हावामै हल्लिरहन्छ झण्डा

निमा शेर्पा


 

हावा कताबाट बग्दैछ?

सबभन्दा पहिले यो कुरो

झण्डालार्इ नै थाहा हुन्छ

फेरि पनि

हावामै हल्लिरहन्छ झण्डा।

 

समर्थनमा हल्लिन्छ

विरोधमा हल्लिन्छ

स्वतन्त्र हल्लिन्छ

अनि कहिलेकाहीँ त

देखाउनकै लागि मात्र पनि हल्लिन्छ।

 

हातमा हल्लिन्छ,

धुरीमा हल्लिन्छ,

खम्बामा हल्लिन्छ

सडकमा हल्लिन्छ

गाउँमा हल्लिन्छ

शहरमा हल्लिन्छ

गाडीमा हल्लिन्छ

दोकानमा हल्लिन्छ

अनि हल्लिएरै एक दिन

बूढो हुन्छ झण्डा।

 

झण्डाको उँचाइ पनि हुन्छ

डण्ठामा,

झण्डा फेरिन्छ

तर डण्ठा फेरिँदैन,

झण्डा जलाइन्छ,

तर डण्ठा फेरि चलाइन्छ।

 

अझै पनि

हावामै हल्लिरहन्छ झण्डा।

 

झण्डाको शक्ति पनि हुन्छ

समर्थनमा,

समर्थन फिर्ता लिएकै भोलिपल्ट

झण्डा च्यातिन्छ,

झण्डा कुल्चिएर फ्याँकिन्छ

र पनि,

हावामै हल्लिरहन्छ झण्डा।

 

झण्डाको नाम हुन्छ,

दाम हुन्छ,

र झण्डाको काम पनि हुन्छ

धुरीमा भइञ्जेल।

भुँइमा खस्नसाथ मेट्नै नसकिने

दाग लाग्छ झण्डामा

तरै पनि के गर्नु?

हावामै हल्लिरहन्छ झण्डा।

 

झण्डाको आत्मा पनि हुन्छ

भन्छ तर देखेको छैन,

झण्डा रून्छ पनि

भन्छ तर सुनेको छैन,

जुन दिन झण्डा

आफै हल्लिन्छ आफ्नै गतिमा

हावाले आफ्नो दिशा परिवर्तन गर्नुपर्छ,

जुन दिन झण्डा ठडिन्छ

आफ्नै उँचाइमा

डण्ठाले अभिमानी शिर पनि

झुकाउनुपर्छ,

जुन दिन झण्डा हिँड्छ

आफ्नै शक्तिमा

भीडले पत्कर भएर पछ्याउनुपर्छ,

जुन दिन झण्डाले धुरी चढ्न छोड्छ

धुरीले भुँइ छुनपर्छ।

तर त्यो दिन कहिले आउने?

जहिले पनि व्यर्थै

हावामै हल्लिरहन्छ झण्डा।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया