्थ त्यही लाभ उठाएर उनीहरू आफ्नो भाषामा हाम्रो बारेमा नाना किसिम भन्दै हॉंस्थे। अपमानले जर्जरित उभिएरै दुई घण्टा खरसाङसम्मको मेरो यात्रा दुरूह भएको थियो एकचोटि।

तर अस्सीको दशकको गोर्खाल्याण्ड आन्दोलनले यो हेपाहा आचरणलाई धेरै दमन गरिदिएको कुरो सत्यातिसत्य हो। यिनीहरू पनि इतिहास जान्दछन्, आफ्नो भूभागप्रति सचेत छन् र विद्रोह गर्न जान्दछन् भनेर अलिक डराउन थालेको त्यसै समयदेखि हो। खरसाङ पढ्ने हामी, प्रायः रेलमा नै ओहोरदोहोर गर्नुपर्थ्यो। किशोरी या तरूण उमेरमा भोगिएका त्यस्ता अपमानका कारण ईख बोकेँ मैले, बङ्गला भाषा लेख्नु, पढ्नु र बोल्नु सिकेँ, सिकायो जागिरे जीवनले पनि। त्यसपछिदेखि आजभोलि सिलगढ़ी काट्यो कि छुरा जतिकै बनाउँछु मुखलाई र अलिकति पनि हेप्नु अनि ठग्नु दिदिनँ।

भावगत र कलागत दुवै पक्षमा मुन्नु गौतमलिखित सङ्ग्रहभित्रको लेख एक सॉंझ विन्द्याजीको साथएउटा सुन्दरतम रचना हो। यस लेखमा चरित्र प्रकाशनकालेबुङद्वारा  आयोजित चरित्र कथासङ्ग्रह’-को विमोचन समारोह (जुलाई २००९) मा मुन्नुजी र मेरो प्रथम देखादेख भएको थियो भन्ने जिकर गरिएको छ- ‘‘देख्दै थिएँ प्रथमचोटि सशरीर विन्द्या सुब्बाजीलाई आफू अघिल्तिर। अक्षरहरूका माध्यमद्वारा उनी मसित परिचित। सम्प्रेषण गर्छिन् शब्दहरू मेरा मन-मस्तिष्कमा। …. उनीहरूलाई अन्दाज थिएन विन्द्याजीको लेखनप्रति म कति अनुरक्त छु। उनले छोएकी कलमद्वारा आफू साहित्य सृजना गरूँ भन्ने अभिलाषा राख्छु…..।’’

वास्तवमा मुन्नुजीसँग मेरो पक्षबाट पनि त्यो अन्तरङ सञ्चार चरित्र कथासङ्ग्रह विमोचन समारोहभन्दा अघि नै सुनचरी’, ‘हिमालय दर्पण’-तिर यिनका रचनाहरू पढ़ेर स्थापित भइसकेको हो। तर काठमाडौंका प्रगतिवादी लेखक नीनू चापागाईँलाई वर्षौँसम्म नारी लेखक हुन् भनेर सोच्ने भूल गरेकी मैले मुन्नु गौतम पनि कतै पुरुष पो हुन् कि! केही अवधिसम्म ठीक पत्तो भएन मलाई। तर नारी हुन् वा पुरुष स्रष्टा भनेको केवल स्रष्टा हुन्। बस् म यिनको लेखनीबाट प्रभावित थिएँ।

नेपाली भाषा-साहित्यमाथि रुचि र श्रद्धा राख्ने एवं साहित्यलगायत यावत विषयमाथि अध्ययन गर्ने एकार्कामा विचार आदानप्रदान गर्ने परिवार हो गौतम परिवार। मुन्नुका कति के.पी. गौतमसँग नेपाली र अङ्ग्रेजीबाहेक बङ्गला, असमियॉं, मणिपुरी आदि भाषाको पनि राम्रो ज्ञान छ। मुन्नुका लेखहरूका प्रथम समीक्षक र टिप्पणीकार श्रीमान गौतम नै हुन्।

कालेबुङबाट प्रकाशित हुने समसामयिक पत्रिका माया’ (प्रथम महिला गोर्खे सांसद मायादेवीको स्मृतिमा राखिएको नाम)-की सम्पादक हुन् मुन्नु गौतम जसको पॉंचौ अङ्कसम्म प्रकाशित भइसकेको छ। अङ्ग्रेजी नेपाली दुवै भाषामा विविध विधासम्मत रचनाहरू प्रकाशित हुने मायापाठकहरूलाई बौद्धिक खुराक पनि पुर्‍याइदिने गतिलो पत्रिका छ। यसको सम्पादकीयबाट एउटा अङ्श साभार गरिरहेछु यहॉं- ‘‘नारी अधिकार, सुरक्षा, सत्कर्म, समुत्थान आदिको कुरा प्रत्येक घर-परिवारबाट नै शुरू भएर विश्‍वव्यापी बनोस्। शताब्दी अघिदेखि शुरू भएर प्रत्येक वर्ष मनाइँदै आएको अन्तर्राष्ट्रिय नारी दिवसको प्रमुख नारा यही बनोस्। …. हातमा कलम पक्रेका आजका शिक्षित नारीहरू कसरी आवाज उच्च गर्न सक्छन् …, त्यही महान लक्ष्य भेदनको क्षुद्रतम प्रयास हो माया पत्रिकाको प्रकाशन र यसको सम्भारको सङ्कल्प।’’

मुक्त संवाद’-को विमर्शभित्र नारी प्रधान पत्रिका माया’-को कुरा सान्दर्भिक भयो वा भएन म जान्दिनँ, तर एउटी नारी प्रतिभाको चर्चा गर्दा उनैद्वारा सम्पादित पत्रिकाबारे एउटा उल्लेख असान्दर्भिक भयो, ठान्दिनँ।

अङ्ग्रेजी विषयमा स्नातकोत्तर गरेकी पेशाले शिक्षिका श्रीमती गौतम अङ्ग्रेजी भाषामा पनि रचनाहरू लेख्छिन्। देश, काल, समाज र कलालाई लिएर साहित्य सृजना गर्ने मुन्नु गौतमका चेत र चिन्तन पनि निकै उचाइँतिर छ।

अतः मुक्त संवादयिनका अध्ययन, प्रतिभा, विवेचना शक्ति र अभिव्यक्ति कलाको अनुसूचक कृति पनि हो। यसभित्रका तमाम लेखहरूका माध्यमद्वारा मुन्नुजीले गद्यलेखनको छुट्टै तकनिकी र एउटा विस्तृत आयामसँग हामीलाई परिचित गराइदिएकी छन्।

त्यस उभयमुखी कलमलाई मेरो सप्रेम सलाम!

उन्मुक्त कलमका यी मुक्त संवादहरू नेपाली साहित्य संसारमा निरन्तर सञ्चार र सम्प्रेषित भइरहून्। अहिलेलाई यति मनोवाञ्छना मेरो। मुन्नु गौतमका अभ्यर्थी पाठकहरूको॥

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया