संवादका हत्यारा

विज्ञापन

मनोज बोगटी


डा. बासीले भने-‘चोट नै नलागी दुख्नेहरूको संसार हो यो। दुख्नु त्यो संसारको सबैभन्दा ठूलो दुःख हो। दुःखसित लड्‌न बनिएको जीवनमा हामी सुखहरूको खोज गरिबस्छौं। सुख भनेको दुःखहरूको कॉंड़ाघारीमा नै पाइने कुरा हो। तपाईँको आँखा दुखेको कारण खोज्न मैले आँखाको इतिहास जान्नुपर्छ। त्यो इतिहास पनि तपाईँले भन्ने हो। कोहीबेला आफ्नै दुःख व्यक्त गर्न सकिँदैन। इतिहास भन्न सकिँदैन। हामी सुनेर उपचार गर्ने कोशिष गर्छौं। तपाईँ र मबिचको सम्बन्ध भनेको दुइवटा आँखाबिचको जस्तो हुनुपर्छ।’

आँखाको उपचार गर्न गएँको म कविता सुनेर फर्किएको थिएँ। तिनी कवि त होइनन्‌ तर तिनी बोल्दा मलाई कुनै सुन्दर कविता सुनिरहेछु जस्तो लागिबस्यो। तिनी बोलिरहँदा म कविता सुनिरहेको हुन्थेँ। किन मलाई तिनका कुराहरू कविता लागेे? हिन्दीका कवि धुमिलको कुनै सुन्दर कविता पढ्‌दैगर्दा आँखा मधुरो भयो। फुलापरेजस्तो मोती ढाकेको। त्यसपछि तुरन्तै डा. बासीकहॉं पुगेँ अनि कविता सुेर फर्किएँ। पढ़िराखेर गएको र घइसकेपछि सुनेको दुवैको कुरा सुन्दर थियो।

धुमिलले लेखेका छन्‌-

फलामको स्वाद

शब्द कसरी कविता बन्छ हेर

अक्षरहरूको बीचमा खसेको मान्छेलाई पढ़।

के सुन्यौ?

फलामको आवाज

अथवा माटोमा खसेको रगतको रङ?

फलामको स्वाद

लोहारेलाई नसोध

घोडालाई सोध

जसको मुखमा लगाम छ।

डा. बासी र धुमिल मसित जोडियो। हामीलाई जोड्‌ने पुल थियो संवाद।

शब्दहरूको बीचमा खसेको मान्छेको संघर्षले कविताको स्वरुप माग्दोरहेछ। जुन परिस्थितिमा म छु, मेरो वर्तमान छ र यसले मलाई मेरो चिह्नारी सधैँ माग्छ। तर हाम्रो उपस्थितिलाई लिएर जुन राजनैतिक चलखेल छ त्यो लोहारेको विम्वमा उज्यालो बन्छ। म त घोडा हुँ। मलाई फलामको स्वाद कसले सोध्छ?

 

°°°

दुःखको बेलोे खोज्न कसले सक्छ? त्यो बलवानसित अन्तर्वार्ता लिन चहान्छु म। सोध्न चहान्छु दुखको रङ कतिवटा हुन्छ? यसको जरा कतिवटा हुन्छ? कवि साथी निमा शेर्पा भन्छन्‌, ‘देश भनेका े छोरोले बनाएको शीर अलिक बाङ्‌गो भएको मानचित्र त होइन।’

म आफै पनि लेख्छु, ‘रतन्धो देश गाउँ देख्दैन।’

कवि मनप्रसाद सुब्बाले सवाल्टर्नको शीर लेखे। किनारीकृतहरूको स्वरमा देखिने पातलो निकासको रापले आखिर कसलाई पोल्छ? लेखनाथ छेत्रीको केटाकेटी कवितामा भनिएको ‘हामीलाई जहिल्यै केटाकेटी नै ठानिबस्ने केन्द्रिय मनोभाव छिचोल्ने केटाकेटी पनि बन्न सक्दैनौहामी? हामीलाई दार्जीलिङ पनि देश लाग्छ तर  देशमा बसेर देश देख्न नपाइनु, देश भोग्न नपाइनुको दुःखले फैलाइरहेको जङ्‌गलभित्र हराइरहेको मानिसको कथाले पोल्छ।

दार्जीलिङबाट भइसकेको दुइवटा उद्देश्यहीन आन्दोलन पनि आखिर किनारा परेकाहरूको सार्वजनिन्‌ पीढा नै त हो। केन्द्रसितको लडाईँमा हिँडिएको किनाराको बाटो पनि केन्द्रतिर नै फर्किएको हुन्छ। अहिलेलाई भारतीय नेपालीहरूको सार्वजनिन पीड़ा भनेको‘जातीय उन्मुक्ति’- मात्र होइन। किन भने कुनै पनि जातिको उन्मुक्ति सम्भव छैन। जातीय मुक्तिको अवधारणाले हामीलाई तान्छ किन भने यो सार्वजनिन पीड़ा हो। त्यो सार्वजनिन पीड़ालाई कहीँ लगेर मिल्काउन मिल्छ? अथवा त्यो सामुहिक दुःखलाई त्यतिकै छोड़ेर कुनै पनि कवि भाग्न मिल्छ? किन नेपालका कविहरूको झुण्ड सडकमा ओर्लिएका? किन दार्जीलिङमा मनप्रसाद सुब्बाहरू किनारामा पारिएको गाथा गाइरहेका हुन्‌? किन प्यालेस्टानी रफिफ जियादाहरू सेड्‌स अफ एङ्गर लेखिरहेका? किन कर्नाटकमा कलबुर्गीहरू गोली खाइरहेका?

इतिहास केलाएर बस्नेहरूको दुःखको बेलो कहॉं छ? किन बिहारका अरूणाभ सौरभहरू ‘साला बिहारी’ -ले मुख खोल्यो कि गाली खाइरहेका कथा सुनाइरहेका? किन निर्मता पुतुलहरू सङ्घीय भारतमा आदिवासीहरूको सांस्कृतिक दोहनको कविता लेखिरहेका छन्‌?  किन नेपालमा रावतहरू अर्कै राजधानीको कुरा गरिरहेका हुन्‌? किन आहुतीहरूले नेपालमै गहुँगोरो अफ्रिका भेटिरहेका हुन्‌? यो दुःखको जरा चिन्ने कविहरू के अपराधी हुन्‌?  बहिरा, लङ्‌गडो र लाटा हुन्‌?

धेरैवटा कविता पढ़ेको छु, जो फूलझै सुन्दर हुन्छन्‌। उनीहरू मिठो भाषामा बोल्छन्‌, दुःखका सुखका, मायाका, मानिसका कथाहरू सुनाउँछन्‌। तर के सुनाएको हुन्‌ यी कविले? सोध्दै जॉंदा लाग्छ, तिनी केवल कविता मात्र सुनाइरहेका हुँदारहेछन्‌। नितान्तै हल्ला गरेर सुनाइरहेका कविताको स्वर चॉंहि ठ्याम्मै नसुनिने। कविताको भाषा चॉंहि मिठो, गुदी चॉंहि काम नै नलाग्ने। मानो उसको कविता हल्ला गरिबस्ने लाटो हो। नेपालको आजको सङ्‌कट, भारतका आदिवासीहरूको सङ्‌कट, भारतीय नेपालीहरूलाई सङ्‌घीय सत्ताले किनारामा पारेका नेपालीहरूको सङ्‌कटलाई लात हानेर सुत्ने कोही माइकलाल कवि हुन सक्छन्‌?

 

°°°

शङ्‌कर लामिछानेको संवाद थियो, ‘मेरो सेन्सिटीभीटीमा ठेला पर्‍यो।’ सेन्सिटीभिटीमा ठेला परिरहेको जमातले यदि सौन्दर्यको कुरा गर्‍यो भने के हुन्छ? विचारको कुरा गर्‍यो भने के हुन्छ? कलाको कुरा गर्‍यो भने के हुन्छ? निश्चितरूपमा नै समाज दुर्घटनामा पर्छ। सामाजिक अन्तरविरोधहरू ठिम्याउन नसक्ने एन्टेना बोकेकाहरू आँखै सामु लड़िरहेका लाश देखेर रमाउँछन्‌ र लेख्छन्‌ कविता-

‘यी लाशै लाशका फूलहरूबाट आएको सङ्‌गीतमा

नाचिरहेको छु म।

आकासको त्यो छातीमा निदाइरहेको बालक

नब्युझियोस्‌, यसकारण

गोठाला बसिरहेका छन्‌

शब्दहरू।’

कोहीबेला ‘फल्स सन्सियसनेस’ एकदमै मिठोरूपमा अघि आउँछ। त्यसको मुखौटाभित्र लुकेको अनुहार कुनै बिद्रोही झैँ लाग्छन्‌। कुनै कवि झैं, सन्त झैँ, विचारक झैँ, दार्शनिक झैँ लाग्छन्‌। वास्तवमा यस्ता ‘झैँहरू’ बेहद खतरनाक हुन्छन्‌। तर उसले शङ्‌कर झै कहिल्यै घोषणा गर्दैनन्‌- ‘मेरो सेन्सिटीभीटीमा ठेला पर्‍यो।’

 

°°°

आखिर किन संवेदनशीलताले मानिसलाई भुँइमा झार्छ? अहिले म भारतको यस्तो नागरिक हुँ जसलाई स्यानो संवेदनशीलताले भ्यागुता बनाउँछ। उन्मुक्तिको निम्ति जुलुस गइरहेका मेरा आफन्तहरूको निधारमा जब सरकारी पुलिसको गोली पस्छ, अल्पसंख्यक भएकै नातामा मेरो बोली थुनिन्छ?

खासमा बोली थुनिन्छ? हामीलाई लाग्छ, बोल्नु नितान्तै असुरक्षित लगानी हो। त्यसको जोखिम कविले किन उठाउने? यहीँनेर अन्तरविरोधलाई अध्ययन गर्ने संस्कृतिमा आदिकालदेखि रहेको ‘परम्परा’ चिन्ने ठाउँ हुन्छ।

अल्वेयर कामुले भनेछन्‌, ‘मुक्ति सम्भव छ तर अगम्य रहस्यमकताको माध्यमबाट होइन तर व्यक्तिको सम्पर्कमा आएर नै हुन्छ।’ त्यो व्यक्तिको सम्पर्कमा कस्ता कविहरू आउन सक्छन्‌? यहीँनेर सायद विचारका कित्ता बॉंड़िन्छन्‌। कामुले नै भनेका छन्‌, ‘मान्छे हुनु सबैभन्दा कठिन काम हो, तर यो भन्दा पनि कठिन काम हो एकार्काबिच संवाद स्थापित गर्नु।’ समाजमा छाइरहेको मौनता (चुप्पी), असंवेदनशीलता, मूल्यहरूको विनाशको शैल्यक्रिया लाटा कविले गर्छ कि संवाद गरिरहेका कविले?

राम्रा कवि मनु मन्जिललाई सोधु म?

 

°°°

डा. बासीले कोट्याएको समस्यालाई रोगी र डाक्टरबीचमात्र राख्न मलाई मन लागेन। आँखाको स्यानो समस्या बुझ्न डा. बासीले आँखाको इतिहास सोध्छन्‌ भने समाजको समस्या बुझ्न समाजको इतिहास समाजलाई सोध्न पर्दैन? जुन समाजले  इतिहास भन्न सक्दैन, त्यो समाजले सपनाको हत्या गर्छ। हाम्रो इतियास कसले खड़ा गरेको हो? के हाम्रो पनि इतिहास छ? समाजसित संवाद गरिरहेका कुनै कवि भेटिए मलाई लाग्छ उसित यही प्रश्न छन्‌। यसैकारण उ आफैभित्रका अन्तरविरोधहरूसित लड़िरहेका छन्‌। किन? शायद केही सोचिरहेका मानिसभित्र नै प्रश्नहरू उठ्‌छन्‌। जोभित्र प्रश्न नै उठ्‌दैन उ संवादका हत्यारा हुन्‌।

हामी भारतीय नेपाली केही युवा कविहरू ‘संवाद’-को समाजशास्त्रलाई फेरि उल्टाएर हेरौँ कि भनिरहेका छौँ। किन भने हामी प्रश्न गरिरहेका छौँ, हामीले इतिहाससित गरेको संवादमा कहॉंकहॉं सत्य छुट्यो त? भारतीय नेपालीहरूको इतिहासमा संवादहीनता किन जमेर बस्यो? त्यो साहित्यमा किन छ्‌याङ्‌गै देखियो? मलाई लाग्छ, चोट नै नलागी दुख्नेहरूको इतिहासले सार्वजनिन‘दर्द-’को टुप्पो भेट्‌न सक्दैन। कवि अलग्गै कलारतिमा मात्र बसिदिने हो भने समाजसित कसले संवाद गर्ने? के भन्ने पाठकलाई? के दिने? कसरी दिने? हाम्रा दैनन्दिनीको आकासमा विज्ञापन, मल्टिकम्पनी र उत्पादन केन्द्रहरू जूनतारा भएर बस्छ।

घामपानी भएर बस्छ। जतै फर्किए पनि मलाई चाहिएको वस्तु ठीक्क मैले सोंचे झैं नै पाइन्छ। तर जुन यहॉं औपनिवेशिक हैकम छ, सत्ताको चलखेल छ, कम्पनीहरूको मनोपोली छ, त्यसले गरेको जुन सँस्कृति र मूल्यमाथिको दोहन छ, यो अन्तरविरोध, द्वन्द्वबारे कसले संवाद गर्ने? हो, बेलाबेला हर्बर्ट रिडले भनेजस्तो ‘मान्छेसित गल्ती र अपूर्णता सधैँ जोडिएको हुन्छ’ भन्ने विचलनलाई पनि स्वाकीरेर बसिदिनै सकिन्छ। तर सधैभर चुपचाप बस्ने समय हुँदैन। त्यो गल्ती र अपूर्णताको खोज नै प्रकृति हो। यो जीवित यथार्थ हो। यो गतिमान छ। यसलाई पन्साएर कोही बस्न सक्छन्‌?

°°°

यतिखेर राजनीति जो पोखरीभर जमेर बसेको हिलोपानी छ र त्यहॉंभित्र छौं हामी केही भुराभुरी माछा। जहॉं आम संवादले राजनैतिक स्वार्थले लिपिएको भित्ता चर्काउन सक्दैन। यस्तोमा जुन कविता लेखिरहेका छौं, यसले गर्ने संवाद कसको निम्ति हो त? म अहिले डा. बासीले औंल्याएको दुःखतिर फर्किएको छु। अथवा म एउटा सुखलाई सम्बोधन गर्न खोजिरहेको छु। एउटा सपनालाई पछ्‌याउन खोेजिरहेको छु। यो मेरो कुनै अपराध होइन। यस्तोमा जुन संसारभरि आआफ्नै अस्तित्वको दाबीमा आम स्वैरकल्पना छ, यसलाई घर लिप्दै बस्ने बढ़ी आमाभित्र कसरी खोतल्नु? जो कवितादेखि हज्जारवर्ष पर छन्‌।

आमा र कविताबिच हुने संवाद कसले मारिरहेको छ? फेड्रिक नित्सेले ईश्वरलाई मारेर जुन मनुष्यकृत संसार व्यवस्थाको कुरा गरे, रोला बार्थको लेखकीय सत्ता सिर्जना बाहिर पर्ने र सिर्जनादेखि टाड़ा कुनै जङ्गलमा पुगेर सिर्जनपछि आखिरमा लेखकले आत्महत्या गर्ने द्वीअर्थि इल्युजनले मेरो घॉंटी निमोठिरहेको छ। शङ्‌कर लामिछानेले जस्तो ‘म आजको समयको मान्छे होइन’ भनेर म आजकै समाजबाट कतिदिन टाड़ा बस्नुसक्छु? किन भने मैले सास फेरिरहेको हावा आजकै छ। मैले टेकिहेको भुइँ आजकै छ। मैले भोगिरहेको समस्या आज कै छ। म कुनै प्राचीन हावालाई मिथक बनाएर सास फेरिरहन सक्दिन। यतिखेर म धेरै कुरा भन्न खोजिरहेको छु,तर मेरो कुरा तपाईँसम्म पुग्दैपुग्दैन। भन्नुहोस्‌ त, कसले गर्‍यो संवादको हत्या? को हुन संवादका हत्यारा?


साभारः अन्नपूर्णपोष्ट

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया