चक्र

असिम सागर


 

कुनैदिन

म गन्यौला थिएँ

सयौं कमिला मिलेर

आफ्नो लागि आहारा बनाए

 

त्यसपछि

म कमिला भएँ

निरकुङ्कुस चराहरुले

आफ्नो लागि चारो बनाए

 

त्यसपछि

म चरा भएँ

तानाशाही बाजहरुले

आफ्नो लागि सिकार बनाए

 

त्यसपछि

म बाज भएँ

र बर्षौंदेखि चराहरुको सिकार गर्दै आईरहेको

म तानाशाही बाज

खै कतिबेला झरेछन् मेरा अहंका प्वाँखहरु

र तिनै प्वाँख सडेको ठाउँबाट

जन्मिए एकहुल झुसिल्किराहरु

 

त्यसपछि

सिमी र फर्सिको पात खाँदै हिँडने

झुसिल्किरा भएँ

 

जुनदिनदेखि म झुसिल्किरा भएँ

त्यहि दिनदेखि मेरो सिकार कम भएको छ

लाग्छ कुरुप हुनुपनि

जीवनको एकपक्ष सुन्दर हुनुरहेछ

 

एकदिन

कहिल्यै घाम नछिर्ने कन्तुरले

खोपिल्टा परेको गुफाजस्तो मेरो पेटलाई भन्यो

उड्न त झिंगा र लामखुट्टेहरु पनि उड्छन्

चरा भएर उड्नु पो उड्नु

माया त जराले माटोलाई पनि गर्छ

सहिदले देशलाई गर्ने माया पो माया

 

अँध्यारोमा बस्नेहरुसँग नै

उज्यालोको भोक हुन्छ

र भोकबाटै जन्मिन्छन् सपनाहरु

जसले मलाई झुसिल्किरा मात्रै भएर बस्न दिएन

विकृतिका सारा झुसहरु उखेलिए

समयले पखेटा हालिदियो

अनि म झुसिल्किराबाट पुतली भएँ

र रमाईरहेछु यो देशको फूलबारीमा

 

यदि कतै सहिद भएछु भनेपनि

दुईथोपा शीतका आँशु खसाएर

अब मेरा लागि फूलहरु रुनेछन्

सिङ्गो बगैंचा रुनेछ।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया